साता नपुग्दै पार्टी निर्णय उल्लंघन- समाचार - कान्तिपुर समाचार

साता नपुग्दै पार्टी निर्णय उल्लंघन

झन्डै साढे दुई महिनापछिको गुटगत रस्साकसीपछि गत भदौ २६ गते सम्पन्न नेकपा स्थायी कमिटी बैठकले विभिन्न नेताहरुका नाममा सञ्चालित प्रतिष्ठान र संघसंस्थाहरु गुटबन्दीको माध्यम बन्दै गएकाले प्रतिष्ठानहरुलाई शाखा गठन तथा कुनै पनि गतिविधि गर्न नदिने निर्णय गरेको थियो ।
बिनु सुवेदी

काठमाडौँ — नेताहरूका नाममा खुलेका प्रतिष्ठानका कारण गुटबन्दी बढेको भन्दै गतिविधि गर्न नदिने गरी स्थायी कमिटी बैठकले निर्णय गरेको सात दिन र अन्तरपार्टी निर्देशन जारी भएको तीन दिन नबित्दै निर्णयको उल्लंघन हुने भएको छ ।

प्रतिष्ठानलाई समानान्तर पार्टीको हैसियतमा देशव्यापी विस्तार गर्दा नेता–कार्यकर्ता गुटप्रति बढी इमानदार भएको भन्दै नेकपाले सर्कुलर जारी गरेको भए पनि मदन भण्डारी फाउन्डेसनले बिहीबारदेखि नै देशव्यापी कार्यक्रम गर्दै छ ।

संविधान र मदन भण्डारीलाई जोडेर देशैभरि गर्न लागिएको कार्यक्रमको बिहीबार तालिका सार्वजनिक गर्ने र शुक्रबारदेखि फाउन्डेसनको केन्द्रीय कार्यालयदेखि स्थानीय तहसम्मका कमिटीले आ–आफ्ना किसिमले कार्यक्रम आयोजना गर्ने फाउन्डेसनका केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । बरालका अनुसार असोज ३ गते फाउन्डेसनले केन्द्रीय कार्यालयमा विचार गोष्ठी राखेको छ ।

उक्त गोष्ठीमा १५ जनाजति प्रत्यक्ष रूपमा भेला हुने र अरूलाई देशव्यापी रूपमा सञ्चारका विभिन्न माध्यमहरूमार्फत जोड्ने तयारी भइरहेको फाउन्डेसनका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । ‘संविधान दिवसको अवसर पारेर १५ गतेसम्म रक्तदान, सरसफाइ, विचार गोष्ठीलगायत कार्यक्रम देशव्यापी हुँदै छ, काठमाडौं जिल्लाका ११ वटै पालिकाले पनि गर्दै छन्,’ निरौलाले कान्तिपुरसँग भने, ‘नेपालको संविधान र मौलिक अधिकार शीर्षकमा विचार गोष्ठी हुनेछ ।’ उक्त कार्यक्रममा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बोलाएको भए पनि आउने/नआउने निश्चित भइनसकेको उनले बताए ।

यस्तै फाउन्डेसनले नेपालको संविधान र जननेता मदन भण्डारी शीर्षकमा देशव्यापी निबन्ध प्रतियोगिता गर्ने तयारी गरेको छ । निरौलाका अनुसार निबन्धहरू १५ गतेसम्ममा इमेलमार्फत मगाइने र उत्कृष्ट तीन वटालाई पुरस्कार दिनुका साथै १० वटा निबन्ध पुस्तकका रूपमा निकालिनेछ । उनले फाउन्डेसनले कतै विभिन्न सहकारी र क्लब, कतै पार्टीसँग मिलेर र कतिपय ठाउँमा एक्लै कार्यक्रम गर्न लागेको बताए । उनले पार्टीको स्थायी कमिटी बैठक र अन्तरपार्टी निर्देशनले समेत मदन भण्डारी फाउन्डेसनलाई कार्यक्रम गर्न रोक नलगाएको बताएका छन् । ‘हामीले रचनात्मक कार्यक्रम र विचार गोष्ठीहरू गर्छौं,’ उनले कान्तिपुरसँग भने, ‘पुष्पलालका नाममा साथीहरूले तलतल गएर कार्यक्रम गर्ने र पार्टीमा दरार आउने काम गरेकाले मात्रै यस्तो कुरा आएको हो ।’

