सहारा दिने बालमन्दिर नै अस्तव्यस्त

नवनियुक्त पदाधिकारीले पदबहालीको डेढमहिना बित्दासम्म कार्यकक्ष व्यवस्थापन गर्न नसकेपछि कार्यालय झोलाबाटै चलेको छ ।
विद्या राई

काठमाडौँ — सानो टहरोभित्र कुर्सी बिनाको एउटा पुरानो टेबल । टेबलमाथि केही थान सेनिटाइजर, कागजात र टेलिफोन सेट । टेबलमुनि एउटा डष्टबिन र नजिकै पंखा । यो दृश्य नक्सालस्थित अनाथ बालबालिकालाई आश्रय दिँदै आएको नेपाल बाल संगठन (बालमन्दिर) मा नवनियुक्त अध्यक्ष र पदाधिकारीको कार्यकक्षको हो ।

सहारा दिने बालमन्दिर नै अस्तव्यस्त

बिहीबार बालमन्दिरको अनुगमनमा पुगेका संसदीय महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाललगायतको टोलीलाई समेत झट्ट हेर्दा कार्यकक्ष भनेर ठम्याउन मुस्किल पर्‍यो । पदाधिकारीहरुलाई अनुगमनमा गएका सांसदहरुले कार्यकक्षबारे चासो राखे । बालमन्दिर अध्यक्ष विद्या उपाध्याय न्यौपानेले कार्यकक्षको झ्याल–ढोकासमेत राम्ररी नलाग्ने, दराज नभएकोले कागजातसमेत घरै लैजाने गरेको बताइन् ।

बालमन्दिरमा पद बहाली गरेको डेढ महिना बितिसक्दा पनि अध्यक्ष न्यौपानेसहित सात सदस्यीय नवनियुक्त पदाधिकारीहरुले आफ्नो कार्यकक्षसमेत व्यवस्था गर्न सकेका छैनन् । झन्डै तीन दशकदेखि संगठनको अध्यक्ष रहेकी रिता सिंह (वैद्य) नेतृत्वको कार्यसमितिमाथि सरकारले पारदर्शिताको प्रश्न उठाउँदै पुरानो समिति भंग गरी साउन १६ मा न्यौपानेसहितलाई नियुक्ति दिएको थियो ।

नयाँ कार्यसमिति गठनप्रति रुष्ट बनेको रिता सिंह नेतृत्वले अदालतमा मुद्दा दायर गरेपछि उनीहरुले कामकाज गर्न पाएका थिएनन् । तर साउन ३० मा सर्वोच्च अदालतले कामकाजको बाटो खुलाइदिए पनि नयाँ समितिले एक महिनामा आफ्नो कार्यालयसमेत व्यवस्थापन गर्न सकेको छैन । जसका कारण कार्यालय झोलाबाटै चलेको छ ।

बालमन्दिरको मुख्य भवनमा २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि कार्यालय टहरोमा सीमित छ । उक्त भवन पुनर्निर्माणका लागि प्राधिकरणले रेट्रोफिटिङको जिम्मा लिएको छ । स–साना टहरा र छाप्राहरु बनाएपछि बालमन्दिरमा खाली जग्गा कतै देखिँदैन । वरिपरी जस्ताले बारिएको बालमन्दिर हेर्दै उकुसमुकुस लाग्छ । नवनियुक्त पदाधिकारीहरुको कार्यकक्ष भनिएको टहरो सामुन्ने बा२च १६०४ नम्बरको कबाडी गाडीका साथै टुटेफुटेका फर्निचर, डस्टबिन, सिसा, टिनका टुक्राको थुप्रो छ ।

राष्ट्रिय निर्देशक ऐन, २०१८ अनुसार बालमन्दिरले २०२१ देखि अभिभावकविहीन बालबालिकालाई संरक्षण दिँदै आएको छ । त्यतिबेला बालमन्दिरको नाममा हस्तान्तरण भएको जग्गा १०२ रोपनी थियो ।

जसमध्ये करिब ४० रोपनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पर्छ । बाँकी ५२ रोपनीमध्ये सबैभन्दा धेरै २९ रोपनी बृहस्पति विद्या सदनले लिजमा लिएर ठूला सुविधासम्पन्न भवनहरु निर्माण गरेको छ । बहिरा स्कुल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले समेत बालमन्दिरको जग्गा ओगटेका छन् ।

अध्यक्ष न्यौपानेका अनुसार बालमन्दिर मुख्य भवन रहेको जग्गासहित करिब १० रोपनीमा खुम्चिएको छ । संरक्षकविहीन बालबालिकाहरुलाई राख्न बालगृह र कार्यालयका लागि स–साना टहराहरु बनाइएका छन् ।

