१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

६ महिनापछि सुरु भयो आन्तरिक उडान

लालप्रसाद शर्मा

काठमाडौँ — लकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । नेपाल सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको हो  ।

६ महिनापछि सुरु भयो आन्तरिक उडान

काठमाडौंबाट उडेको बुद्ध एयरको यु ४ ६०३ जहाज पहिलोपटक सोमबार बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । ५ जना बालबालिकासहित ५६ यात्रु लिएर जहाज आएको थियो । यो कुल सिटको ८० प्रतिशत हो । जहाजमा वायुसेवा सञ्चालक संघका पदाधिकारी पनि पोखरा आएका थिए । उक्त जहाजले पोखराबाट ५७ यात्रु बोकेर काठमाडौं गएको थियो ।

संघका अध्यक्ष रामेश्वर थापाले कोरोना संक्रमणलाई विशेष ध्यान दिई सुरक्षाका आवश्यक सबै उपाय अपनाएर सोमबारदेखि उडान थालिएको बताए । पोखरा आएको पहिलो उडानका यात्रीले सुरक्षादेखि आवश्यक संयमता र धैर्यता बटुलेको उनको भनाई थियो । उनले पहाडी र हिमाली जिल्लाका विमानस्थलमा पनि छिट्टै उडान गर्ने बताए । पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले सोमबार काठमाडौं–पोखरा–काठमाडौं ४ उडान तालिका रहेकोमा यति एयरलाइन्सको एउटा उडान रद्ध भएको बताए । बुद्धका २ र यतिको एक गरी ३ उडानमात्रै हुने उनले बताए ।

सोमबार ५० वटा उडानलाई अनुमति

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पनि स्वास्थ्य सावधानी र चेकिङको व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको कोरोनासम्बन्धी बनाएको प्रोटोकल पालना गर्ने गरी सोमबारदेखि सेवा सञ्चा‍लन सुरु भएको बताए ।

वायुसेवा कम्पनीहरुले नियमित सेवा सञ्चा‍लन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए । विमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ भएको स्वयं घोषणा पत्र भर्नु पर्नेछ । नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ ।

विमानस्थल सेवा सञ्चालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ । सोमबार देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ ।

प्रकाशित : आश्विन ५, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?