नेतृत्वको नियत अधिवेशन गराउने छैन : पौडेल

महाधिवेशनबारे छलफल गर्न १९ गते बोलाइयो केन्द्रीय समिति 
समयभित्र महाधिवेशन गराउन नसक्ने अवस्थामा संवैधानिक संकटबाट पार्टीलाई जोगाउन पौडेलले विशेष महाधिवेशनको विकल्पसमेत अघि सारेका छन् । 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले महाअधिवेशन नगराई पार्टीलाई संकटतिर धकेल्ने खोजेको आरोप लगाएका छन् । 

नेतृत्वको नियत अधिवेशन गराउने छैन : पौडेल

संवैधानिक संकट निम्ताएर पार्टीलाई दुर्घटनामा जान नदिनका लागि विशेष महधिवेशनको विकल्पसमेत उनले अघि सारेका छन् ।

पार्टीको पुराना संरचनाको समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यमा उत्पन्न अन्यौलपूर्ण स्थितिको कारण देखाउँदै पौडेलले तोकिएकै मितिमा महाधिवेशन नगराउने नियत नेतृत्वमा देखिएको बताएका हुन् ।

‘अब बाँकी रहेको पाँच महिनाको सिंगै अवधिलाई सदुपयोग गरी समयमै महाधिवेशन सम्पन्न गरौं भन्ने हो, त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भन्ने मेरो भनाई हो,’ पौडेलले सोमबार सामाजिक सञ्जालमार्फत् आफ्नो दृष्टिकोण राखेका छन ।

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी फागुन ७–१० गते काठमाडौमा हुने तय भएको छ । कोभिड–१९ संक्रमणका कारण क्रियाशील सदस्यता वितरण, नवीकरण र पार्टीको समायोजनको काम रोकिएपछि महाधिवेशनको तालिका प्रभावित हुने देखिएको छ ।

फागुनको तालिका प्रभावित हुँदा अर्को ६ महिनाभित्र पनि महाधिवेशन नगराउने चलखेल बढेको पौडेलको आशंका छ । फागुनमा महाधिवेशन हुन नसके संविधान अनुसार थप ६ महिनाको समय थप्न सकिन्छ । त्यसभित्र पनि महाधिवेशन नभए संवैधानिक संकट निम्तिने र त्यतिबेला वर्तमान कार्यसमितिलाई निरन्तरता दिनका लागि निर्वाचन आयोगमा पठाउने चाल संस्थापनबाट हुनसक्ने आशंका पौडेलले गर्दै आएका छन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशन नै गर्न नसक्ने स्थिति उत्पन्न नभएको बताए । ‘फागुनमै महाधिवशन गर्न चूनौती छ । एक/दुई महिना सार्नुपर्ने अवस्था आउन सक्छ, तर जे गर्नुछ सहमतिबाटै गर्छौंर्,’ महतले कान्तिपुरसँग भने, ‘पौडेल दाईले भनिरहनु भएकोजस्तो परिस्थिति अहिले खडा भएको छैन ।’

देउवाले महाधिवेशनकै बिषयमा छलफल गराउन असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । महाधिवेशनको बिषयमा विभिन्न आशंका बढ्दै जान थालेपछि केही दिनअघि उनले संवैधानिक संकट आउन नदिने गरी महाधिवेशन समयभित्रै गर्ने बताएका थिए ।

देउवाले फेरि गरे मनोनयन

तीव्र विरोधका बीच पार्टी सभापति देउवाले विभागहरुमा मनोनयनलाई जारी राखेका छन् । सोमबार उनले गोविन्द भट्टराई प्रमुख रहेको जनसर्म्पक समिति समन्वय विभागमा थप ३४ जना सदस्य मनोनयन गरेका छन् । देउवाले यसअघि १९ वटा विभागमा ९ सय बढीलाई मनोनयन गरिसकेका छन् । देउवा निकट स्रोतका अनुसार उनी अझै ९ वटा विभाग गठनको तयारीमा छन् । जसमा ३ वटा विभाग तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार समूहलाई दिने बताइएको छ ।

यता पौडेल पक्षले भने केन्द्रीय विभाग गठनको खारेजीको मुद्दा उठाउँदै क्रियाशील सदस्य वितरण र नवीकरणमा पारदर्शी हुन माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने तयारी गरेको छ ।

प्रकाशित : आश्विन ५, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?