ती टहराहरुमा ३१ दिनदेखि २७ वर्षसम्मका ८५ जना अनाथ व्यक्तिहरुलाई राखिएको छ । बालमन्दिरले नक्साल, सिफल, ठेचो, पाँचखाल, सर्लाही, कपिलवस्तुलगायत विभिन्न ९ जिल्लाका बालगृहहरुमा २ सय ८८ जना बालबालिकाको संरक्षकत्व लिएको छ ।

नक्सालमा बालमन्दिरको खाली जग्गा कतै बाँकी नरहेपछि रेट्रोफिटिङ भइरहेको भवनको आँगनमै बालबालिकाहरु निर्वाध खेलिरहेका हुन्छन् ।

अनुगमनपछि संसदीय समितिले बालमन्दिरको द्रुत व्यवस्थापनमा लाग्न पदाधिकारीहरुलाई निर्देशन दिएको छ । समिति सभापति निरुदेवी पालले कार्यकक्ष र अभिलेखीकरणलाई जतिसक्दो चाँडो व्यवस्थापन गर्न र बालमन्दिरमा हुने गरेका गलत गतिविधिलाई रोक्न पनि निर्देशन दिइन् ।


‘बालबालिकाको खानामा कमिसन खाने, नक्कली कागजात बनाएर बालगृहहरुलाई बच्चा दिने, कानुनसम्मत जग्गा लिजमा नदिनेजस्ता गलत कार्यहरु भए गरेका हामीले पाएका छौं, नयाँ कार्यसमितिले यस्ता कार्यहरु नदोहोर्‍याओस्,’ उनले भनिन् । नयाँ कार्यसमितिलाई सचेत गराउँदा पनि पुराना गलत गतिविधि दोहोरिएको पाइए कानुनसम्मत कारबाही गरिने पनि उनले चेतावनी दिइन् ।

सांसद लक्ष्मी परियारले हिजोको ‘च्याप्टर’ लाई बन्द गरेर बालमन्दिरको गुणात्मक विकासमा लाग्न आग्रह गरिन् । ‘को आयो को गयो भन्दा पनि कसले के गर्‍यो भन्नेमा ध्यान दिनुस्, हिजोको अवस्थालाई चिरेर काम गर्नुस्,’ राजनीतिक आरोप–प्रत्यारोप त्यागेर काम गर्न उनले सुझाइन् । अध्यक्ष न्यौपानेले काम गर्न थालेको एक महिना मात्रै भएको र पुरानै कार्यसमिति रहँदाको अस्तव्यस्त र अलपत्र अवस्थाले गर्दा समस्या भएको बताइन् ।

‘हामीलाई पुरानो कार्यसमितिबाट जिम्मेवारी तथा कागजातहरु हस्तान्तरण नभएकाले काममा केही बाधा भएका छन्, यद्यपि देखिनेगरी काम गर्न सबै पदाधिकारी रातदिन खटिरहेका छौं,’ उनले भनिन् । अघिल्लो कार्यसमितिले बृहस्पतिलाई आगामी ५४ वर्षसम्म अर्थात् वि.सं. २१३१ सम्मका लागि लिजमा दिएको जनाउँदै उनले उक्त सम्झौता रद्द गरि जग्गा फिर्ता गर्नेलगायतका लक्ष्य राखिएको सुनाइन् ।

अहिलेको बालमन्दिरको हालतले आफूलाई पनि दुखित तुल्याएको बताउँदै उनले बालबालिकाको हेरचाहदेखि भौतिक संरचनाको विकासमा जोड दिने प्रतिबद्धता जनाइन् ।

बालमन्दिरको संरक्षक तत्कालीन मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह रहँदा साबिक ७५ वटै जिल्लामा बाल मन्दिरको नाममा जग्गा र भवन सरकारले दिएको थियो । अध्यक्ष न्यौपानेका अनुसार ५५ जिल्लामा बाल मन्दिर विद्यालय सञ्चालनमा रहेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको, विभिन्न जिल्लामा सटरहरु सञ्चालनमा रहेको, त्यसको आम्दानी बाल मन्दिरमा नदेखिएको बताइन् ।

काठमाडौंको टेकुमा ३५ सटर, कञ्चनपुरमा ५८ सटर गरी विभिन्न ठाउँमा व्यापारिक प्रयोजनमा प्रयोग भैरहेको तर बाल मन्दिरलाई आम्दानी छैन । वृहस्पति विद्यासदनबाट २९ रोपनी लिज बापत मासिक ७ लाख रुपैयाँ प्राप्त हुने रकम मात्रै बालमन्दिरको आयस्रोत रहेको उनले बताइन् ।

प्रकाशित : आश्विन १, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?