झरनाले बढायो पर्यटकीय गतिविधि

नगेन्द्र अधिकारी

काभ्रे — रोशी–१ का मनोज बराइली धुलिखेलस्थित सञ्जीवनी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्दै थिए । कोरोना संक्रमणको जोखिम रोकथामका लागि सरकारले लकडाउन गरेपछि पठनपाठन बन्द हुँदा उनी घर फर्किए । पछिल्लो समय घर नजिकैको तीनधारे झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेपछि उनी घर बसाइ सदुपयोग गरिरहेका छन् । ग्यास–चुल्हो, केही भाडाहरु जम्मा गरेर काफल डाँडामा खाजा पसल चलाइरहेका छन् ।

झरनाले बढायो पर्यटकीय गतिविधि

मम, चाउचाउ, पानीपुरीलगायतका खानेकुरा पाउने पसलमा उनी दैनिक ५ हजारसम्मको व्यापार गर्छन् । ‘झरना हेर्न आउनेको घुइँचो लाग्यो, फुर्सदको समय र आफ्नो सिप प्रयोग गरेर खाजा पसल चलाएको हुँ,’ बराइली भन्छन्, ‘समयको सदुपयोग पनि हुने, आम्दानी पनि हुने भएपछि पसल खोलेको हुँ ।’

डकर्मी काम गर्दै आएका पूर्णसिं बलले पनि खाजा पसल सञ्चालन गर्न टहरा निर्माण गरिरहेका छन् । ‘पहिला कठमाडौंमा होटल नै चलाएको थिए, घर आएर बस्न थालेपछि डकर्मी काम गर्थें,’ टहरा बनाउँदै गरेको भेटिएका उनले भने, ‘गाउँमा पर्यटकहरु आउन थालेपछि सम्भावना देखेर खाजा पसल चलाउन लागेको हुँ ।’ उनका अनुसार दैनिक एक हजारदेखि १५ सय वटा बाइक र केही साना सवारीसाधन रिजर्भ गरेर झरना हेर्न मानिसहरु झरना पुग्छन् ।

तीनधारे झरना जाने बाटोमा मकै पोलेर बेच्दै स्थानीय । तस्बिर : नगेन्द्र अधिकारी / कान्तिपुर

काठमाडौं उपत्यकाबाट करिब ६० किलोमिटरको दूरीमा रहेको झरनामा पुग्नेको घुइँचो लागेपछि स्थानीय उत्पादन मकै, काँक्रो, तरकारी, फलफूल बिक्री हुन थालेको छ । यसअघि डोकोमा बोकेर नारायणटार, फलामेसाँघुलगायतका बजारमा लैजानुपर्ने नास्पाती प्रतिदाना ५ रुपैयाँमा बिक्री भएको काफल डाँडाकी सानु मगरले बताइन् । झरना जाने बाटोमा त्रिपाल राखेर मकै पोल्ने, काँक्रो, मही बेच्ने प्रशस्तै छन् । स्थानीय उत्पादनले राम्रो आम्दानी पाएकोमा उनीहरु खुसी छन् ।

रोशी गाउँपालिका–२ काफलडाँडास्थित तीनधारे झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : नगेन्द्र अधिकारी / कान्तिपुर

पर्यटकहरु काफल डाँडामा बास बस्नसमेत थालेपछि स्थानीयहरुले होमस्टे सञ्चालनको तयारी गरिरहेका छन् । रोशी गाउँपालिकाले पनि होमस्टे सञ्चालनमा जोड दिँदै स्थानीयलाई तालिम र अनुदान दिने तयारी गरेको छ । ‘सो क्षेत्रको पर्यटन विकासको लागि विभिन्न योजना ल्याएका छौं,’ गाउँपालिका अध्यक्ष दलबहादुर (डिबी) लामाले भने, ‘होमस्टे सञ्चालनको लागि तालिम, सञ्चालकलाई अनुदान र पूर्वाधार विकासको लागि कार्यक्रम सञ्चालन गर्छौं ।’ उनले झरना भएको स्थानसम्म पुग्ने मोटरबाटोको स्तरोन्ती गर्नुपर्ने भन्दै प्रदेश र संघ सरकारसँग समन्वय गर्ने बताए । ट्रयाक मात्र खुलेको कच्ची बाटो वर्षासँगै हिलाम्मे हुने गरेको छ । झरनासम्म पुग्ने भीरमा रेलिङ हाल्ने लगायतको तयारी रहेको लामाले बताए ।

तीनधारे झरना जाने पर्यटकलाई लक्षित गरी खुलेका नाङलो पसल । तस्बिर : नगेन्द्र अधिकारी / कान्तिपुर

सामाजिक सञ्जालमा भाइरल भएको देखेर तीनधारे झरना हेर्न पाटनढोकाबाट १० जना साथीहरुसहित आएका प्रेम सुनुवारले बाटोको अवस्था सुधार हुने हो भने अझै पर्यटक भित्राउन सकिने बताए । ‘पानी पर्ने बित्तिकै हिलो हुने रहेछ, बाटोको कारण दुख पाइयो तर झरना पुगेपछि सबै दुख बिर्सिइने रहेछ,’ सुनुवारले भने, ‘बाटोको अवस्था सुधार गर्ने हो भने अझै मान्छे आउन सक्छन् ।’

जिल्ला सदरमुकाम धुलिखेलबाट काभ्रेभञ्ज्याङ, दाप्चा हुँदै फलामे साँघु झरेर काफल डाँडा पुग्न सकिन्छ । वडा अध्यक्ष पोते लामा तीनवटा धारा जसरी झरेको कारण तीनधारे झरना नामाकरण भएको तर्क गर्छन् । झरना र आसपासको क्षेत्रको पर्यटकीय विकासको लागि आफूहरुले काम गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?