महामारीका बेला सडकमा भीडभाड गरी प्रदर्शन नगरिदनुहोला : घिसिङ- समाचार - कान्तिपुर समाचार

महामारीका बेला सडकमा भीडभाड गरी प्रदर्शन नगरिदनुहोला : घिसिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी आफूले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको पनि घिसिङले बताएका छन् । ‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ ।प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।’ शनिबार एक विज्ञप्ति जारी गर्दै घिसिङले भनेका छन् ।

कोभिड—१९ संक्रमणको जोखिम भइरहेका बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राख्दै महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिन पनि घिसिङले अनुरोध गरेका छन् ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : आश्विन ३, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना रोकथाममा सरकारले चालेका कदम उराठलाग्दा छैनन् : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताएका छन् । शनिबार स‌ंविधान दिवसका अवसरमा सै‌निक मञ्‍चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण हुनुपूर्व नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै अहिले त्यसमा उल्लेख्य वृद्धि र सुधार गरिएको बताए । 

पहिलो संक्रमितको पहिचान गर्न स्वाबको नमुना विदेश पठाउनु परे पनि अहिले सरकारी र निजी गरी ४७ वटा प्रयोगशालामा कोरोना परीक्षण हुने प्रधानमन्त्री ओलीले बताए । पछिल्लो समय दैनिक करिब २३ हजार नमुना परीक्षण गर्न सकिने गरी

प्रयोगशाला स्थापना गरिएको उनले बताए । सुरुमा एउटा नमुना परीक्षण गर्न ८ हजार ५ सय रुपैयाँसम्म लाग्ने गरे पनि अहिले २ हजार रुपैयाँमा कोरोना परीक्षण हुने उनले बताए ।

कोरोना महामारी भए पनि विश्वका अधिकांश देशमा जस्तो नेपालमा आर्थिक असर नपरेको पनि प्रधानमन्त्री ओलीले बताए । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष रेमिट्यान्स भित्रिएको पनि उनले उल्लेख गरे ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतीपूर्ण रहेपनि भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताए । भ्रष्टाचारविरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ । उनले भने, ‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न र भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’

त्यसैगरी कोरोना महामारीका कारण सरकारले गौरवका आयोजनाहरु पूरा गर्न नसकेको उनले बताए । प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकताबद्ध भएर अगाडप बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताए । ओलीले कोरोनाका कारण कतिपय वाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताए । ‘कोरोना नभएको भए भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, मेलम्ची आयोजना, रानीपोखरीको पुनर्निर्माण, धरहरा निर्माण र निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्ने अवस्थामा पुग्ने थिए,’ ओलीले भने ।

प्रकाशित : आश्विन ३, २०७७ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×