कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘छियाछिया परेको घर देखेर रुन मात्रै आउँछ’

प्रकाश बराल

बागलुङ — ‘मेरो घर माथिल्लो, स्वास्थ्यचौकी तल्लो घर हो । सामान्य बिरामी भए पनि हामीलाई औषधि किन्न, बिरामी भए तत्काल जँचाउन सजिलो थियो । तर पहिरोले न मेरो घर बाँकी छ, न त स्वास्थ्य चौकी ।’ ढोरपाटन नगरपालिका वडा नम्बर ९ की ५१ वर्षीया दिलमाया घर्तीले भदौ १७ गतेको बाढीपहिरोको कहर सम्झिँदै भनिन्, ‘बाढीले छियाछिया परेको घर देखेर रुन मात्रै आउँछ, अब कसरी बनाउने भन्ने पीरले सताएको छ ।’

‘छियाछिया परेको घर देखेर रुन मात्रै आउँछ’

आफ्नो घरको भग्नावशेष र सिंगो बस्ती उजाड बनेको देखेर उनी बेला–बेला भक्कानिन्छिन् । ‘सिंगो बस्ती उजाड भयो, यहीँ बनाउन सकिँदैन, कता गएर बनाउने ?,’ उनले भनिन् ।

भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोले ढोरपाटन नगरपालिका वडा नम्बर–९ लाँकुरीबोटका १७ घर बगाएको थियो । पहिरोले भत्काएका १ सय २६ घरमध्ये लाँकुरीबोट सबैभन्दा तल्लो गाउँ हो ।

सबैको हारगुहार र तत्काल फोन गरेर सूचना दिइएकाले खोलाको बहाव सानो छँदै यहाँका अधिकांश मानिस भाग्न सफल भए । रातको ११ बजेको बाढी थाहा पाएर धेरैजसो वडा नं. ९ को कार्यालयतर्फ दगुरे । कतिपय पाखो खोज्दै गए ।

‘पानी बेस्सरी परिरहेको थियो । जस्तापाता र ढुंगाको छानामा सुनिने आवाजले पहिरो र खोलाको आवाज पनि उस्तै लाग्यो,’ दिलमायाले भनिन्, ‘सबैले खबर गरिदिएकोले बाँचियो ।’ उनका श्रीमान, २ छोरा र २ छोरी पहिरो आउँदाआउँदै भागेका थिए । माथिल्लो दुवाल भन्ने बस्तीमा सबैभन्दा धेरै मानवीय क्षति भयो । लाँकुरीबोटमा भने ३ जनाले ज्यान गुमाए ।

बाढीले अस्थायी स्वास्थ्य चौकीमा रहेको औषधि पनि बगाएको इन्चार्ज दिपक थापाले बताए । पुरानो खोप केन्द्रसहित यहाँको वडा नं. ८ र ९ का लागि घर भाडामा लिएर अस्थायी स्वास्थ्य चौकी सञ्चालन गरिएको थियो ।

लाँकुरीबोटमा आफन्तकोमा पाहुना आएका एक जना बाढीपहिरोमा परी बेपत्ता भएका छन् । गलकोट नगरपालिकाबाट ढोरपाटन घुम्न निस्केका चार युवा यहाँ बास बसेका थिए । पहिरो खस्न थालेपछि उनीहरु भागेका थिए । २६ वर्षीय नवीन भण्डारी आफूसँगै मोटरसाइकल पनि बचाउने ध्याउन्नमा थिए । मोटरसाइकल सँगै उनलाई बाढीले बगायो । ‘पाहुना आएका पनि बगे भन्ने खबरले हामीलाई पनि नरमाइलो लाग्यो,’ दिलमायाले भनिन् ‘उनी अझै भेटिएका छैनन् ।’ लाँकुरीबोटका ५५ वर्षीया कौशीला पुन र २६ वर्षीय बिलास पुन पनि बेपत्ता छन् ।

लाँकुरीबोटकै १७ वर्षीया तारा विकका ३ बहिनी एउटै कोठामा सुतेका थिए । बोलाएको नसुनेपछि बाबु मेहरसिंह विकले ढोका फोरेर छोरीहरु बचाए । निद्रामा उठेर भाग्दा सुत्दा लगाएका कपडा मात्रै थिए । उज्यालो भएपछि छिमेकीले दिएका कपडा लगाएर उनीहरु बसेका छन् । घर ध्वस्त भएको थाहा पाएपछि उनीहरु मावलीमा बस्दै आएका छन् । मेहरसिंहका ८ जनाको परिवार छ । ‘अस्थायी बसोबास छ, अब कसरी घर बनाउने ?’ मेहरसिंहले भने, ‘सुरक्षित घडेरीका लागि पनि जग्गा किन्नुपर्ने बाध्यता छ ।’ पहिरो गएको १२औं दिनमा मात्रै नगरपालिकाबाट दुई बोरा चामल पाएको उनले गुनासो गरे ।

घटनाको ११ दिनपछि वडा नं. ९ को कार्यालयसम्म पुग्ने ट्रयाक खोलिएको छ । शुक्रबारसम्म दुवाल गाउँमा ट्रयाक्टर चल्ने ट्रयाक खुलेको छ । अझै ७ किलोमिटरभन्दा धेरै सडकको ट्रयाक खोल्न बाँकी छ । जिप र अन्य सवारी साधन चल्ने बनाउन दशैंतिहारअघि सम्भव नभएको नगरप्रमुख देबकुमार नेपालीले बताए । ‘सालझण्डी–ढोरपाटन सडक आयोजनाका दुई वटा र नगरपालिकाको एउटा डोजर लगाएर काम थालेका छौं’ उनले भने, ‘पहिलो काम बस्तीसम्म खाद्यान्न लैजान सकिने गरी ट्रयाक खोल्ने, त्यसपछि मात्रै अन्य व्यवस्थापन गर्ने हो ।’

प्रकाशित : आश्विन ६, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?