यसरी गरियो शंकास्पद ओसारपसार- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी गरियो शंकास्पद ओसारपसार

खोज पत्रकारिता केन्द्र (कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेको रिपोर्ट)

काठमाडौँ — गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद रकम ओसारपसारमा नेपालका केही कम्पनी र बैंकहरुको संलग्नता रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।



‘फिनसेन फाइल्स’ नामाकरण गरिएको उक्त विवरणअनुसार, २००६ डिसेम्बरदेखि २०१७ मार्चसम्म ११ वर्षभित्र नेपालका १० वटा कम्पनी, ९ वटा बैंक र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेका छन् । त्यस क्रममा सुन, अलकत्र, पुरातात्विक सामग्रीको तस्करी एवम् ओसारपसार भएको छ ।

रौनियारको इरान कनेक्सन

फिनसेन फाइल्सका अनुसार, धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्ज उपमहानगरपालिका–१२, मेनरोडका दुई कम्पनीहरू देखिएका छन् । त्यसमा एउटा रौनियार ब्रदर्स एण्ड कम्पनी हो भने अर्को शुभ समृद्धि ट्रेडर्स । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर स्रोतले उपलब्ध गराएको विवरण अनुसार, पहिलो कम्पनी वीरगञ्जका नारायणजी रौनियार र उनका चार छोराहरू– श्याम बाबु, ज्योति बाबु, प्रकाशकुमार र दीपकुमार बाबुको नाममा दर्ता छ ।

दोस्रो कम्पनी भने नारायणजीका छोरा ज्योति बाबुको नाममा दर्ता भएको देखिन्छ । शंकास्पद गतिविधि गर्ने प्रमुख व्यक्ति भने प्रकाशकुमार रौनियार रहेको तथ्यहरुले देखाएको छ । जो धेरैजसो दुबईमा बसोबास गर्छन् । उनको प्रमुख योजनामा दुबईकै काइट इन्टरनेसनल, एफजेई र अन्य विभिन्न सिपिङ कम्पनीहरूमार्फत शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ । काइट इन्टरनेसनल कम्पनीले अलकत्र, सवारी साधनमा प्रयोग हुने मोविल, लुब्रिकेन्टलगायत तेल, रबर प्रोसेसिङ ओइल जस्ता पेट्रोलियम पदार्थको आयात र निर्यात गर्छ ।

यी कम्पनीमार्फत रौनियार परिवारले नेपालमा अलकत्र र पेट्रोलियम पदार्थको आयात निर्यातका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको फिनसेनले जनाएको छ । रौनियारका उल्लिखित दुई कम्पनीले २८ सेप्टेम्बर २०१० देखि ४ सेप्टेम्बर २०१४ भित्र स्ट्यान्डर्ड चार्टर्ड बैंक, काठमाडौंबाट पटक–पटक प्रतीतपत्र (एलसी) खोलेका छन् । यी दुई कम्पनीले यो अवधिमा ७ करोड १४ लाख ५ हजार ५३३ अमेरिकी डलर (रु.८ अर्ब ४९ करोड ७२ लाख ५८ हजार ४२७) रकम दुबई लगायत विभिन्न देशमा भुक्तानी गरेको देखिन्छ ।

फिनसेनले यी कम्पनीहरूबारे संवेदनशील तथ्यहरू औंल्याएको छ । रौनियारको कम्पनीले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले उच्च जोखिमको सूचीमा राखेको इरानमा कारोबार गरेको देखिएको हो । एफएटीएफको उक्त सूचीलाई चलनचल्तीको भाषामा ‘कालोसूची’ पनि भनिन्छ । नेपाल पनि एफएटीएफको सदस्य राष्ट्र रहेकाले उक्त ‘उच्च जोखिमयुक्त’ मुलुकहरूमा कारोबार गर्न नहुने प्रमुख दायित्व रहन्छ । इरान अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएको मुलुक रहेको बिषयलाई पनि फिनसेनले प्राथमिकताका साथ उल्लेख गरेको छ ।

‘जुन मुलुकबाट औषधि, खाद्यान्नलगायत केही अत्यावश्यक सामग्रीबाहेकको आर्थिक कारोबार यो मुलुकबाट नेपालले पनि गर्न पाउँदैन,’ यसबारे जानकार एक नेपाली अधिकारीले भने । रौनियारको कम्पनीले यसलाई छल्नका निम्ति कागजात भने प्रतिबन्ध नलगाइएकै मुलुकहरूबाट सामान ल्याएको देखिने गरी तयार पारेको पाइएको छ । फिनसेनले यसलाई शंकास्पद गतिविधिसम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ ।

