१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दुई महिनामा सात सुत्केरीको मृत्यु

कोरोना महामारीका कारण नियमित स्वास्थ्य परीक्षण र गर्भजाँचबाट वञ्चित हुनुका साथै अस्पताल ल्याउन ढिलाइ हुँदा ज्यान गुमाउने धेरै
ठाकुरसिंह थारु

नेपालगन्ज — पछिल्लो दुई महिनामा बाँकेमा सात जना सुत्केरीको मृत्यु भएको छ । कोरोना महामारीका कारण नियमित स्वास्थ्य परीक्षण र गर्भजाँचबाट वञ्चित हुनुका साथै अस्पताल ल्याउन ढिलाइ हुँदा उनीहरूको मृत्यु भएको हो ।

दुई महिनामा सात सुत्केरीको मृत्यु

जानकी गाउँपालिकामा मात्र तीन जना सुत्केरीको मृत्यु भएको छ । तीमध्ये दुई जना भेरी अस्पताल र एक जना नेपालगन्ज शिक्षण अस्पतालमा सुत्केरी भएका थिए । नेपालगन्ज उपमहानगरपालिकाकी एक जनाको भेरी र अर्की एक जनाको घरमै सुत्केरी हुँदा मृत्यु भएको छ । डुडुवा गाउँपालिकाकी एक सुत्केरीको भेरीमा र बैजनाथ गाउँपालिकाकी एक सुत्केरीको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई महिनामा यति धेरै सुत्केरीको मृत्यु हुनु असामान्य अवस्था भएको स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले बताए । गत आर्थिक वर्षमा जिल्लामा १२ जना सुत्केरीको मृत्यु भएको थियो । कोरोना महामारीमा स्वास्थ्य सेवा प्रभावित भएका कारण गर्भवतीसमेत स्वास्थ्य जाँचबाट वञ्चित हुन पुगेको उनले बताए । लकडाउन र निषेधाज्ञाका कारण समयमै अस्पताल पुग्न नसक्दा पनि मृतक सुत्केरीको संख्या धेरै हुन पुगेको उनको ठम्याइ छ । ‘कोरोनाको त्रासले अस्पताल आउन ढिलाइ भएको हुन सक्छ । केहीले त घरमै सुत्केरी हुन खोज्नु भएको देखियो,’ उनले भने ।

उनका अनुसार कोरोना महामारीका कारण घरमै सुत्केरी हुनेको संख्या २० प्रतिशतले बढेको छ । स्वास्थ्य केन्द्रमा कोरोना लाग्न सक्ने भन्दै सर्वसाधारण अन्तिम अवस्थामा मात्रै सेवा लिन अस्पताल पुग्ने गरेका हुन् । ‘गत वर्षको भन्दा चालु वर्षमा घरमै सुत्केरी हुनेको संख्या बढेको देखिन्छ,’ उनले भने ।

सरकारले मातृ तथा शिशु मृत्युदर घटाउन बाँकेमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, त्यस्ता घटना बढ्दै गएपछि अनुसन्धान आवश्यक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सरकारले नियमित र पूर्ण गर्भजाँच गराउने महिलालाई ८ सय र सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई एक हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । तर, अझै पनि घरमै सुत्केरी हुने र ज्यान जोखिममा परेपछि मात्रै अस्पताल आउने क्रम कायमै रहँदा मृत्युदर घट्न नसकेको हो ।

चिकित्सकका अनुसार गर्भवती भएको पहिलोपल्ट ४ महिनामा र त्यसपछि ६, ८ र ९ महिनामा गरी चार पटक गर्भजाँच गराउँदा सुत्केरी हुने क्रममा खतरा कम हुन्छ । भेरी अस्पताल नेपालगन्जकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले अन्तिम अवस्थामा अस्पताल आएका कारण धेरै सुत्केरीको ज्यान गएको बताइन् । ‘यति बेला कोरोनाको त्रास छ । त्यसैले अस्पताल आउनेहरूको संख्या निकै घटेको छ । अन्तिम अवस्थामा आएपछि हाम्रो केही सीप चल्दैन,’ उनले भनिन्, ‘समयमै गर्भवती जाँच गराउने र समयमै अस्पताल आउने हो भने सुत्केरीको ज्यान जोगिन्छ ।’

स्वास्थ्य कार्यालयका अनुसार पहिलो वा दोस्रो पटक गर्भजाँच गराएपछि धेरै महिलाले बीचमै छाड्ने गरेको पाइएको छ । घरायसी काम, बेफुर्सदी, परिवारको लापरबाहीका कारण गर्भवती महिला पूर्ण परीक्षणबाट वञ्चित हुने गरेको श्रेष्ठले बताइन् । जिल्लामा तीन प्राथमिक स्वास्थ्य केन्द्र र ४४ स्वास्थ्य चौकी छन् । स्वास्थ्य चौकीहरूमा प्रसूति केन्द्र बनाइएका छन् । स्वास्थ्य केन्द्रको सम्पर्कमा रहेका गर्भवती महिलालाई समयमै सुत्केरी गराउन अस्पताल पठाउन निर्देशन दिइएको छ । तर, कतिपय स्वास्थ्य चौकीबाट जटिल प्रकृतिका गर्भवतीलाई समयमै अस्पताल पठाइँदैन ।

‘हामीकहाँ अन्तिम समयमा एकदमै जटिल अवस्थाको केस आउँदा समस्या हुन्छ । त्यसैले सुत्केरीलाई समयमै अस्पताल पठाउन आवश्यक छ,’ श्रेष्ठको सुझाव छ । स्वास्थ्य कार्यालयअन्तर्गत आमा सुरक्षा कार्यक्रमकी स्रोत व्यक्ति नर्स विष्णु श्रेष्ठले पनि अस्पताल आउन ढिलाइ भएकै कारण धेरै सुत्केरीको मृत्यु भएको औंल्याइन् । ‘गर्भवती भएका समयमा झट्का आउने र शरीर काम्ने समस्या देखिँदा पनि लापरबाही गर्दा ज्यान जाने गरेका घटना धेरै छन्,’ उनले भनिन् ।

प्रकाशित : आश्विन ५, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?