झन्डै साढे दुई महिनापछिको गुटगत रस्साकसीपछि गत भदौ २६ गते सम्पन्न नेकपा स्थायी कमिटी बैठकले विभिन्न नेताहरूका नाममा सञ्चालित प्रतिष्ठान र संघसंस्थाहरू गुटबन्दीको माध्यम बन्दै गएको भन्दै प्रतिष्ठानहरूलाई शाखा गठन तथा कुनै पनि गतिविधि गर्न नदिने निर्णय गरेको थियो । ‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरू परिचालित छन्, यीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन्, गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ,’ स्थायी कमिटीले पारित गरेको प्रस्तावमा उल्लेख छ, ‘सचिवालयले प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने र कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रष्ठिानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने ।’ यही प्रस्तावलाई अध्यक्षद्वयले अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर गरिसकेका छन् ।

फाउन्डेसनले भने प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘असोज ३ गते पर्ने संविधान दिवस र मदन भण्डारीका सन्दर्भमा फाउन्डेसनले पहिल्यै कार्यक्रम तय गरेको थियो,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर अन्तरपार्टी निर्देशनमा प्रतिष्ठानहरूले कुनै कार्यक्रम नगर्ने सर्कुलर जारी भएपछि के गर्ने भनेर साथीहरूले प्रधानमन्त्रीज्यूलाई सोध्नुभएको थियो, उहाँले गर्दा हुन्छ भनेपछि कार्यक्रम हुने निश्चित भएको हो ।’

सबैभन्दा धेरै गुटगत गतिविधि गरेको आक्षेप मदन भण्डारी फाउन्डेसनलाई नै लाग्दै आएको छ । गत माघ अन्तिम साता ओली पक्षधर नेताहरूले फाउन्डेसनमै भेला गरेर गुटको राजनीति गरेपछि पार्टी झन् संकटमा परेको आरोप अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै लगाएका थिए । गत साउन २१ गते पत्रकारहरूसँगको संवादमा दाहालले फाउन्डेसनमा गुटको भेला गरेर ओलीले ‘पोलिसी सिफ्ट’ गर्न खोजेको बताएका थिए । यद्यपि आन्तरिक सर्कुलरमा स्थायी कमिटीको पाँचौं बैठक सकिएको मिति भदौ २६ लाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) का रूपमा निर्धारण गर्ने उल्लेख छ । तर प्रधानमन्त्री ओलीकै संरक्षकत्वमा रहेको फाउन्डेसनले पार्टी निर्णयविपरीत कार्यक्रमको आयोजना गरेको हो ।

फाउन्डेसनका केन्द्रीय सदस्य बरालले भने जननेता मदन भण्डारीको विचारलाई प्रचारप्रसार गर्न आफूहरूलाई कसैले रोक्न नसक्ने बताए । ‘तपाईंले दिनदिनै खाना खान पाउनु हुन्न भनेर हुन्छ ?’ बरालले कान्तिपुरसँग भने, ‘मदन भण्डारी फाउन्डेसनले मदनका विचारहरू पक्षपोषण गर्न पाउँछ कि पाउँदैन ।

मुहान सुकाएर प्यास मेट्न नदिने कुरा हामीले मान्दैनौं । जनताको बहुदलीय जनवादले विचार प्रवाहलाई रोक्दैन । बहुलताले सबै विचारलाई फुल्न र फल्न दिनुपर्छ । यो चीजलाई रोकेर रोकिन्न ।’ त्यसैले संविधान र मदन भण्डारीको अन्तरसम्बन्धबारे देशव्यापी कार्यक्रम गर्न लागिएको उनले बताए ।

नेकपा नेताहरूले मदन भण्डारी फाउन्डेसन, पुष्पलाल प्रतिष्ठान, तुल्सीलाल फाउन्डेसन, मनमोहन अधिकारी स्मृति प्रतिष्ठान, भरतमोहन अधिकारी प्रतिष्ठानलगायत संस्था सञ्चालन गरिरहेका छन् । यस्तै पासाङ ल्हामु शेर्पा, रवीन्द्र अधिकारी, प्रकाश दाहाल, सहाना प्रधान, नेत्रलाल अभागीलगायतका नाममा पनि प्रतिष्ठान सञ्चालन भइरहेको छ । मदन भण्डारी, पुष्पलाल, तुल्सीलाल, पासाङ ल्हामु, झलनाथ खनाललगायत प्रतिष्ठानलाई सरकारले वार्षिक निश्चित रकम अनुदानसमेत दिँदै आएको थियो । यसपालि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फाउन्डेसनहरूका नाममा बजेट छुट्याएको छैन ।