त्यसअनुसार प्रकाशकुमार रौनियारले २८ सेप्टेम्बर २०१० मा दुबईको काइट कम्पनीबाट २ लाख २५ हजार डलर (रु.२ करोड ६७ लाख ७५ हजार) मूल्य बराबरको अलकत्र खरीद गर्न आफ्नै नाममा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट प्रतीतपत्र जारी गराएका थिए । उक्त ‘अर्डर’ अनुसारका सामानहरू ‘एमएससी जमाइमा’ र ‘एमएससी पेगी’ नामका पानीजहाज कम्पनीमार्फत जिबुउटी र बहराइन पुर्‍याइएको थियो । ती सामग्रीमा ‘फर्नेस ओइल’ रहेको विवरणमा उल्लेख छ । त्यसलाई त्यहाँबाट कोलकाता हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाह ल्याइएको कागजातहरूले देखाउँछन् ।

ती कागजातका आधारमा १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपालले २ लाख ४३ हजार ५५४ डलर (रु.२ करोड ८९ लाख ८३ हजार) काइटलाई भुक्तानी गरेको थियो । यो कम्पनीका प्रतितपत्रहरूमाथि २०१६ अक्टोबरमा बेलायतको गैरनाफामूलक संस्था इन्टरनेशनल म्यारिटाइम ब्यूरो (आईबीएम) ले अनुसन्धान गरेको थियो ।

उक्त संस्थाले अन्तर्राष्ट्रिय व्यापारका क्रममा हुने सबै प्रकारका सामुऽिक अपराध, ठगी र गलत अभ्यासबारे खोज्ने काम गर्छ । उसको अनुसन्धानबाट नेपालका कम्पनीहरूले चारपटक ‘इरानको बन्दरगाह बान्डर अब्बासबाट सामान लोड गरिएको’ फेला पार्‍यो । तर, कागजपत्रचाहिं ‘दुबईको जेबिल अली बन्दरगाहमार्फत सामान लोड भएको’ भन्ने बनाइएको थियो । यस आधारमा फिनसेनले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको हो ।

काइटको वेबसाइटमा उल्लेख भएअनुसार, यो एक कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो, जसको केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र अमेरिकामा उपस्थिति छ । यो कम्पनीले ‘नेपालमा उच्च शिक्षाका लागि नयाँ परियोजना शुरू गरेको’ पनि वेबसाइटमा जनाइएको छ । तर नेपालका सरकारी अधिकारीहरू काइटले शिक्षा क्षेत्रमा कुनै परियोजना सञ्चालन नगरेको बताउँछन् ।

यी काम कारबाहीबारे प्रतिक्रिया लिन हामीले दुबईस्थित काइटको कार्यालयलाई इमेलमार्फत प्रतिक्रिया लिन खोजेका थियौं, तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन । उल्लिखित दुई कम्पनीका सञ्चालकमध्येका एक नारायणजी रौनियारले हाल आफ्ना दुवै कम्पनी बन्द भएको बताए । ‘अहिले कम्पनी छैन, चार–पाँच वर्ष जति भयो होला बन्द भइसक्यो,’ उनले भने, ‘पहिले अलकत्रको काम गर्थ्यौं, अहिले गर्दैनौं ।’

फिनसेनले भनेको कारोबारमा संलग्न मुख्य व्यक्ति उनका छोरा प्रकाशकुमार रौनियार हुन् । उनी युएईमा रहेका कारण उनको फोन नम्बर र इमेल प्राप्त हुन सकेन ।

‘द्वन्द्वमा प्रयोग भएको’ सुन

फिनसेनका अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८, बालकुमारी ठेगाना उल्लेख गरेको सास्ता ट्रेडिङ कम्पनीले अमेरिकाको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट नेपाल हुँदै शंकास्पद धन दुबई पुर्‍याएको भेटिएको छ । फिनसेनले १ जनवरी २००८ देखि २९ अगस्त २०१२ सम्म सास्ता ट्रेडिङसहित चार विदेशी कम्पनीले दुई अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५ अमेरिकी डलर (रु.३ खर्ब ३० अर्ब ६४ करोड २६ लाख २३ हजार ९५५) बराबरको शंकास्पद कारोबार गरेको उल्लेख गरेको छ ।

सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ वटा कारोबारमार्फत ३ करोड १५ लाख ७२ हजार ८६४ डलर (रु.३ अर्ब ७५ करोड ७१ लाख ७० हजार ८१६) प्राप्त गरेको देखिन्छ । उक्त रकम न्यूरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डूको सास्ताको खातामा रकम जम्मा भएको फिनसेनले उल्लेख गरेको छ । तर दुई बैंकमा कति–कति रकम जम्मा भएको भन्ने विवरणबाट खुल्दैन ।

सास्ताले कहाँबाट के प्रयोजनका लागि रकम प्राप्त गरेको थियो भन्ने नखुले पनि उक्त रकम दुबईको कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी र हङकङको अडिट ओभरसिजलाई भुक्तानी भएको देखिन्छ । कालोटी ज्वेलरीबाट बिस्कुट आकारको सुन र चाँदी आयातका लागि २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा कालोटीलाई नै ३ करोड ७ लाख १८४ डलर (रु.३ अर्ब ६५ करोड ३३ लाख २१ हजार ८९६) पठाएको देखिन्छ । बाँकी ८ लाख ७२ हजार ६८० डलर (रु.१० करोड ३८ लाख ४८ हजार ९२०) सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगस्त २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो ।

