कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पढाइ हुने

गणेश राई

काठमाडौँ — वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि बजेट छुट्याएका छन् ।

कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न नसकेको ती पालिकाहरुले जनाएका छन् । भाषा आयोगले गरेको अध्ययनको आधार र नेपाल तामाङ घेदुङको अनुरोधमा पालिकाले बजेटको व्यवस्था गरेका हुन् ।

काभ्रेको चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम स्थानीय भाषाअन्तर्गत मातृभाषा पढाउनु तीन आर्थिक वर्षदेखि बजेट छुटाउँदै आएका बताए । जनप्रतिनिधिमा चुनिएर आएलगत्तै तामाङ भाषा पठनपाठनका निम्ति बजेट पहल गरेको तर विज्ञ र सरोकार राख्ने समाजले चासो नदिएकाले कार्यान्वयन हुन नसकेको उनले बताए ।

‘मेरो क्षेत्रमा तामाङ जातिको बाहुल्य छ र उनीहरू छोरोछोरीमात्र पढ्ने माध्यमिक विद्यालय छ,’ यो वर्षबाट मातृभाषा पठनपाठनका निम्ति तामाङ घेदुङसँग सम्झौता गरेको उल्लेख गर्दै अध्यक्ष गौतमले भने, ‘घेदुङले पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने जिम्मा लिएको छ । कोरोना भाइरसले गर्दा ढिलो भइरहेको छ । पाठ्यपुस्तक पायौं भने यो वर्ष दुई–चार वटा विद्यालयमा लागू गर्ने योजना छ ।’

घेदुङका महासचिव बाबु घिसिङका अनुसार मातृभाषा पठनपाठनका निम्ति पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तकको डमी तयार रहेको छ । ‘घेदुङले वाग्मती प्रदेशको १३ वटै जिल्लाका ३२ वटा पालिकासँग तामाङ मातृभाषा पठनपाठनका निम्ति सम्झौता गरेको छ,’ उनले भने, ‘कोभिड–१९ गर्दा कार्यक्रम अघि बढ्न ढिलाइ भइरहेको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण टोलीले डमी तयारी गरिसकेको छ ।’

तामाङ भाषाको चारवटा भाषिका (क्लस्टर) छुट्याएर त्यसैअनुसार पाठ्यपुस्तक निर्माण गरिएको उनले बताए । त्रिशूलीपारि रसुवा, नुवाकोट र धादिङ क्लस्टर, त्रिशूलीवारि नुवाकोट, काठमाडौं, काभ्रे, सिन्धपाल्चोक क्लस्टर, काभ्रेको तेलाम तथा ललितपुर, सिन्धुपाल्चोक क्लस्टर र पूर्वी क्लस्टरअन्तर्गत मकवानपुर, दोलखा, रामेछाप लगायत जिल्ला रहेका छन् ।

तामाङ भाषा लेखनमा देवनागरी र तामयिग लिपिमा प्रयोग गरिँदै आएको छ । यसअघि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ५ सम्म तामाङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक देवनागरी लिपिका माध्यमबाट पठनपाठन गरिँदै आएको थियो । घेदुङले यो पटकबाट तामयिग लिपिको माध्यमबाट पाठ्यपुस्तक निर्माण तयार गरेको छ ।

वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले निर्माण गरेको ‘शिक्षा नीति, २०७७’ मस्यौदामा ९.५ मा ‘शिक्षण सिकाइमा विद्यार्थीको मातृभाषा तथा लिपिको प्रयोग गर्ने’ उल्लेख छ ।

तथ्यांकअनुसार देशभरिमा तामाङ जातिको जनसंख्या १५ लाख ४० हजारभन्दा बढी छ । तामाङ जातिको कूल जनसंख्याको ७४ दशमलव ८ प्रतिशत वाग्मती प्रदेशमा बसोबास रहेको छ । यो संख्या १० लाख १२ हजार ९ सय हो ।

प्रकाशित : आश्विन ५, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?