कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘माइनजन’ को पञ्‍चायतीले निसाफको साटो अन्याय

घटनाविशेषमा एकतर्फी अडान र कुनै परिवारलाई अपमान हुने निर्णय लिइदिने ‘माइनजन’ का कारण यो प्रथामाथि प्रश्नहरु उठेका छन् ।
भरत जर्घामगर

सिरहा — लहान–१४ पिडरबनीका ५८ वर्षीय सोतीलाल पासवान दलित दुसाध समुदायका माइनजन (मुखिया) छन् । २७ घरधुरी पासवान समुदायको बसोबास रहेको बस्तीका माइनजनले अराउपराउदेखि परम्परा र जातीय सवालका बारेमा निर्णय लिन्छन् ।

‘माइनजन’ को पञ्‍चायतीले निसाफको साटो अन्याय

बाजे बाबुलाल, बाबु दुःखीपछि सोतीलाल आफ्नो समुदायका माइनजन बनेका हुन् । माइनजन बनेपछि उनले गाउँमा एउटा परिवारलाई मृत्युकर्मपछिको भोज ८ गाउँलाई खुवाउनु पर्ने निर्णय सुनाए ।

गाउँका द्वोरिकलाल पासवानका पिता शिवुको गत जेठ १४ मा निधन भएको थियो । मृत्युको कर्मभोज चलाउन माइनजनले सुनाएको निर्णय द्वोरिकलालका लागि अकाट्य थियो । आर्थिक हैसियत नहुँदा पनि उनले ‘सक्दिन’ भन्न पाएनन् । ऋण काढेर चार सय जनालाई भोज चलाए । ‘जग्गाजमिन ५ कट्ठा मात्र छ, गुजारा चलाउन समस्या छ । त्यस्तो भोज खुवाउनुपर्दा ऋणमा डुबियो,’ उनले भने, ‘कर्म चलाउनुपर्छ, संस्कार मान्नुपर्छ तर गाउँलेको क्षमता हेरेरमात्र माइनजनले निर्णय लिँदा न्याय हुन्छ ।’

माइनजन प्रथाको जिम्मेवारी जातीय कर्म चलाउने, वादविवाद मिलाउने, गाउँको विकास योजनामा श्रमदान गराउने र ग्राम देवताको पूजा चलाउन गाउँलेलाई ऐक्यबद्ध गराउनु रहिआएको छ । टोल, बस्तीका ती ‘माइनजन’ ले समुदायको जन्म, मृत्यु, विवाह संस्कारदेखि भोजभतेरका बारेमा निर्णय सुनाउँछन् । उनले सुनाएको निर्णय सबैले पालना गर्नु अनिवार्य कानुन सरह मानिन्छ । जातीय माइनजनले भोजभतेर र निमन्त्रणालगायत बिहेबटुलोको मुख्य जिम्मेवारी वहन पनि गर्छन् । माइनजनले कति जनालाई भोज खुवाउने र दहेज (दाइजो) लेनदेनमा मुख्य भूमिका त्यस जातीय सभा र भोजमा निर्वाह गर्छन् ।

माइनजनको जिम्मेवारी वंश परम्पराअनुसार छोरा, नातिमा सर्छ । नयाँ माइनजनले निष्पक्ष हुन नसक्दा भने गाउँले अन्याय पर्छन् । बाहिर कतै उजुरी गरे जाती समुदायले निको मान्दैनन् भनेर डराउँछन् । लहान–१३ स्थित तरेगना गाउँमा ४७ घर थारू छन् । समुदायका माइनजन ५२ वर्षीय रामनारायण चौधरी हुन् । बाजे धनाई, बुबा नैनसिंहपछि उनलाई यो जिम्मेवारी सरेर आएको हो । डेढ दशकदेखि तरेगनामा माइनजनी चलाउँदै आएका उनी भन्छन्, ‘आफ्नो समुदायमा हरेक कुराको निर्णय लिने गरेको छु । निर्णय नमानेमा समुदायभित्र जातबाट निकालासमेत गर्ने अधिकार हुन्छ ।’ तर, उनले लिखित अधिकार भने कहीँबाट नभएको सुनाए ।

मधेसमा प्रचलित ‘माइनजन’ प्रथामा पछिल्लो समय सामूहिक सोच हराउँदै गरेको अगुवाहरू बताउँछन् । मुसहर, चमार, डोम, पासवानदेखि यादव, महतो, हलुवाई, सुडी, कुर्मीलगायत जातिमा माइनजनको प्रभाव छ । वंश परम्पराअनुसार माइनजनको जिम्मेवारी पुस्ता पुस्तामा सर्छ । सामाजिक सुव्यवस्थाका लागि शक्तिशाली मानिएको यो प्रणाली पछिल्लोपटक माइनजनको व्यक्तिगत सोचमा आधारित भएर निर्णय लिने गरिएकाले ‘शंकाको घेरा’ मा परेको छ ।