फिनसेनले राखेको विवरण अनुसार सुनको मात्रै शंकास्पद कारोबार ५ खर्ब १४ अर्ब ९९ करोड ६० लाख ५१ हजार १८८.२० अमेरिकी डलर बराबरको छ । नेपालको सास्ताले सुन कारोबार गरेको कालोटी ग्रुपले मात्रै सन् २००७ देखि २०१५ सम्ममा ४ हजार ५५७ पटक कारोबार हुँदा ९ अर्ब ३२ करोड २२ लाख ८१ हजार ८५३.०७ डलर (रु.११ खर्ब ९ अर्ब ३५ करोड १५ लाख ४० हजार ५१५) शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ ।

सन् २०१४ मा भएको एउटा ‘लिक्स’ अनुसार, कालोटीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वमा प्रयोग भएको सुन खरीद गर्ने काममा संलग्न भएको देखिएको थियो । सन् २०१२ मा कालोटीले सुन खरीद गर्नका लागि ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो । सो ‘लिक्स’ अनुसार, बैंकिङ प्रणालीबाट कारोबार हुँदा शंकास्पद धनको पहिचान हुने संभावना छल्न यसरी नगद कारोबार भएको हो ।

यही कम्पनीसँग नेपालको सास्ता ट्रेडिङले सुनको कारोबार गरेको फिनसेन फाइल्सले खुलासा गरेको हो । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, सास्ताका लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका–२७ की शान्तिप्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् ।

उल्लिखित सेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनीनिकट स्रोत बताउँछ । तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्षसमेत हुन् । उनीसँग सम्पर्क गर्दा ‘आफू बैठकमा रहेको र एक घण्टापछि फोन गर्न’ भने । त्यसपछि पटकपटक प्रयास गर्दा उनले टेलिफोन उठाएनन् ।

उल्लिखित कारोबारबारे प्राइम बैंकका सूचना अधिकारी अमृतचरण श्रेष्ठले आफूहरूले राष्ट्र बैंकको नियम अनुसार कारोबार गरेकाले शंकास्पद नभएको बताए । ‘सास्ता कम्पनी हाम्रो बैंकको पुरानो ग्राहक हो । कम्पनीले हाम्रो बैंकबाट चाँदी आयातको एलसी प्रतितपत्रमात्रै खोल्छ । उसले अरू धेरै बैंकबाट पनि कारोबार गर्छ । शंकास्पद भए अन्ततिर होला,’ श्रेष्ठले भने, ‘हामीले राष्ट्र बैंकको नियम अनुसार काम गरेका छौं, कुनै कैफियत भएको जानकारी छैन ।’

सास्ता संलग्न अर्को बैंक– बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले भने धेरै कुरै गर्न चाहेनन् । उनले भने, ‘यसबारे मलाई केही जानकारी छैन । केही भयो भने म तपाईंलाई पछि कल गर्छु ।’ यो कारोबारमा जोडिएको दुबईको कालोटीले आईसीआईजेलाई प्रतिक्रिया दिंदै उल्लिखित आरोपलाई अस्वीकार गरेको छ ।

पुरातात्विक सामग्रीको कारोबारमा समेत

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका पुरातात्विक सामग्रीहरुको समेत कारोबार भएको पाइएको छ । फिनसेनका दुई छुट्टाछुट्टै प्रतिवेदनले नेपालको पुरातात्विक सामग्रीहरूको चोरी पैठारीमा अवैध आर्जन जोडिने गरेको पत्ता लगाएको छ । प्रतिवेदनले न्यूयोर्कमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ‘अमेरिकामा कलाकृति र पुरातात्विक सामग्रीको कारोबार गर्ने न्यान्सी विनर ग्यालरीले शंकास्पद आर्थिक गतिविधि गरेको भनेर उसलाई शंकाको घेरामा राखेको’ उल्लेख छ ।

फिनसेनले न्यान्सी विनर ग्यालरी र अन्य धेरै कम्पनीहरु अन्तर्राष्ट्रिय तस्करहरूले पुर्‍याएका कलाकृति लाखौं डलरमा लिने र त्यसलाई अवैध रूपमा बिक्री गर्ने काममा संलग्न रहेको बताएको छ । न्यान्सी विनरले गरेका कारोबारमध्ये १६ मार्च २०१० को चलानीअनुसार, नेपालको १६औं शताब्दीका कास्य मूर्ति बिक्री गरेको पाइएको छ ।

