१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बालमन्दिर नै छैन बालमैत्री

‘भुइँ तला र परिसरमा बालमन्दिरको बालगृहमा हुर्किरहेका अबोध बालबालिका र किशोरकिशोरीहरू छन्, माथिल्लो तलामा बस्ने महिलाहरूको फरक खालको व्यवहारले उनीहरूको मानसिकतामा कति असर परिरहेको छ भन्ने कुरा व्यक्त गर्नै सकिँदैन ।’
विद्या राई

काठमाडौँ — भित्ता चर्किएको दुई भवनको माथिल्लो तलामा मानसिक समस्या रहेका महिलाहरूलाई राखिएको छ भने भुइँ तलामा अभिभावकविहीन बालबालिकालाई । काठमाडौंको सिफलस्थित बालमन्दिरका यी दुई भिन्दै संरचना बालमैत्री छैनन् ।

बालमन्दिर नै छैन बालमैत्री

मंगला–साहना दीर्घकालीन पुन:स्थापना केन्द्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालनमा छ । यहाँ पुन:स्थापनाका लागि राखिएका महिलाहरू आफ्नो अनुकूल व्यवहार देखाउँछन् । ‘भुइँ तला र परिसरमा बालमन्दिरको बालगृहमा हुर्किरहेका अबोध बालबालिका र किशोरकिशोरीहरू छन्, माथिल्लो तलामा बस्ने महिलाहरूको फरक खालको व्यवहारले उनीहरूको मानसिकतामा कति असर परिरहेको छ भन्ने कुरा व्यक्त गर्नै सकिँदैन,’ बालगृह प्रमुख सुरेन्द्र पन्तले भने ।

बालगृहमा ५३ बालक र ४१ बालिका गरी ९४ जना बालबालिका छन् । उनीहरू ४–३७ वर्षभित्रका छन् । १४ जना पूर्ण रूपमा अपांगता भएका छन् । २८ जना कैदीबन्दीका सन्तान हुन् । मंगला–साहना केन्द्रमा २२ महिलाहरू पुन:स्थापनाका लागि राखिएका छन् । पन्तका अनुसार उनीहरूलाई चार वर्षदेखि त्यहाँ राखिँदै आएको छ । उनीहरूको फरका खालको गतिविधि बालबालिकाले प्रस्ट देख्छन् । माथिल्लो तलाबाट फ्याँकिएको फोहोर पानीको बलेसीमा बालगृहका बालबालिका खेलिरहेका देखिन्छन् ।

यो बालगृह व्यवस्थित देखिँदैन । भौतिक सरंचना पूराना भइसकेका छन् । परिसर पनि साँघुरो छ । बालबालिकाहरूलाई खेल्ने पर्याप्त ठाउँ छैन । कोरोना महामारीअघि बालबालिका अघिल्तिरको सिफल चौरमा खेल्न निस्कन्थे, पछिल्लो ६ महिनादेखि उनीहरू बाहिर जान पाएका छैनन् । विद्यालय बन्द छन् । खेल्न, रमाउन र समय कटाउन सकस भइरहेको उनीहरूको भनाइ छ । कक्षा ८ मा पढिरहेका एक बालकले भने, ‘खेल्न मन लाग्छ, यहाँ ठाउँ साँघुरो छ, चौरमा खेल्न जान पाइँदैन, दिनभर बस्दा–बस्दा झर्को लाग्छ ।’

आइतबार संसद्को महिला तथा सामाजिक समिति बालमन्दिरको अनुगमनमा पुग्दा पनि अधिकांश बालबालिकाहरू परिसरमा जबर्जस्ती टहलिँदै थिए । बालमन्दिरकी नवनियुक्त अध्यक्ष विद्या उपाध्याय न्यौपानेले मंगला–साहना पुन:स्थापना केन्द्रलाई अन्यत्रै सारिदिन माग राखिन् । ‘बालमन्दिरको आफ्नै भवन हो, यसकै लागि प्रयोग गर्न पाउनुपर्‍यो नि । अर्को कुरा बालमन्दिरका बालबालिका र पुन:स्थापना केन्द्रका महिलाहरूबीच तालमेल मिल्दैन, उनीहरूको क्रियाकलाप बच्चाहरूको आँखैमा पर्छ, उनीहरूले के सिक्लान् ?’ उनले भनिन् ।

अनुगमनमा गएको संसदीय टोलीले बालमन्दिर संरचना भएर पनि बालमैत्री नभएकाले सुधार्न निर्देशन दियो । महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले बालमन्दिरले आफ्ना संरचनालाई उपयोग गरेर बालबालिकाहरूको वृत्तिविकासमा ध्यान दिन आग्रह गरिन् । ‘केन्द्रलाई के गर्ने भन्नेबारे हामी महिला मन्त्रालयसँग पनि छलफल गर्छौं, तपाईंहरू राम्रो काम गर्नुस्, अप्ठ्यारो फुकाउने ठाउँमा साथ दिन्छौं, तर बालमन्दिरमा हुने गरेका गलत गतिविधिहरू नदोहोरिउन्,’ उनले भनिन् ।

प्रकाशित : आश्विन ४, २०७७ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?