कान्तिपुरकर्मी राई र चौधरीलगायतलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

काठमाडौँ — यस वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गणेश राई र गणेश चौधरीलगायतलाई प्रदान गरिएको छ ।

कान्तिपुरकर्मी राई र चौधरीलगायतलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

राईलाई ‘भाषागत पत्रकारिता पुरस्कार’ र चौधरीलाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि क्रमश: २० हजार र १५ हजार रुपैयाँ रहेको छ ।

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा, काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारग्राममा आयोजित काउन्सिलको ५१औं वार्षिकोत्सवका अवरसरमा उक्त पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा हुम्लामा कार्यरत अर्जुन बोहोरालाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार’ दिइएको छ । पुरस्कारको राशि १ लाख १० हजार रूपैयाँ रहेको छ ।

जनही २० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ सातजनाले पाएका छन् । जसमा ऋषि धमला (धादिङ), नितु पण्डित (काठमाडौं), गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौं), धर्मेन्द्र कर्ण (धनुषा), उमेश श्रेष्ठ (काठमाडौं) र दीपेन्द्र श्रेष्ठ (कास्की) छन् । २० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक नवराज रिजाललाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट १४ जना पत्रकारलाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौं), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विश्कर्मा (सिरहा), कमला श्रेष्ठ (काठमाडौं), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (कास्की) र शान्ता कमली (लमजुङ) छन् । पुरस्कारको राशि जनही १५ रुपैयाँ रहेको छ ।

यसअघि मंगलबार बिहान शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार शम्भु श्रेष्ठलाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरेकी थिइन् । पुरस्कारको राशि १ लाख ५१ हजार रुपैयाँ रहेको छ । सोही समारोहमा ५० हजार रुपैयाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार डिजिटल पत्रिका सेतोपाटीलाई प्रदान गरिएको थियो ।

प्रकाशित : आश्विन ६, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?