फिनसेनका अनुसार अमेरिकाको न्यान्सी विनर हमिल नामका व्यक्तिले प्यान्थियन वर्ल्ड वाइड लिमिटेडलाई १ लाख ५० हजार अमेरिकी डलर (रु.१ करोड ७८ लाख ५० हजार) पठाएको विवरणबाट यो कुरा खुल्छ । उक्त कारोबारमा १६ औं शताब्दीको कास्य मुर्तीका साथै १७औं शताब्दीको अर्हत (बुद्ध) को मूर्ति र राम, सीता र लक्ष्मण भएको देखिने पेन्टिङ्गको बिक्री जोडिएको छ । त्यसका लागि चीनको तिब्बत, नेपाल र भारतबाट भुक्तानी भएको देखिन्छ । यी कारोबारहरूले कलाको कारोबारलाई समेत सम्पत्ति शुद्धीकरणको माध्यमको रूपमा प्रयोग गरिएको स्पष्ट हुन्छ ।

न्यान्सी विनर ग्यालरीले भारतबाट कलाकृतिहरू तस्करी गरेर अमेरिका पठाउने काममा सुवास कपुरले सहयोगीको भूमिका निर्वाह गरेको किटानीका साथ उल्लेख गरेको छ । कपुर अमेरिकामा रहेको ‘आर्ट अफ दि पास्ट’ नामक आर्ट ग्यालरीका सञ्चालक हुन् ।

फिनसेनका अनुसार, न्यूयोर्कमा रहेका बेला कपुरलाई १०७ मिलियन अमेरिकी डलर मूल्य पर्ने चोरीका हजारौं कलाकृतिका सामग्रीहरू राखेको आरोप लागेको थियो । यही आरोपमा उनी ३० अक्टोबर २०११ मा जर्मनको फ्र्याङफर्ट विमानस्थलबाट इन्टरपोलद्वारा पक्राउ परेका थिए ।

आईसीआईजे आबद्ध भारतका पत्रकार श्यामलाल यादवले मूर्ति चोरीमा संलग्न कपुरका कानूनी सल्लाहकारसँग सम्पर्क गर्दा सुवास कपुर उपचारका क्रममा भएकाले कुनै प्रतिक्रिया दिन नसक्ने बताए । न्यान्सी विनरबाट हामीले कुनै प्रतिक्रिया प्राप्त गर्न सकेनौं ।

२३ मार्च २०१० देखि २ मार्च २०१७ सम्मको अवधिमा न्यान्सी विनर ग्यालरीलगायतका केही कम्पनीहरू संलग्न भएर ४१३ पटक गरी कुल २ करोड ७८ लाख ८६ हजार २०३.१० अमेरिकी डलर (रु.३ अर्ब ३१ करोड ८४ लाख ५८ हजार १६९) को कारोबार गरेका थिए । यसमध्ये न्यान्सी विनर ग्यालरीले हङकङ र बेलायतमा भएको प्यानथियन लिमिटेडलाई १ लाख ५० हजार डलर (रु.१ करोड ७८ लाख ५० हजार) पठाएको थियो ।

अर्को कम्पनी प्यानथियन वर्ल्ड वाइडले ‘नेपाली थाङ्का’ र ‘३८ सेन्टीमिटर उँचाइ रहेको दोस्रो शताब्दीको गन्धारा बस्ने बोधिसत्वको मूर्ति खरीद गरे बापत’ रकम लिएको खुलेको छ । फिनसेनले ‘जून २०१२ देखि मार्च २०१३ सम्ममा ब्रुकलिनको आर्ट डिलर नाइफ होम्सीले नेपाल र भारतका मन्दिरबाट चोरिएका पुरातात्विक महत्वका धार्मिक कलाकृतिहरू करीब ५ लाख अमेरिकी डलर (रु.५ करोड ९५ लाख) मूल्यमा बिक्री गरेको’ पनि खुलासा गरेको छ ।

‘यी लेनदेनहरू सम्भवतः कलाकृतिहरूको अवैधानिक स्थानान्तरणलाई सजिलो बनाउनका लागि प्रयोग गरिएको थियो,’ फिनसेनको प्रतिवेदनमा भनिएको छ । फिनसेनले समीक्षा गर्ने क्रममा यस्तै कारोबारमा नाइफ होम्सी (एलसीसी) ले प्यानथियन नामक कम्पनीबाट ३.६ मिलियन अमेरिकी डलर पाएको उल्लेख गरेको छ ।

दर्ता नै नभएको कम्पनीले ल्यायो पैसा

‘ट्याक्स हेवन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डस् टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु.१ करोड १९ लाख) नेपालमा पठाइएको पनि फिनसेनको विवरणमा देखिन्छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ब्रिटिस भर्जिन आईल्याण्डस्लाई अपारदर्शी कारोकारका हिसाबले उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ ।

फिनसेनका अनुसार, ˆयांकफर्टको कमर्ज बैंक एजीले न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सो रकम पठाएको थियो । न्यूयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिको नाममा एभरेष्ट बैंक, नयाँबानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ ।