पासाङ ल्हामु प्रतिष्ठानका नाममा रहेको घरमा नेकपाको पार्टी कार्यालय बसेको छ । यसअघि पनि बारम्बार फाउन्डेसनका नाममा गुटबन्दी मौलाएको भन्दै यस्ता संस्थाहरू बन्द गर्नुपर्ने माग नेकपामा बारम्बार उठ्दै आएको थियो । नेताहरूले पनि यसलाई गम्भीर रूपमा लिएको बताउँदै आएका थिए तर गुटबन्दी झन्–झन् मौलाउँदै आएको थियो । यसपालि पनि फाउन्डेसनका गतिविधिसमेत रोक्ने निर्णय भइरहेका बेला मदन भण्डारी फाउन्डेसनले देशव्यापी कार्यक्रम गर्ने तयारी गरेको हो ।

नेकपाले शुक्रबार बोलाएको सचिवालय बैठकमा पार्टी निर्णय उल्लंघन भएका विषयमा पनि छलफल चल्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘हामी स्थायी कमिटीको निष्कर्ष निर्णयको कार्यान्वयन प्रक्रियालाई अघि बढाउनका लागि सचिवालय बैठक बस्दै छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘निर्णय पहिले नै उल्लंघन भएको केही घटनाक्रम छन् भने त्यसबारेमा पनि छलफल हुन्छ ।’

सचिवालय बैठक पेरिसडाँडामा

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी हैसियत प्राप्त भएपछिको पहिलो सचिवालय बैठक नेकपा जनवर्गीय संगठनहरूको कार्यालय रहेको पेरिसडाँडामा बोलाइएको छ ।

शुक्रबार पेरिसडाँडामा बस्ने सचिवालय बैठक पार्टी एकीकरणपछिको पहिलो बैठक हो । यसअघि गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा केही समूहगत छलफलपूर्व माओवादीको केन्द्रीय कार्यालयसमेत रहेको पेरिसडाँडामा भएको थियो ।

नत्र नेकपाका अक्सर बैठक प्रधानमन्त्री निवास बालुवाटार र केही बैठक पार्टी कार्यालय धुम्बाराहीमा हुँदै आएका थिए । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्ति, पार्टीको सांगठनिक एकताका बाँकी काम सक्नेलगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबार प्रधानमन्त्री निवासमा अध्यक्षद्वयका बीचमा भएको छलफलले पार्टी सचिवालय बैठक बोलाउने निर्णय गरेको हो । नेकपाको गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टी एकताको काम असोजभित्र सक्ने निर्णय गरेको थियो ।

यस्तै संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा पार्टी सचिवालयका नेताहरूसँग परामर्श गरेर अध्यक्षहरूले निर्णय गर्नुपर्ने प्रस्ताव नेकपाले पारित गरेको छ । अध्यक्षद्वयको छलफलमा पनि संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको थियो । उनीहरूले बिहीबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि छलफल गर्ने तयारी गरेका छन् । शुक्रबार सचिवालय नेताहरूसँगको परामर्शपछि जतिसक्दो छिटो संवैधानिक तथा राजनीतिक नियुक्ति गर्ने नेताहरूको भनाइ छ ।

प्रकाशित : आश्विन १, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

फिर्ता ल्याउन सरकारले पहल नगर्दा चोरीका सम्पदा विदेशतिरै 

कला–सम्पदाको इतिहास र प्रमाणका आधारमा मैले डल्लास म्युजियममा रहेको नेपाली मूर्तिबारे आवाज उठाएकी हुँ । धन्य, यो अहिले ‘डिस्प्ले’ बाट हटाइएको रहेछ, फिर्ता लैजान नेपाल सरकारको तदारूकता अपेक्षित छ ।– इरिन एल थोम्सन, अमेरिकी प्राध्यापक
देवेन्द्र भट्टराई

