सवारी दुर्घटनामा इन्जिनियरको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनामा इन्जिनियरको मृत्यु

कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बस्न घर जाँदै थिए
प्रताप विष्ट

हेटौंडा — पूर्व पश्चिम राजमार्गमा पर्ने  हेटौंडा  उपमहानगरपालिका—१९ नेवारपानी नजिक सवारी दुर्घटनामा एक युवकको शनिबार मृत्यु भएको छ । नेवारपानी—रजैयाको सिमानामा बसको ठक्करबाट चितवन भरतपुर—७ का २९ वर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको हो ।

मृतक युवक कोरोना संक्रमित भएको पुष्टि भएपछि होम आइसोलेसनमा बस्नका लागि चितवन जाँदै थिए । शुक्रबार कोरोना पुष्टि भएका उनी बकैया गाउँपालिकाका इन्जिनियर हुन् ।

‘शुक्रबार बेलुका कोरोना पुष्टि भएपछि घरमा छुट्टै बस्न चितवन जान्छु भनेर हिँडेका थिए’ गाउँपालिका अध्यक्ष दामोदर खनालले भने,‘एम्बुलेन्सको व्यवस्था गर्छौं भनेका थियौं तर मोटरसाइकलमा एक्लै निस्कनु भएछ ।’ उनका अनुसार मोटरसाइकलमा जाँदा कसैलाई नछुने र घर सुरक्षित ढंगले बस्ने सोचका साथ ती युवा हिँडेका थिए ।

गाउँपालिकाका जनप्रतिनिधिहरुले सुरक्षित साथ बस्ने व्यवस्था गाउँमै गरिदिन्छौं नजानोस भनेर इन्जिनियर अधिकारीलाई भनेका थिए । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनि बस र हेटौंडाबाट चितवनतर्फ जाँदै ना ४९प २४०० नम्बरको अधिकारीले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

प्रकाशित : आश्विन ३, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

परासीमा समाजवादीको प्रदर्शन

नवीन पौडेल

परासी — संविधान संशोधनमार्फत मधेसी जनताको अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ । संविधानले मधेसी समुदायको हकअधिकार सुनिश्चित नगरेको भन्दै समाजवादी पाटीका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले असोज ३ गतेलाई 'कालो दिवस' को संज्ञा दिएका छन् । 

परासीको हाटबजारबाट शनिबार निकालेको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालयको गेट हुँदै बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।

संविधानमा सबै बर्ग र क्षेत्रको प्रतिनिधित्व र अपनत्व हुनुपर्ने भन्दै तत्काल संविधान संसोधन गरेर मधेदी दलको माग सम्बोधन गनुपर्ने जनता समाजवादीका जिल्ला अध्यक्ष मण्डलका एक धरेन्द्र यादवले बताए । कोणसभामा बोल्ने नेता कार्यकर्ताले हातमा कालोपट्टी बाँध्दै संविधान संशोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने र संविधान खारेज गर्न बाध्य बनाउने चेतावनी दिएका थिए ।

प्रकाशित : आश्विन ३, २०७७ १७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×