५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु.७७ लाख ३५ हजार) र १४ अगस्त २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु.१ करोड ४२ लाख ८० हजार) रकम सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्टले प्राप्त गरेको फिनसेनले उल्लेख गरेको छ ।

सेतीदेवीले तीनपटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ वापतको रकम भएको जनाइएको छ । फिनसेनले यसलाई पनि शंकास्पद कारोबारको सूचीमा राखेको छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन ।

एभरेष्ट बैंकका सूचना अधिकारी केशवराज पौडेलले ग्राहकको गोप्य विवरण भएकाले यसबारे राष्ट्र बैंकलाई मात्रै जानकारी दिन मिल्ने बताए । पौडेलले थपे, ‘जुन कम्पनीले गरेको हो, त्यसैलाई सोध्दा राम्रो हुन्छ । तैपनि म हाम्रो बैंकको सिस्टममा चाहिं भनिदिन्छु ।’

(यो सामग्री ललितपुरस्थित खोज पत्रकारिता केन्द्र (खोपके) ले उपलव्ध गराएको हो । खोपकेले तयार पारेको सात हजार शब्दभन्दा लामो मूल सामग्रीबाट सम्पादित अंश मात्र यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक)

प्रकाशित : आश्विन ४, २०७७ २३:०३
प्रतिक्रिया
पठाउनुहोस्

फिनसेन फाइल्सको विश्वव्यापी खुलासा 

२१ खर्ब डलरको शंकास्पद कारोबार, एशियादेखि अमेरिका र अफ्रिकादेखि युरोपसम्म कालोधनको ओसारपसार
इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)

काठमाडौँ — अमेरिकाको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) बाट प्राप्त शंकास्पद आर्थिक कारोबारका गोप्य कागजातले एशिया तथा युरोपका विभिन्न मुलुक र अमेरिकामा शंकास्पद धनको ओसारपसार तथा सम्पत्ति शुद्धीकरण गर्ने प्रयास भइरहेको देखाउँछ । 

अपराधीकरणलाई बढावा दिने गरी भइरहेका यी गतिविधिको असर भने सामान्य नागरिकहरूमा परेको छ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)’ र अमेरिकी संचार संस्था बजफिड न्यूजसहित संसारभरका ४०० बढी पत्रकारको समूहले १६ महीना लगाएर गरेको अनुसन्धानले कालोधनको ओसारपसार र सम्पत्ति शुद्धीकरणका प्रयास सम्बन्धी खोज सार्वजनिक भएको हो । फिनसेनबाट प्राप्त गरेको गोप्य कागजातहरू अनुसार, अमेरिका, रूस, चीनलगायतका विश्वका शक्तिशाली राष्ट्रसहित नेपाल जस्ता विपन्न मुलुकहरूमा भइरहेका आर्थिक अपराधका घटना उजागर गरेको छ ।

विवरणहरूले, नेपाल र भारतबाट चोरिएका बौद्ध र हिन्दू धर्मसँग सम्बन्धित प्राचीन कलाकृतिहरू (मूर्ति, पेन्टिङलगायत) अमेरिकाको न्यूयोर्क लगेर बेचेको देखिन्छ । मध्यपूर्वी मुलुकमा भने सुन प्रशोधन कम्पनीहरूले गरेका शंकास्पद आर्थिक कारोबार उजागर भएका छन् । ‘फिनसेन फाइल्स’ नाम दिएको उक्त गोप्य विवरणमा सन् १९९९ देखि २०१७ सम्म अमेरिकाका बैंक र वित्तीय संस्थामार्फत भएका शंकास्पद आर्थिक गतिविधि समेटिएका छन् ।

अमेरिकाका वित्तीय संस्थाहरूले फिनसेनलाई बुझाएका विवरणमा ठगी र कर छलीको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियानका प्रमुख सहयोगी पल म्यानाफर्ट पनि मुछिएका छन् । अमेरिकाको जेपी मोर्गन चेज बैंकले आफ्नो बैंकमार्फत म्यानाफर्ट र उनका सहयोगीका ‘शेल कम्पनी’ (शंकास्पद धनको ओसारपसारमा प्रयोग हुने निष्क्रिय कागजी कम्पनी) को बीच शंकास्पद कारोबार भएको उल्लेख गरेको छ । रूस र युक्रेनका उच्चपदस्थ राजनीतिकर्मीसँग सम्बन्ध रहेका म्यानाफर्ट र उनका सहयोगीका शेल कम्पनीको बीचमा सन् २०१७ सम्म शंकास्पद तरिकाले रकम आदानप्रदान हुँदै आएको चेज बैंकले फिनसेनलाई बताएको थियो ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको ‘निजी बैंक’ (पिग्गी बैंक) भनेर चिनिने भीटीबी बैंकका कारोबारदेखि भेनेजुएलाका ठूला व्यापारी यो शंकास्पद लेनदेनमा मुछिएका छन् । विवरण अनुसार, विश्वमा नाम चलेका र धनीमध्येका बैंकहरू सम्पत्ति शुद्धीकरणको मामिलामा मुछिएका छन् । चेज, एचएसबीसी, बारक्लेज र डोइच बैंक लगायतले फिनसेनलाई बुझाएका दस्तावेजले प्रष्ट पार्छ– संसारका कुनाकुनासम्म अवैध धनको ओसारपसार भइरहेको छ ।

