२५ वर्षपछि बल्ल लालपुर्जा

पर्वत पाेर्तेल

पाटापुर, इलाम — इलामको रोङ गाउँपालिका–३ पाटापुरका सुकुम्बासी ६० वर्षीय लालसिंह राईको हर्षको सीमा थिएन । करिब २५ वर्ष लामो प्रयत्नपछि बुधबार उनले आफू बसेको जग्गाको लालपुर्जा हात पारे । ‘आज मलाई ठूलै युद्ध जितेझैं लागेको छ,’ उनले गहभरि आँसु पार्दै भने ।

२५ वर्षपछि बल्ल लालपुर्जा

उनका बुबा लालबहादुर राईले पनि धेरै संघर्ष गरे तर लालपुर्जाविहीन भएरै बिते । ‘मैले पनि बल्ल पाएँ । सपना पूरा भयो,’ राईले भने । रोङ गाउँपालिका–६ पाटापुरका ८९ परिवार २०२० सालदेखि जंगल फँडानी गरेर बसोबास गर्दै आएका हुन् । उनीहरूको जमिन थियो तर हातमा लालपुर्जा थिएन । यो वडाका १९ परिवारले बुधबार लालपुर्जा पाए । २०५२ मा तत्कालीन सरकारले गठन गरेको सुकुम्बासी आयोगले लालपुर्जा वितरणका लागि प्रक्रिया थालेको थियो । तर सरकार ढलेसँगै उनीहरूको आशा गुम्यो ।

त्यसयता यो सुकुम्बासी बस्तीमा धेरै राजनीतिक नेता भोट माग्दै पुगे । कतिपय चुनाव जितेर सत्तामै पुगे । तर पनि उनीहरूको लालपुर्जाको समस्या ज्युँका त्युँ रह्यो । ‘चुनावका बेला भोलि नै लालपुर्जा दिइहाल्छौं जस्तो गरे नेताहरूले’, राईले सुनाए, ‘जितेर गएपछि फर्किएर कहिल्यै आएनन् ।’ विनीताकुमारीलाई त लालपुर्जा पाइँदैन होला भन्ने नै थियो । बुधबार गाउँपालिकाका अध्यक्ष शमशेर राईले हातमा लालपुर्जा थमाउँदा पनि उनलाई विश्वासै लागेन । लालपुर्जा ओल्टाइपल्टाइ गरेर निकैबेर नियालेपछि बल्ल विश्वस्त भइन् ।

गाउँपालिकाले सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न समिति बनाएर काम सुरु गरेको अध्यक्ष राईले जनाए । बाँकी ७० परिवारलाई पनि चाँडै लालपुर्जा दिइने उनको भनाइ छ । गाउँपालिकामा ३ सय ६२ परिवार लालपुर्जाविहीन छन् ।

प्रकाशित : आश्विन २, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?