२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इमलिहवामा बीओपी स्थापना

माधव ढुंगाना

भैरहवा — सीमा सुरक्षालाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीको रोहीणी गाउँपालिका–५ इमलिहवा (बुची) मा बोर्डर आउट पोस्ट (बीओपी) को स्थापना गरेको छ ।

इमलिहवामा बीओपी स्थापना

यो पोस्ट भारतसँग सिमाना जोडिएको रुपन्देहीको ५९.७ किमी सिमानामा स्थापना गर्न लागिएको २५ वटा बीओपीमध्ये छैठौं हो । यसभन्दा अघि पजरकट्टी, डन्डा, मझगवा, बोगडी र बयरघाटमा स्थापना भइसकेका छन् ।

सिसहवा, ठर्की, पन्चवारे र थुमुवामा ३ महिनाभित्र बीओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले बताए । ती स्थानमा बीओपी स्थापनाका लागि जग्गाको प्रकृया अघि बढाइएको पोखरेलले जनाए ।

उनका अनुसार स्थानीय अमरेसकुमार सिंहको घर भाडामा लिएर सशस्त्रले बुचीमा बीओपी स्थापना गरेको हो । २०७६ मंसिर ३० गते मन्त्रिपरिषद्को बैठले नेपाल–भारत र नेपाल–चीनको सीमा क्षेत्रमा सशस्त्रका १ सय १४ वटा बीओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यही निर्णयको आधारमा जिल्ला सुरक्षा समिति रुपन्देहीको २०७६ पुस १८ को बैठकले पहिलो चरणमा जिल्लाका अत्यावश्यक ५ ठाउँमा बीओपी स्थापना गर्ने निर्णय गरेको थियो । सरकार र जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा बुचीमा स्थापना भएको बीओपी पहिलो हो ।

‘तत्कालका लागि घर भाडामा लिएर स्थापना गरिएको यस बीओपीलाई हिउँद लाग्नासाथ नजिकैको ८ कठ्ठा १० धुर जमिनमा स्थायी भवन बनाउने तयारी गरेका छौं,’ एसपी पोखरेलले भने, ‘यसका लागि आवश्यक हातहतियार र जनशक्ति थपिँदै लगिने छ ।’

सिमापारी भारत सरकारले प्रत्येक ३ किमीको दुरीमा एससएसबीको बीओपी सञ्चालनमा ल्याएको छ ।

बुचीमा स्थापना गरिएको बीओपीको सशस्त्र प्रहरीका प्रदेश पाँचका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले बुधबार डीआईजी प्रधानले बीओपी स्थापनापछि यस क्षेत्रको शान्ति सुरक्षा थप मजबुत हुने बताए ।

बुचीमा स्थापना गरिएको बीओपीले पूर्वमा नवलपरासीको सीमाना एवं पश्चिम बगेला नालासम्म करिब ६ किलोमिटर दूरीमा पर्ने मुख्य सीमा स्तम्भ ५१० देखि ५१३ नम्बरको रेखदेख र सुरक्षा एवं संरक्षण गर्नेछ । रोहिणी गाउपालिकाको वडा नम्बर ४, ५, ६, ओमसतिया गाउँपालिकाको वडा नम्बर ६ र देवदह नगरपालिकाको वडा नम्बर १ कार्य क्षेत्र यस बीओपीको पर्ने छ ।

प्रकाशित : आश्विन १, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?