ती बैंकहरूमार्फत विश्वका विभिन्न देशहरूबाट सार्वजनिक जानकारीमा नभएका ‘कागजी’ र सीमापार खोलिएका ‘अफसोर कम्पनी’ का खातामा रकम पठाइएको छ । विभिन्न मुलुकका ‘ओलीगार्क’ (राजनीतिक प्रभाव र पहुँच भएका धनी व्यापारी) र तानाशाह (डेस्पट) हरूले अवैध कारोबार गर्दा पनि बैंकहरूले दबाब महसूस गरी त्यस्ता कारोबार रोक्न असफल भएको दस्तावेजहरूले देखाउँछन् ।

फिनसेनको ‘सस्पिसियस एक्टिभिटी रिपोर्टस््’ (शंकास्पद गतिविधिहरूको प्रतिवेदन– सार) ले बैंकहरू अवैध धनको कारोबार रोक्न असफल भएको मात्र होइन, ती कारोबारले कसरी अपराधीकरणलाई बढावा दिइरहेको छ भन्ने पनि देखाएको छ । यी अवैध कारोबारको असर भने सामान्य नागरिकहरूमा परेको छ । “सामान्य मानिसलाई सम्पत्ति शुद्धीकरण र अफसोर कम्पनीबारे जानकारी नहुन सक्छ” कार्नेगी इन्डावमेन्ट फर इन्टरनेशनल पिसकी विज्ञ जोडी भिट्टोरीले भनिन्, “तर हरेक दिन उनीहरूले यसको मूल्य चुकाइरहेका हुन्छन् ।”

अमेरिकामा लागूऔषधको ओसारपसार र सम्पत्ति शुद्धीकरण

फिनसेनबाट प्राप्त आर्थिक कारोबार सम्बन्धी गोप्य कागजातले चीनदेखि अमेरिकामा लागूऔषध (ओपीओइड) को कारोबार भइरहेको देखाउँछ । त्यस्तो कारोबारमा सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यक्तिहरू संलग्न छन् । सन् २०१७ मा एन्थनी गोम्स नाम गरेका व्यक्तिले चीनदेखि अमेरिकासम्म लागूऔषधको तस्करी र सम्पत्ति शुद्धीकरण गर्ने गरेको स्वीकारेका थिए । गोम्सले लुकीछिपी अमेरिकासम्म पुर्‍याउने ‘फेन्टनिल’ नामक लागूऔषधको प्रयोगबाट थुप्रै अमेरिकीहरूको मृत्यु समेत भएको थियो । ‘चाइना हृवाइट’ को नामले पनि चिनिने ‘फेन्टनिल’ संसारमा उपलब्ध एक घातक लागूऔषध हो ।

यति मात्र होइन, तस्करहरूले ‘मोर्फिन’ भन्दा पनि दशौं हजार गुणा बढी घातक लागूऔषधहरू चीनको वुहानस्थित रसायन प्रयोगशाला (केमिस्ट ल्याब)बाट अमेरिकाका बस्ती–बस्तीसम्म पुर्‍याउने गरेका छन् । वुहानबाट ‘फेन्टनिल’को कारोबार गर्ने जिआओबिङ यान सहितका व्यक्तिलाई प्रतिबन्धित लागूऔषध कारोबार गरेको भन्दै अमेरिकाले खोजी गरिरहेको छ ।

लागूऔषध तस्करहरूले मनीग्राम इन्टरनेशनल, बैंक अफ अमेरिका र ‘अफसोर’ बैंक खातामार्फत सजिलै आर्थिक लेनदेन गर्ने गरेको भेटिएको छ । आफ्ना गतिविधिहरू अरूले थाहा नपाउन् भन्नको लागि उनीहरूले लुकाईछिपाई कुराकानी (इन्क्रिप्टेड कम्युनिकेशन) गर्ने गरेको विवरणहरूमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरणको लागि सहयोग पुग्ने गरी आर्थिक कारोबार गरेको खुलेपछि मनीग्राम इन्टरनेशनलले सन् २०१८ मा अमेरिकी सरकारलाई १२५ मिलियन डलर जरिवाना तिरेको थियो । “हातमा मोबाइल भएपछि जो–कोही पनि तस्कर हुन सम्भव छ” अमेरिकाको लागूऔषध तस्करी विरुद्धको नियामक निकाय ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनका डोनाल्ड आइएमले भने, “तस्करहरूले बैंकिङ प्रणालीका हरेक तरिकाहरू प्रयोग गर्न सक्छन् ।”