काठमाडौँ — इराक–कुवेत युद्ध थामिएपछि तत्कालीन सभामुख रामचन्द्र पौडेलको नेतृत्वमा नेपालबाट एउटा संसदीय टोली कुवेत गएको थियो । त्यही भ्रमण टोलीलाई एक जना ब्रिटिस मूलकी महिलाले आफ्नो व्यक्तिगत म्युजियमको भ्रमणका लागि ताकेता गरिन् ।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत मंसिरमा प्रदर्शनमा राखिएको वासुदेव–कमलाजा मूर्ति । यो मूर्ति पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको थियो । न्युयोर्कस्थित जोन–जे कलेजमा ‘आर्ट क्राइम’ विषयमा प्राध्यापन गर्ने इरिन एल थोम्सनले अनुसन्धानमूलक लेख लेखेपछि बल्ल यो मूर्तिबारे चासो सुरु भएको थियो ।

ती महिलाको घरमा पुग्दा भित्री कोठाको भित्तामा सिसा फ्रेममा सजाएर राखिएको देखियो— हाम्रा भैरवको तान्त्रिक लुगा (ड्रेस) ।

उक्त टोलीमा सहभागी प्रतिनिधि रमेशनाथ पाण्डेले त्यसबारेमा चासो राखे । तर, तत्काल फलो–अप गरिएन वा सम्भव पनि भएन । किनभने कुवेतमा नेपाली दूतावास स्थापना भएकै थिएन । ‘त्यो हाम्रो संस्कृति र सभ्यतामा जोडिएको सम्पत्ति थियो तर कुवेतमा कसरी पुग्यो भन्ने सरोकार कहिल्यै पनि अघि बढेको मैले पाइनँ,’ पाण्डे सम्झन्छन् ।

पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको पुरातात्त्विक महत्त्वको ‘वासुदेव कमलाजा मूर्ति’ अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शन भएपछि मात्रै गत मंसिरमा यसबारे जानकारी बाहिर आयो । सन् १९८९ मा प्रकाशित लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत उल्लेख भएको यो मूर्ति सन् १९८४ मा चोरी भएको जनाइएको छ । ‘सांस्कृतिक सम्पत्ति आयात–निर्यातमा प्रतिबन्ध लगाउनेबारेको अभिसन्धिका आधारमा यो मूर्तिलाई नेपाल फर्काउन सकिने’ भन्दै पुरातत्त्व विभागले परराष्ट्र मन्त्रालय, इन्टरपोल निकाय आदिमार्फत पत्राचार पनि गर्‍यो । ‘पत्राचार गरिएको हो तर अहिलेसम्म कुनै ठोस जवाफ आएको छैन,’ विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पाण्डे भने ‘यसरी पत्राचार गरिएको हो तर जवाफ आएन’ भनेकै भरमा आफ्नो सम्पदाको पहिचान र अपनत्व कायम हुन नसक्ने बताउँछन् । सन् १९८५ को नोभेम्बरमा सम्पन्न संयुक्त राष्ट्रसंघको ४० औं महासभा बैठकमा आफूले पेस गरेको र अनुमोदनसमेत भइसकेको ‘सांस्कृतिक सम्पत्ति फिर्ता गर्नेसम्बन्धी प्रस्तावना’ का आधारमा पनि चोरिएर कहीं, कतै पुगेका सम्पदा फर्काउन सम्भव हुने पाण्डेले बताए । ‘यस्ता काममा आफ्नो सम्पदाको अवस्थिति टुंगो भइसकेपछि राष्ट्रसंघीय निकाय स्वयंले सम्बद्ध मुलुकलाई पत्राचार गर्दै सम्पदालाई उत्पत्ति भएको मुलुकमा फर्काउन सक्छ,’ उनले भने ।

झन्डै ३५ वर्षअघि काठमाडौं उपत्यकाबाट हराएर एकैचोटि ३ वर्षअघि अमेरिकाको मेट्रोपोलिटन कला संग्रहालयमा फेला परेका उमामहेश्वर र बुद्धको मूर्ति घर फर्काउन न्युयोर्कस्थित तत्कालीन महावाणिज्यदूत मधु मरासिनीले विशेष पहल गरेका थिए । यी दुवै मूर्ति ८ सय वर्ष पुराना हुन् । उमामहेश्वरको मूर्ति पाटनको टंगालहिटीमा र बुद्धको पूर्णकदको मूर्ति काठमाडौंको यट्खाटोलमा थिए । ‘यस्ता सम्पदामाथि आफ्नो हकदाबी

