नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेका छौं : मोदी- समाचार - कान्तिपुर समाचार

नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेका छौं : मोदी

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई ऐतिहासिक र सांस्कृतिक आधारमा थप सुदृढ बनाउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान दिएको जन्मदिनको शुभकामनाको जवाफमा मोदीले ट्विटमा त्यस्तो लेखेका छन् । ‘हामी ऐतिहासिक र संस्कृतिक आधारमा भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन चाहन्छौं,’ मोदीले ट्विटमा भनेका छन् । प्रधामन्त्री ओलीले बिहिबार बिहान मोदीलाई ७० औं जन्मदिनको शुभकामना दिएका थिए ।

नेपाल र भारतबीच विगत केही महिनादेखि सीमा विवादका कारण सम्बन्ध सहज छैन । नेपालले लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेर संविधान समेत संशोधन गरेयता दुई देशबीच लामो समयसम्म संवादहीनता कायम थियो ।

लामो समयको संवादहीनतालाई गत १५ अगष्टमा भारतको स्वतन्त्रता दिवसको अवसरमा ओलीले नै मोदीलाई फोनमा शुभकामना दिएर तोडेका थिए । त्यसपछि भने दुई देशको सम्बन्ध केही सहज बन्दै गएको संकेत देखिँदै आएको छ ।

प्रकाशित : आश्विन १, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्

क्रिकेटर ललितको मुख्य चोटको शल्यक्रिया सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — कञ्चनपुरमा सडक दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको आज शल्यक्रिया भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको शल्यक्रिया भएको बताएको हो ।

कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ । सिप्यानले ललितको अवस्था स्थिर रहेको समेत बताएको छ । ललितलाई आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो ।

दुर्घटनामा परेपछि ललितलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेपनि थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ । चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए ।

प्रकाशित : आश्विन १, २०७७ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×