कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आसन ग्रहणमा विवाद हुँदा जसपा कार्यकर्ताबीच झडप

अवधेशकुमार झा

राजविराज — संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा कार्यकर्ताहरुबीच नै झडप भएको छ ।

आसन ग्रहणमा विवाद हुँदा जसपा कार्यकर्ताबीच झडप

संविधान संशोधनको माग गर्दै शिव मन्दिर परिसरबाट दिउँसो निस्केको जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा आसन ग्रहणको विषयलाई लिएर नेता/कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।

तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दे तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता गराएका थिए । उनले पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी ,प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।

पहिलो वक्ताका रुपमा विद्यार्थी नेता शम्भु यादवले मन्तब्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि झडप सुरु भएको थियो ।

कार्यक्रम सञ्चालक यादवलाई केही नेता कार्यकर्ताहरुले मञ्चबाट धकेलेर निकालेका थिए । असन्तुष्टहरुले पार्टीका अन्य केन्द्रीय सदस्यहरु,निर्वाचित जनप्रतिनिधीहरु तथा वरिष्ठ नेताहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो ।

जसपाका आफ्नै कार्यक्रकर्ताबीच झण्डै १५ मिनेट सम्म घम्साघम्सी भएको थियो । स्थिती असहज भएपछि अध्यक्षता गरेका हरेराम यादवले कार्यक्रम समापनको घोषणा गरेका थिए । पार्टीको घोषित कार्यक्रममा आसन ग्रहणको विषयमा विवाद हुनु दुःखद भएको उनले बताए । यस्तै, पार्टीका अर्का जिल्ला अध्यक्ष केदार यादवले पार्टीमा केन्द्रीय सदस्यहरुको संख्या धेरै रहेको तथा धेरै नेताहरु सधै कार्यक्रममा नआउने गरेका कारण को आए भन्ने विषयमा जानकारी नहुँदा आसन ग्रहण छुटेको बताए । उनले सामान्य विषयमा विवाद गर्नु राम्रो नभएको बताए ।

पार्टीका सम्मानित नेताहरुको अपमान गर्ने अधिकार कसैलाई नभएको बताउँदै जसपाका स्थानीय नेता भिमराज यादवले सम्मानमाथि आँच आउन थालेपछि विरोधमा उत्रिएको बताए ।

कार्यक्रममा सहभागी हुन ग्रामिण क्षेत्रबाट आएका कार्यकर्ताहरु पार्टीका नेताहरुबीचको झडप हेर्दा आश्चर्यचकित भएका थिए । ‘यही आसनग्रहणको विवादका लागि मधेसीपुत्रहरु सहिद भएका थिए र ?’ एक कार्यकर्ताले भने,‘आसन ग्रहणमै कुटाकुटमा उत्रने नेताहरु सरकारलाई दबाब दिएर संविधान संशोधन गराउन सक्ला भन्ने लागेन ।’

प्रकाशित : आश्विन ३, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?