र प्रमाण दरिलो बनाएर प्रस्तुत हुन सक्नुपर्छ, यति गर्न सकेमा विदेशीहरू पनि यसरी चोरिएको वा हराएको सामग्रीलाई प्रदर्शनीमा राख्न वा लिलाम प्रक्रियामा लैजान हच्किन्छन्,’ हालै नेपाल सरकारको सचिव पदमा पुगेका मरासिनी भन्छन् ।

‘हामीले प्रमाण पुर्‍याएर आफ्नो सम्पदाको दाबी गर्नासाथै सम्बन्धित म्युजियम वा प्रदर्शनी निकायले त्यसलाई ‘डिस्प्ले’ बाट हटाएकै हुन्छन् । उमामहेश्वर र बुद्ध मूर्तिको हकमा पनि हाम्रो प्रामाणिक हकदाबीले काम गरेको थियो,’ उनले भने ।

सजिलै चोरिन्छ, भेट्नै मुस्किल

दुई वर्षअघि ‘नेपाल्ज स्टोलन गड्स’ शीर्षकमा एउटा शोधमूलक सामग्री अलजजिरा अनलाइन प्रिन्टमा आएपछि मुस्ताङका कतिपय सचेत र कला अनुरागीले आफ्नै गाउँठाउँबाट चोरी भएका दर्जनौं सम्पदा र मूर्तिबारे जानकारी पाए । उपल्लो मुस्ताङवासी प्रदेश सांसद इन्द्रधारा विष्टका बुझाइमा प्राकृतिक सौन्दर्य र सम्पदाका आधारमा संसारकै १० उत्कृष्टमध्येको एक पर्यटकीय गन्तव्य रूपमा मानिने लोमान्थाङ बाहिरी विश्वका लागि खुला गरिएपछि चोरी र सम्पदा असुरक्षा बढेको मानिँदै आएको छ । ‘मैले यहाँको सम्पदा सुरक्षा र चोरीका घटनाबारे प्रदेश संसद्मा कुरा उठाउँदै आएको छु,’ विष्टले भने, ‘तर कसैले व्यक्तिगत तहमा राखिएका बहुमूल्य सामग्री पनि कसैलाई बिक्री गर्छ अथवा उपहार दिन्छ भने त्यसलाई रोक्न मुस्किल छ । कतिपय मूर्ति वा सम्पदा हराएको र चोरिएको घटना यसरी व्यक्तिगत कारणले पनि बढेको देखिन्छ ।’

लोमान्थाङवासी अर्का सम्पदाप्रेमी राजु विष्टले दिएको सूचनामा ‘हराएका वा चोरिएका मूर्ति, थाङ्का, ग्रन्थ वा कुनै सम्पदा चोरिएर के–कता पुगेको छ, कसरी हराएको हो भन्ने थाहा पाउनै वर्षौं लाग्ने गरेको’ स्थिति कायमै छ । ‘झिलिङ गुम्बाको थाङ्का चोरिएको वर्षौं भयो । चराङ दरबारबाट हस्तलिखित त्रिपिटकको एक भाग चोरिएको छ । लुरी गुम्बाबाट पनि थाङ्का चोरिएको छ,’ विष्ट भन्छन्, ‘सम्पदा चोरिन्छ तर के–कसरी–किन थाहा पाउनै मुस्किल हुन्छ । चोरिएपछि फर्किएर आउला भन्ने आशा त एकदमै कम राखे हुन्छ ।’

उनका अनुसार यसरी केही बहुमूल्य वस्तु चोरिएर गैसकेपछि पनि थाहै नहुने अवस्था भनेको ‘अभिलेखीकरण’ नभएरै हो । बरु अहिले भने पुरातत्त्व विभागको सहयोगमा घामी, कागबेनी, नाम्गेलका गुम्बाको कागजात र अन्य दस्तावेज अभिलेखीकरण भइसकेको छ । ‘सरकारले तोकेको नियममा १ सय बर्ष पुराना सामग्रीहरू कहींकतै बाहिर लैजान दिइन्न तर कतिपय गुम्बाले भने झन् भित्री कुरा (रहस्य) बाहिर जान सक्छ भनेर अभिलेखीकरण गर्न चाहेकै छैनन्,’ उनी भन्छन् ।

