कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्राकृतिक प्रकोपबाट ५ महिनामा ३७४ को मृत्यु, १०१ बेपत्ता : गृह मन्त्रालय

काठमाडौँ — प्राकृतिक प्रकोप बाढी, पहिरो र चट्याङका कारण मुलुकका ४९ जिल्लाका ३ सय ७४ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयले दिएको जानकारी अनुसार प्राकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मान्छे बेपत्ता भएका छन् ।

प्राकृतिक प्रकोपबाट ५ महिनामा ३७४ को मृत्यु, १०१ बेपत्ता : गृह मन्त्रालय

गृहमन्त्रालयले संसदीय समितिलाई दिएको जानकारी अनुसार २०७७ वैशाखयता प्राकृतिक प्रकोपका कारण ठूलो जनधनको क्षति भएको हो । गृहमन्त्री रामबहादुर थापाले संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा बाढीका कारण भने विगतका वर्षभन्दा कम क्षति भएको बताए ।

राज्यव्यवस्था समितिको शुक्रबारको बैठकमा गृहमन्त्री थापाले प्राकृतिक प्रकोपबाट भएको क्षतिबारे जानकारी दिँदै भने, 'यसवर्ष पहिरोबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ । ६२ जना पहिरोमा परेर बेपत्ता भएका छन् भने घाइते २०६ जना रहेका छन् । बाढीबाट विगत वर्षको तुलनामा कम जनधनको क्षति भएको छ । बाढीबाट मुलुकभर ३९ जनाको मृत्यु भएको छ भने ३६ बेपत्ता र घाइते १२ जना घाइते छन् । चट्याङबाट ६४ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या २ सय ३ जना रहेको छ ।'

बाढी र पहरोमा परेर बेपत्ता भएकाको शव नभेटिएको भए पनि उनीहरूको मृत्यु भइसकेको हुनसक्ने गृहमन्त्री थापाको भनाइ थियो । मनसुनका कारण उत्पन्न भएका प्राकृतिक प्रकोपबाट प्रभावित जिल्लाको संख्या ४९ रहेको उनले जानकारी दिए ।

'प्राकृतिक प्रकोपबाट पूर्ण क्षति भएका घरहरूको संख्या ४ सय ८२ रहेको छ,' मन्त्री थापाले भने, 'विपद् जोखिम व्यवस्थापन कोषबाट निकासा गराएर ५ करोड ६९ लाख राहत रकम तत्काल उपलब्ध राइएको छ ।'

क्षति भएका घरहरूको निर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरिएको बताइएको छ । उक्त टोलीले अहिले अध्ययन गरिरहेको र प्रतिवेदन तयार पारिसकेपछि पुनर्निर्माणका काम सुरु गरिने मन्त्रालयले जानकारी दिएको छ । भूकम्पमा परेर पूर्ण रूपमा क्षति भएका घरको पुनर्निर्माण मापदण्डअनुसार नै प्राकृतिक प्रकोपबाट क्षति भएका घरको पुनर्निर्माण गरिने गृहमन्त्रालयको तयारी रहेको छ ।

'सरकारले दुई नीति लिएको छ । पहिलो, जोखिममा रहेका बस्तीहरूलाई स्नानान्तरण गर्ने । दोस्रो, पीडितहरूको इच्छाअनुसार उनीहरूले सुरक्षित स्थानमा आवास निर्माण गर्ने,' गृहमन्त्रीले भने, 'यी दुई नीतिअनुसार प्राकृतिक प्रकोपमा भएको क्षतिको पुनर्निर्माणका कामलाई अगाडि बढाएका छौँ ।'

प्राकृतिक प्रकोपमा क्षति भएको घरको सट्टामा अर्को निर्माण गर्नका लागि सरकारले प्रत्येक परिवारलाई ३ लाख रुपैयाँ दिने सरकारले जनाएको छ । जग्गा नभएको परिवारलाई जग्गा उपलब्ध गराउने र उक्त जग्गा पीडितले चाहेन भने त्यसको सट्टामा २ लाख रुपैयाँ दिने नीति भएको गृह मन्त्रालयले जनाएको छ ।

यसवर्षको मनसुनमा पहिरोको पूर्वानुमान नगरिएको ठाउँमा पनि ठूलो पहिरो गएको गृहमन्त्रीको भनाइ थियो । सिन्धुपाल्चोक, बाग्लुङ लगायतका जिल्लामा अनुमानै नगरिएका ठाउँमा ठूलो पहिरो गएर जनधनको क्षति भएको उनले बताए ।

सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक त्यसपछि बाग्लुङ र कालिकोट जिल्ला रहेका गृह मन्त्रालयको तथ्यांकमा छ ।

विपद् व्यवस्थापन जोखिम न्यूनिकरण विभागले गतवर्षभन्दा बढी वर्षा भएका कारण पहिरो र बाढी गएको जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?