कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

६ दिदीबहिनीले पाए संरक्षक

तृप्ति शाही

बैतडी — बैतडीको दशरथ चन्द नगरपालिका–१० सत्पालीका ६ जना टुहुरा दिदीबहिनीलाई एसओएस बालग्राम काभ्रेले जिम्मा लिने भएको छ । उनीहरू यसै साता काभ्रेको पनौतीस्थित बालग्राम जाने भएका छन् ।

६ दिदीबहिनीले पाए संरक्षक

भदौ २३ गते कान्तिपुरमा ‘किशोरीको काँधमा पाँच बहिनीको जिम्मेवारी’ शीर्षकको समाचार प्रकाशित भएपछि एसओएस बालग्रामले समेत चासो देखाएको थियो । बालबालिका दुई वर्षदेखि अभिभावकविहीन थिए । चारदेखि १५ वर्षका ६ दिदीबहिनीको हेरविचार गर्ने आफन्तसमेत थिएनन् । जेठी १५ वर्षीया नीलम लावडले ५ बहिनीको अभिभावकत्व निर्वाह गरिरहेकी थिइन् ।

तीन वर्षअघि आमा मीनादेवी लावड बेपत्ता भएकी थिइन् । वर्ष दिनपछि उनीहरूका बिरामी बुवा राजुरामको पनि मृत्यु भयो । आमाबुवा गुमाएका उनीहरू जीर्ण घरमा जेनतेन बसिरहेका थिए । साँझबिहानको छाक टार्नसमेत उनीहरूलाई समस्या थियो । बैतडीका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुख र नगरपालिकाका जनप्रतिनिधिबीच सहमति भएपछि उनीहरूलाई काभ्रेको एसओएस बालग्राम पठाउने टुंगो लागेको हो ।

अब सबै दिदीबहिनी एकै ठाउँमा बस्न र पढ्न पाउने भएपछि खुसी लागेको नीलमले बताइन् । उनीहरूलाई बालग्राममा राख्न बैतडीस्थित सेनाको हनुमानध्वज गुल्मका गुल्मपति प्रवीन थापाले समन्वय गरेका थिए । बालग्रामका निर्देशक सुरेन्द्र अम्गाईका अनुसार बालिकाहरूलाई लिन टोली बुधबारसम्म बैतडी आउँदै छ । ‘धनगढी र सुर्खेतमा ठाउँ रहेनछ । सबैलाई यतै ल्याएर व्यवस्थापन गर्छौं,’ उनले भने ।

प्रकाशित : आश्विन ५, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?