डा. केसीको उपचार गर्ने वातावरण बनाउन चिकित्सकको सुझाव

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको चिकित्सकले बताएका छन् । उनलाई तत्काल सहज उपचारको वातावरण बनाउनुपर्ने उनीहरूको सुझाव छ । 

डा. केसीको उपचार गर्ने वातावरण बनाउन चिकित्सकको सुझाव

प्रतिष्ठानको चिकित्सक टोलीले बुलेटिन जारी गरी केसीको स्वास्थ्य गम्भीर बन्दै गएको र उनले कुनै पनि जाँच गराउन अस्वीकार गरिरहेकाले उपचारका लागि सहज हुने स्थानमा लैजान राम्रो हुने सुझाव दिएको हो ।

चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी चन्दननाथ–६ रानीचौरस्थित बाबिरामष्टको मन्दिरमा अनशन बसेका केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती अस्पताल पुर्‍याएको थियो । माग सम्बोधन गर्नुको साटो अपहरण शैलीमा अस्पताल ल्याइएको भन्दै उनले अनशनको आठौं दिन पनि कुनै उपचार लिन मानेका छैनन् ।

शनिबारसम्म दिनको तीनपटक स्वास्थ्य जाँच गरिरहेकोमा अस्पताल ल्याएपछि उनले कुनै पनि जाँच गराउन नमानेको प्रतिष्ठानका डा. प्रवीण गिरीले बताए । ‘प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न सकिएको छैन,’ उनले भने, ‘रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने अवस्था छ । रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि बढेर गएको छ ।’ त्यसैले यथाशीघ्र उपचारका लागि सहज हुने स्थानमा लैजानुपर्ने उनले बताए ।

प्रतिष्ठानले डा. केसीको उपचारमा गिरीसहित डा. धीरज गुरुङ, डा. अनुपमंगल समाल र सविना थापालाई खटाएको छ ।

प्रकाशित : आश्विन ५, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?