जसका कारण कुनै समयमा सशक्त र शक्तिशाली मानिएको यो प्रथाजनित संस्था आधुनिक रहनसहनका कारण सम्बन्धित जातीय समुदायले नै बेवास्ता गर्नुपर्ने अवस्थामा पुगेको ती समुदायका अगुवाहरूको भनाइ छ ।

लहान क्याम्पसमा समाजशास्त्रका सहप्राध्यापक सोभितलाल चौधरीका अनुसार कुनै समयमा माइनजनलाई असीमित अधिकार थियो । समुदायको न्यायाधीश मानिने माइनजनले न्याय दिँदा एकपक्षीय नभएर सामूहिक रायका आधारमा यस्तो विवाद निरुपण गर्थे । राणाकालमा माइनजनलाई कानुनी मान्यतासमेत थियो । ‘बाँके, बर्दिया, कैलालीतिर बडघर वा भलमन्सा र दाङ देउखुरीतिर महतवा, बडघर भनिएझैं पूर्वी तराईको सिरहा, सप्तरी, महोत्तरीलगायतमा माइनजन प्रथा हो,’ उनले भने, ‘प्रगन्ना, देशबन्धा, महतवा र घरधुर्‍या जस्ता चार तहमा गाउँको शासन र न्याय प्रणाली चलेको थियो ।’

पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै निमुखा

मुलुकको संविधान, ऐन, कानुनहरू पश्चिमा संस्कृतिबाट प्रभावित भएको ठहर प्राध्यापकहरूको छ । ‘गाउँघरको जातीय रूपमा स्थापित माइजन प्रथा पूर्वीय दर्शनबाट प्रभावित छन्,’ ललितपुरको पाटन संयुक्त क्याम्पस इतिहास विभागका सहप्राध्यापक डा. विजयप्रसाद मिश्र भन्छन् , ‘त्यसैले माइजनको निर्णय र अहिले बनेका नयाँ कानुनबीच तालमेल नमिलेको हो । सांस्कृतिक, जातीय मूल्य मान्यताको विरोध हुने गरी राज्यले गतिविधि गरिदिनु हुँदैन ।’ केही जातीय नियमहरू अहिले सुहाउँदो नभए समुदायलाई नै सुधार्न दिनुपर्ने उनले बताए । सहप्राध्यापक चौधरी माइनजन प्रणाली राम्रो परम्परा भए पनि बहस गर्न आवश्यक रहेको बताउँछन् । समाजमा महत्त्वपूर्ण भूमिका रहने सिरहाका जातीय अगुवा तथा माइनजनहरूमा परम्परागत रूढिवादी संस्कार कायमै रहेकाले कतिपयले लिने निर्णयले आत्महत्यादेखि हत्या घटनासमेत निम्तिएका छन् ।

‘माइनजनहरूले समय सापेक्ष निर्णय लिनसके अझै पनि उनीहरूको प्रभाव कायमै छ,’ चौधरीले भने, ‘यसका लागि माइनजनहरूले कानुनलाई पनि अध्ययन गर्नुपर्छ र निष्पक्ष काम गरे प्रथा परिस्कृत हुन सक्छ ।’

माइनजनको फैसलापछि गम्भीर घटना

०७६ भदौ २ मा सिरहाको अर्नमा–५ बेलदरही टोलका ५० वर्षीया सीतादेवी राउतको सामूहिक कुटपिटबाट मृत्यु भयो । टोलका ६ परिवारलाई मृत्यु संस्कारअन्तर्गत हुन लागेको सभा भोजको निम्तो काटेका विषयमा भएको विवादमा कुटपिट भएको थियो । त्यतिखेर माइनजन कुमर राउतले मृतक सीतादेवीलगायत ६ परिवारलाई मृत्यु संस्कारको भोजमा सहभागी नगराउने निर्णय गरेका थिए । सीतादेवीको आफन्त पर्ने एक जनाले यादव समुदायका केटासँग प्रेम विवाह गरेका थिए । उनलाई जातबाट निकाला गरेको घोषणा गरिएको थियो ।

यस्तै एउटा परिवारमा बिहे टुंगो भएपछि छोरी प्रेमीसँग भागिन् । जातीय भेलामा माइनजनले दुलही पक्षलाई तत्कालै ६० हजार जरिवाना तिर्नुपर्ने निर्णय गरे । तिर्ने हैसियत नहुँदा दुलहीमा पिता लहान–२४ का श्यामलाल रामले गत माघ २ मा आत्महत्या गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?