सन् २०१८ मा अमेरिकामा ३१ हजार भन्दा बढी व्यक्तिको ‘फेन्टनिल’ लगायतका ‘सिन्थेटिक ओपीओइड’ प्रयोगका कारण ज्यान गएको थियो । अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट भन्छ– आर्थिक अपराधले लागूऔषध ओसारपसारलाई झन् सजिलो बनाइदिएको छ । विना रोकतोक भइरहेको कालोधनको ओसारपसार बन्द गर्नु नै आपराधिक क्रियाकलाप घटाउनको लागि पूर्वशर्त भएको नियमनकारी निकायका अधिकारीहरू बताउँछन् ।

राष्ट्रपतिको पकेट मनी अर्बौं डलर

सन् २०१६ तिर, मध्य एशियाली मुलुक तुर्कमेनिस्तानको अर्थतन्त्र ओरालो लागिरहेको थियो । स्थानीय मुद्रा (मनेत)को मूल्य झन्झन् घटिरहेको थियो । आकाशिएको महँगीले मानिसहरू खान लाउनै नपुग्ने अवस्थामा पुगेका थिए । पसलहरू रित्ता देखिन्थे । तैपनि, खानेकुरा पाइन्छ कि भनेर सरकारी सुपरमार्केट बाहिर मानिसहरू पर्खिरहेका हुन्थे । तुर्कमेनिस्तानको राजधानी अस्गाबाद् (जसको शाब्दिक अर्थ हुन्छ, प्रेमको सहर) मा सामान्य नागरिकले दिनको २३ डलरभन्दा धेरै रकम बैंकबाट निकाल्न पाउँदैनन् ।

तर यहाँका राजनीतिक र व्यापारिक घरानाका व्यक्तिले अर्बौं डलरको शंकास्पद धन ‘अफसोर कम्पनी’ र विश्वका विभिन्न बैंकहरूमा पुर्‍याएको खुलेको छ । फिनसेनबाट प्राप्त विवरण अनुसार, सन् २००१ पछिको डेढ दशकमा तुर्कमेनिस्तानमा १.४ बिलियन डलरको शंकास्पद कारोबार भएको छ ।

यहाँबाट यूके, स्कटल्याण्ड लगायतका देशमा शंकास्पद तरिकाले रकम पठाएको देखिन्छ । एउटा उदाहरण, तुर्कमेनिस्तानको व्यापार मन्त्रालयले स्कटल्याण्डस्थित इन्टरगोल्ड एलपीलाई पठाएको १.६ मिलियन डलर । जुन रकम अस्गाबाद्स्थित व्यापार मन्त्रालयको खाताबाट न्यूयोर्कस्थित डोइच बैंक हुँदै लाट्भियामा रहेको इन्टरगोल्ड एलपीको खातामा पुगेको छ । तर, यो कारोबार कुनै वैधानिक कामको लागि भएको हो भनेर खुल्दैन ।

भ्रष्टाचारको विरुद्ध काम गर्दै आएको समूह ग्लोबल विट्नेसका अनुसार, तुर्कमेनिस्तानको एकतिहाइ राजश्व डोइच बैंकमा छ, जसमा पूर्व राष्ट्रपति सपरमुरत नियाजोभको मात्र पहुँच थियो । बैंकमा भएको अर्बौं डलरलाई कतिपयले उनको ‘पकेट मनी’ भन्थे ।

भोकमरी, भ्रष्टाचार र राज्यको दमनका कारण तुर्कमेनिस्तानको अस्गाबाद्लाई आजभोलि कतिपयले ‘मृत शहर’ भन्छन् । फ्रिडम हाउस नामक गैरसरकारी संस्थाले तुर्कमेनिस्तानलाई उत्तरकोरिया भन्दा पनि बढी निरंकुश र विश्वका चार खराब मध्येको पनि खराब (वर्स्ट अफ दि वर्स्ट) मुलुक मध्येको एक भनेको छ ।

अफ्रिकी खेलाडीलाई रूसको घूस, ओलम्पिक्समा घोटाला

पश्चिम अफ्रिकी मुलुक सेनेगलका पूर्व खेलाडी तथा इन्टरनेशनल एशोसिएसन अफ एथलेटिक्स फेडेरेसन (आईएएएफ) का अध्यक्ष लमिन डियाकले अफ्रिका, युरोप र मध्यपूर्वका देशहरूमा शंकास्पद धन आदानप्रदान गरेको देखिन्छ । छोरा पापा मस्साटा डियाकसँग मिलेर उनले २०१६ मा १०० भन्दा बढी शंकास्पद कारोबार गरेका थिए । डियाक बाबुछोरा ती व्यक्ति हुन्, जसले सन् २०१२ को लण्डन ओलम्पिक्सको बेला रूसको खेलकुद मन्त्रालयबाट ३.८ मिलियन डलर घूस लिएका थिए ।

