कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ६ घाइते

घनश्याम गौतम

रूपन्देही — कार्यकर्ता कुटपिटको विषयलाई लिएर विवाद हुँदा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुवै पक्षका गरि ६ जना घाइते भएका छन् ।

गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ६ घाइते

आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको थियो । प्रदर्शनकै क्रममा प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोक्‍न खोज्दा झडप भएको हो ।

प्रहरी संयमित रहेपनि प्रदर्शनकारीले प्रहरीकै सुरक्षा सामग्री खोस्ने प्रयास गर्ने र हुलहुज्जत गर्न थालेपछि रोक्ने प्रयास गर्दा सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताए ।

झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी घाइते भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले बताए । प्रहरीतर्फ प्रहरी निरीक्षक राजकुमार रावलसहित चार प्रहरी जवान घाइते भएको डीएसपी पन्तले बताए । सामान्य घाइते सबैको जिल्ला अस्पताल गुल्मीमै उपचार भइरहेको छ ।

सभापति श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नलाई उन्मुक्ति दिइरहेको आरोप लगाए । उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गर्ने बताए ।

रेसुंगा नगरपालिका–१२ को रानीपोखरी निमाविको विषयलाई लिएर कांग्रेसले प्रदर्शन गरेको थियो । रानीपोखरी निमाविको भवन कसले निर्माण गर्ने भन्ने विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीचमा विवाद बढ्दै गएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत निर्माण भइरहेको भवनको विषयमा केही दिन अघि नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसको आरोप छ । कुटपिटपछि दुवै पक्षले कारबाहीको माग गर्दै आएका छन् ।

प्रकाशित : आश्विन ५, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?