कैलालीकी पत्रकार निर्मला पहराई मृत फेला- समाचार - कान्तिपुर समाचार

कैलालीकी पत्रकार निर्मला पहराई मृत फेला

अर्जुन शाह

धनगढी — कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत करिब २४ वर्षीया पत्रकार निर्मला पहराई मृत भेटिएकी छिन् । घोडाघोडी नगरपालिका–५ मा रहेको फुलबारी सामुदायिक जंगलमा झुण्डिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उनी रेडियो कैलालीमा पाँच वर्षदेखि समाचार वाचिका एवं समाचार कक्षमा कार्यरत थिइन् । भदौ ३१ गते बिहान ११ बजे घोडाघोडी नगरपालिका–४ जनकपुरमा रहेको घरबाट निस्किएकी उनी सम्पर्कविहीन थिइन् । असोज १ गते परिवारका सदस्यले प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य सुरु भएको थियो।

‘शुक्रबार अपराह्नतिर झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी हुन्’, सुखड इलाका प्रहरी कार्यालयका डिएसपी सागर बोहराले भने,’ घटनाको थप अनुसन्धान भइरहेको छ ।’ पहराई मृत फेला परेपछि सोही रेडियोमा कार्यरत पत्रकार ललित जाग्रीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघले शाेक विज्ञप्ति सार्वजनिक गर्दै मृतक पहराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेकाे छ ।



प्रकाशित : आश्विन ३, २०७७ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना

संक्रमितमध्ये ४५ जना बारा, ६ जना पर्सा र एक जना सर्लाहीका
भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४५ जना बारा, ६ जना पर्सा र एक जना सर्लाहीका बासिन्दा हुन् ।

अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाका अनुसार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ११ महिलासहित ४ महिने शिशुदेखि ६८ वर्षका ५२ जनामा कोरोना पुष्टि भएको हो । पर्साका ६ जना संक्रमित वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका हुन् ।

वीरगन्ज बाल सुधार गृहका ३ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । वीरगन्ज– ३ र वडा १९ मा एक/एक जना संक्रमित थपिएका छन् । यसैगरी कलैया उपमहानगरपालिकाको विभिन्न वडामा ३३ जना संक्रमित थपिएका छन् । बारागढी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रवक्ता डा.चौरसियाका अनुसार इलाका प्रहरी कार्यालय बारागढीमा ८ जनामा कोरोना पुष्टि भएको छ । अठाई प्रहरी चौकीमा एक जना र सिखिपथरामा दुई जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×