ओलम्पिक्समा सहभागी रूसका खेलाडीले खेल क्षमता बढाउने पदार्थ (पर्फमेन्स इन्हृयान्सिङ सब्स्ट्यान्सेस) प्रयोग गरेको देखिने मेडिकल रिपोर्ट लुकाउनको लागि डियाकलाई रूसी खेलकुद मन्त्रालयले रकम दिएको थियो । ओलम्पिक्स लगत्तै सन् २०१३ मा सेनेगलको पमोदजी कन्सल्टिङ्गले डियाकसहित रूसको स्पोर्टस् फेडेरेसन र फ्रान्सका केही व्यापारीलाई १.२५ मिलियन डलर पठाएको थियो । डियाकले ओलम्पिक्स खेलकुदको बेला विभिन्न देशका खेलकुद प्रशिक्षक, चिकित्सक र मन्त्रीहरूलाई रकम पठाएको फिनसेन प्रतिवेदनमा देखिन्छ ।

विवरण अनुसार उनीहरूले धेरै वर्षदेखि सिटी बैंकमार्फत लण्डन, सिंगापुर, दोहा, मस्को, बेइजिङ, पेरिस लगायतका ठाउँहरूमा रकम पठाउँदै आएका थिए । तर त्यसको दुई वर्षपछि मात्र सिटी बैंकले थाहा पायो कि ती कारोबारहरू ओलम्पिक्स घोटाला प्रकरणकै अंश थिए ।

सन् २००७ देखि २०१५ मा डियाक पक्राउ पर्ने बेलासम्म सीटी बैंकले ५५.७ मिलियन डलरको शंकास्पद कारोबार भएको विवरण फिनसेनलाई बुझाएको छ । डियाक बाबुछोराको यो घोटाला प्रकरण बाहिर आएपछि बाबु डियाक विरुद्ध फ्रान्सको एक अदालतमा मुद्दा चलिरहेको छ । ओलम्पिक्समा पदक प्राप्त गरेका थुप्रै रूसी खेलाडीले पाएको मेडल खोसिएको छ ।

तर यसको असली मूल्य भने हार्ने खेलाडीहरूले चुकाउनु परेको छ । जस्तो, ‘स्टिपलचेज’ नामको एक दौड प्रतिस्पर्धामा सहभागी रूसकी एक खेलाडीले लागूऔषध प्रयोग गरेका कारण ट्यूनिसियाकी हाबिबा घ्रिबीले हारिन् । हारसँगै उनले लाखौं डलर र थुप्रै स्पन्सरसीप गुमाइन् । ‘च्याम्पियन र रनरअप एउटै चिज होइनन्,’ घ्रिबीले भनिन् ।

युक्रेनको कोइलाखानी लूटको केन्द्र

भ्रष्टाचार विरोधी अभियन्ता, कर्मचारी र अधिकारीका अनुसार, युक्रेनको बझानोभ कोइलाखानी ‘क्लेप्टोक्र्याट’ (राजनीतिक शक्तिको आडमा मुलुकको स्रोतसाधन दोहन गर्ने व्यक्ति वा माफिया) हरूको लूटको स्रोत हो । युक्रेन सरकारको स्वामित्व रहेको यो कोइलाखानीको एक टावर भत्किंदा सन् २०११ मा ११ जनाले ज्यान गुमाएका थिए । यहाँ काम गर्ने कामदारलाई न्यूनतम सुरक्षाको प्रबन्ध छैन ।

तर यस कोइलाखानीलाई सामग्री उपलब्ध गराउने कम्पनी टोर्नाटोरी होल्डिङ्स लिमिटेड थुप्रै शंकास्पद आर्थिक कारोबारहरूमा संलग्न भएको भेटिएको छ । टोर्नाटोरीले न्यूयोर्कको डोइच र रूसकै ग्लोबेक्स बैंकमार्फत शंकास्पद तरिकाले रकम आदानप्रदान गर्ने गरेको देखिएको छ । सन् २०११ मा बझानोभ कोइलाखानीको लेखा परीक्षण गरेको एक एजेन्सीले २०५ मिलियन डलरको आर्थिक अपचलन भएको भेटेको थियो ।

साइप्रसको टोर्नाटोरी होल्डिङ्स युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको निकट मानिने राजनीतिकर्मी यूरी इभानयूशचेन्कोको हो । इभानयूशचेन्को २०१४ मा युक्रेनमा भएको क्रान्तिपछि बेपत्ता छन् । ऊर्जाका विभिन्न परियोजनामार्फत अर्बौं डलर आर्थिक अपचलन गरेको भन्दै युक्रेन र स्वीट्जरल्याण्डका अधिकारीहरूले उनको खोजी गरिरहेका छन् ।

फिनसेन फाइल्स खुलाका अनुसार यो अवधिमा कुल २० खर्ब ९९ अर्ब ५८ करोड ५९ लाख २७ हजार २७५.४७ अमेरिकी डलरको शंकास्पद कारोबार भएको देखिन्छ । जुन इटालीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबरको रकम हो ।

प्रकाशित : आश्विन ४, २०७७ २२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×