सम्पदाविद् रवीन्द्र पुरीका अनुसार यस्ता प्राचीन मूर्ति वा सम्पदा के, कहाँ र कति चोरी भएको छ भन्ने यकिन शोध सामग्री वा रेकर्ड कहींकतै राखिएको छैन । न पुरातत्त्व विभागले यसको सांगोपांगो चित्र दिन सक्छ । लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) पछि यसरी बृहत् रूपमा अरू शोध हुन सकेकै छैन भने पनि हुन्छ । कला–सम्पदाबारेको यो शोध पुस्तकमा २ सय ७७ वटा नेपालबाट चोरिएका मूर्तिहरूको विवरण उल्लेखित छ ।

यतिसम्म कि पछिल्ला चोरी र सम्पदा हराइरहेका घटनाबारे सोधपुछ वा छानबिनसम्म पनि हुने गरेको छैन । जस्तो, गत मंसिर पहिलो सातामा भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको अष्टबाहुल नारायणको मूर्ति चोरिएपछि त्यसबारे कुनै प्रकारको अनुसन्धान हुन सकेकै छैन, जबकि त्यो मूर्ति सशस्त्र सुरक्षा प्रहरीकै घेरामा रहेको थियो । यो मूर्ति अहिलेसम्म न भेटिएको छ, न यसबारे खोजीनितीमा पुरातत्त्व विभाग र स्थानीय निकायले चासो नै दिएका छन् ।

वासुदेव कमलाजा मूर्ति कहाँ छ ?

पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको पुरातात्त्विक महत्त्वको वासुदेव–कमलाजा मूर्ति अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शित भएपछि गत वर्ष मंसिरमा मात्रै यसबारे चियोचर्चो सुरु भयो । कला–सम्पदाका अनुसन्धाता लैनसिंह

वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) कृतिमा समेत उल्लेखित यो मूर्ति के–कसरी, कहिले अमेरिका पुग्यो भन्ने सोधखोज भएकै छैन ।

न्युयोर्कस्थित जोन–जे कलेजमा ‘आर्ट क्राइम’ विषयमा प्राध्यापन गर्ने इरिन एल थोम्सनले पहिलोपटक डल्लास म्युजियममा प्रदर्शनीमा राखिएको मूर्तिबारे अनुसन्धानमूलक लेख लेखेकी थिइन् । उक्त लेखमा नेपालबाट चोरिएको ‘वासुदेव कमलाजा मूर्ति’ पहिलोपटक सन् १९९० मार्च २२ मा बहुराष्ट्रिय बिक्रेता कम्पनी ‘सुथबि’ ले न्युयोर्कमा लिलामीमा राखेको खबर आएको जानकारी दिँदै प्राध्यापक इरिनले यसबारेको प्रारम्भिक सूचना बाहिर ल्याउने काम पत्रकार कनक दीक्षितले गरेको जनाएकी छन् ।

न्युयोर्कमा एउटा निजी संग्रहालय ‘डेभिड टी ओस्ले ग्यालरिज अफ साउथ एसियन आर्ट’ मा रहेको उक्त मूर्ति ओस्ले स्वयंले डल्लास म्युजियमलाई ३० बर्षका लागि प्रदर्शनी भाडामा दिएको देखिन्छ । त्यही मूर्ति डल्लास म्युजियममा पुगेको र गत वर्ष नोभेम्बरमा प्रदर्शनमा आएपछि यसबारे प्राध्यापक इरिनले चोरिएको नेपालको सम्पदाबारे ट्वीटरमा उल्लेख गरेकी थिइन् । तर, न्युयोर्कमै प्रदर्शनमा आइसकेको र बितेको ३० वर्षसम्म ‘गुमनाम’ बनेको उक्त सम्पदाबारे अमेरिकामा रहेको नेपाली समाज र नेपालका कूटनीतिक नियोगहरूले कहिल्यै सरोकार राखेको देखिएन ।

‘मैले गत वर्ष नोभेम्बरमा यो नेपालको सम्पदाबारे म्युजियमको ध्यानाकृष्ट गरेकी थिएँ, म्युजियमले डिसेम्बरमा ‘यसबारेमा ध्यान दिइने’ भन्दै जवाफ दिएको थियो,’ प्राध्यापक इरिनले कान्तिपुरसँग भनिन् । उनका अनुसार चोरिएको यो मूर्तिबारे गत बर्ष नोभेम्बरमा सूचना बाहिर आएपछि डल्लास म्युजियमले यो मूर्तिलाई ‘डिस्प्ले’ मा राखेको छैन । म्युजियमले यो सम्पदाबारे नेपाली सम्बद्ध ‘अथोरिटी’ सँग सम्पर्क भइसकेको जानकारी दिएको छ । तर, यसरी ‘अथोरिटी’ भनिएको अमेरिकाको वासिङ्टन डीसी र न्युयोर्कस्थित कूटनीतिक नियोगहरू यो मूर्ति फर्काउने प्रक्रियामा उदासीन देखिन्छन् । अथवा, केही भइरहेको भए पनि जवाफ दिन रुचाउँदैनन् ।

