१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलात्कारी जोगाउन वडाध्यक्षकै पञ्‍चायती

बारा, सप्तरी — बारामा जनप्रतिनिधिले नै पञ्चायती गरेर बलात्कारको घटनालाई लुकाउने प्रयास गरेको खुलेको छ । सुवर्ण गाउँपालिका–५ औरैया गाउँमा गत बिहीबार १२ वर्षीया बालिकामाथि बलात्कारको घटना भयो । एक युवकमाथि आरोपित थिए । घटना लुकाउन त्यहाँका वडाध्यक्ष रामएकवाल साह कलवारसहितको टिम लागिपरे ।

बस्तीभन्दा पर रहेको गोठमा बसेका परिवारका सदस्यलाई बेलुकीको खाना खुवाएर फर्किंदै गर्दा ती बालिकालाई युवकले बलात्कार गरेको बालिकाले प्रहरीसमक्ष बयान नै दिएकी छन् । घटनाको तेस्रो दिन गत शनिबार वडाध्यक्ष कलवारले पञ्चायती गरेर ढाकछोप गर्न खोज्दा विवाद चुलियो । युवाको समूहले ५० वर्षीय वडाध्यक्ष कलवारमाथि पञ्चायतीमै हातपात गरे । वडाध्यक्ष कलवार त्यहाँबाट भाग्नु पर्‍यो । बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

वडाध्यक्ष कलवारले पनि आफूलाई दुर्व्यवहार गरेको भन्दै गाउँका केही युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दिएका छन् । ‘वडाध्यक्षबाट आएको जाहेरी दर्ता गर्ने/नगर्ने विषयमा छलफलसँगै घटनाको तथ्य केलाउँदै छौं,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले भने ।

गाउँमा यतिबेलाको विवाद पीडित बालिकालाई न्याय दिलाउनुको साटो पञ्चायती बिथोलेको भन्नेमा छ । पीडित बालिकाका अभिभावकले वडाध्यक्षसँग पीडितविरुद्ध प्रहरीमा उजुरी गरेर कानुनी प्रक्रिया अघि बढाइदिन मद्दत माग्न गएका थिए । उनीहरूले गम्भीर घटनाका लागि पञ्चायती गर्नु अनुचित भएको बताएका थिए । वडाध्यक्षले पीडिकलाई जोगाउन घटना दबाउने प्रयास गरेपछि पञ्चायतीमै दुई पक्षबीच विवादसँगै झडप भएको गाउँले बताउँछन् ।

स्थानीय विनोदप्रसाद यादवका अनुसार वडाध्यक्ष कलवारले शुक्रबार रातिसम्म बलात्कार पीडितलाई १ लाख ५० हजार पीडकबाट दिलाएर घटना मिलाउने प्रयास गरेको आरोप लगाए । ‘छोरी बलात्कृत भइन् तर वडाध्यक्षले चार दिनसम्म हामीलाई अल्मल्याए,’ बालिकाका बाबुले भने, ‘वडाध्यक्षले नै न्याय देला भनेर आशा गरेका थियौं ।’ वडाध्यक्ष कलवारले भने आफूसित कारबाही गर्न सिफारिस माग्दा नदिएपछि गाउँका युवकहरूले कुटपिट गरेको दाबी गरे । ‘उनीहरूले यो दिनुस, त्यो दिनुस् भन्छन्, नदिएपछि बलात्कारको घटनाको निहुँ बनाएर कुटपिट गरे,’ उनले भने, ‘मैले मिलाउन खोजेकै होइन ।’ पीडितकै न्यायका लागि छलफल गर्न समय मागेको र उनीहरूले समय नदिएर कुटपिट गरेको उनको भनाइ छ । बलात्कारको घटना भएको खबर आएपछि आफूले नै प्रहरीमा खबर गर्न भनेको दाबी उनको छ । ‘पीडितले प्रहरीलाई खबर गर्न मानेका थिएनन्,’ उनले भने, ‘सामाजिक प्रतिष्ठामा आँच आउँछ भनेर पञ्चायती गरिदिनुस् भनेर मकहाँ आएका थिए ।’

वृद्धा कुटिँदा पनि मिल्न दबाब

सप्तरीको तिरहुत गाउँपालिका–५ बुधेवाकी ७० वर्षीया शान्तिदेवी सेठलाई साउनको अन्तिम साता छिमेकमा बस्ने बाबुछोरा मिलेर कुटपिट गरे । छोराबुहारी राजविराज बसिरहेकाले गाउँको घरमा एक्लै बस्दै आएकी सेठले छिमेकीबाटै कुटिएपछि प्रहरी कार्यालयमा उजुरी दिइन् । आरोपितलाई प्रहरीले पक्राउ गरेको छैन । सेठलाई गाउँकै लोहजरास्थित प्रहरी चौकीमा गएर पञ्चायती गर्न प्रहरीले नै दबाब दिइरहेको छ । ‘कुटपिट गर्नेहरू गाउँका शक्तिशाली छन् । पञ्चायतीबाट न्याय पाउन सक्दिनँ भनेर नै प्रहरीमा उजुरी दिएँ । तर, पञ्चायती गर्न गाउँ जाऊ भनेर प्रहरीले नै दबाब दिइरहेका छन्,’ पीडित सेठले भनिन् ।

हुलाकी राजमार्गअन्तर्गत नक्साविपरीत काम भएर आफ्नो जग्गा मिचिएको भन्दै बोदेबरसाइन नगरपालिका–९ का नरेन्द्रनारायण साहुले उच्च अदालत राजविराजमा परमादेश माग्दै निवेदन दिए । अदालतले उनको पक्षमा परमादेश निषेधाज्ञा जारी गर्‍यो । उच्चको आदेश लिएर उनी निर्माणस्थलमा जाँदा कुटिए । घटनाको तीन महिनायता उनी प्रहरी कार्यालयमा कुटपिट गर्नेमाथि कारबाही गरियोस् भन्दै धाइरहेका छन् । ‘प्रहरीले पञ्चायतीमाथि पञ्चायती गरिरहेको छ,’ उनले भने, ‘म कानुनी कारबाही माग्छु प्रहरीले पञ्चायती गर भन्छ ।’ यही मामिलामा मंगलबार फेरि पञ्चायती बोलाइएको छ ।

पीडितलाई पञ्चायतीका नाममा गलाउने दुष्प्रयास गर्न नहुने अधिकारकर्मी अनिता देवकोटाले बताइन् । उनले भनिन्, ‘पञ्चायती समाजले सामान्य विाद मिलाउन र गाउँले जुटेर काम गर्ने प्रयोजनका लागि हुनुपर्छ । तर गम्भीर प्रकृतिका मुद्दामा पनि पञ्चायती गर्न चर्को दबाब दिइएका उदाहरण छन् ।’

प्रकाशित : आश्विन ६, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?