यता पुरातत्त्व विभागका अधिकारीहरू यो मूर्ति फर्काउन परराष्ट्र र इन्टरपोलमार्फत ‘पत्राचार भए पनि जवाफ आइनसकेको’ कामचलाउ जवाफ मात्रै दिइरहेका छन् । नेपालले हस्ताक्षर गरिसकेको सांस्कृतिक सम्पदाको अवैध कारोबार नियन्त्रणसम्बन्धी राष्ट्रसंघीय अभिसन्धिले प्रमाणसहित दाबी पेस गर्न सकिए हराएका मूर्तिहरू विदेशबाट फिर्ता ल्याउन सकिने प्रबन्ध गरेको भए पनि यसमा तदारुकता खासै देखिन्न ।

अमेरिकी प्राध्यापक इरिन एल थोम्सनका बुझाइमा पनि ‘पछिल्ला वर्षमा कला–सम्पदाका बारेमा रुचि राख्ने धेरै अमेरिकी नागरिक विगतमा जस्तो कुनै संग्रहालय वा कलाको त्यत्तिकै प्रशंसा गर्न चाहँदैनन् । बरु त्यहाँ रहेको मूर्ति/पुरातात्त्विक सामग्रीको ‘ओरिजिन’ बुझेर मात्रै कलाको गहिराइमा छिर्न चाहन्छन् ।’ धेरै कुरा पढेर, बुझेर र देखेर कला पारखीहरू ‘सचेत’ बन्दै गएको बताउँदै उनले चोरिएका, खोसिएका वा अधिनस्थ बनाइएका मुलुकबाट लुटेर ल्याइएका पेन्टिङ/मूर्ति वा सम्पदाको ‘डरलाग्दो कथा’ का धेरै पात्र–प्रवृत्तिहरू बाहिर आइसकेका कारण उपयुक्त प्रमाण तथा हकदाबी जनाउनासाथ यस्ता सम्पत्ति घर फिर्ता हुन सक्ने स्थिति रहेको बताइन् ।

‘अमेरिकीहरू यसरी चोरिएका र उत्पत्ति मुलुकमा हराइरहेका सम्पदा आफ्ना म्युजियममा राखेर गौरवबोध गर्न सक्ने अवस्थामा छैनन्,’ थोम्सनले भनिन्, ‘यही कला–सम्पदाको इतिहास र प्रमाणका आधारमा मैले डल्लास म्युजियममा रहेको नेपाली मूर्तिबारे आवाज उठाएकी हुँ । धन्य, यो अहिले ‘डिस्प्ले’ बाट हटाइएको रहेछ, नेपाल फिर्ता लैजाने कुरामा नेपाल सरकारको प्रक्रिया र तदारुकता अपेक्षित छ ।’

अमेरिकामाझैं बेलायतमा पनि अड्केर बसेका नेपाली सम्पदा–मूर्तिको कथा अलग छ । झन्डै ९ सय वर्ष पुरानो इतिहास पुष्टि हुने १४ वटा पुरातात्त्विक महत्त्वका मूर्तिहरू बेलायतमा भेटिएको र तिनलाई फर्काउने प्रक्रिया अघि बढेको भन्दै २०७२ फागुनमा सूचना दिने पुरातत्त्व विभागले ती सम्पदा फिर्ता ल्याउन अझै सकिरहेको छैन ।

फ्रान्सको लियोंमा २०१५ को मार्चमा सम्पन्न हराएका पुरातात्त्विक सम्पदाको इन्टरपोल सम्मेलनमा बेलायत पुगेका नेपाली मूर्तिहरूबारे जानकारी गराइएको थियो । तिनमा उमामहेश्वरको १२ औं र १७ औं शताब्दीको मूर्ति तथा सूर्यको १४ औं शताब्दीको मूर्तिसहित १४ वटा सम्पदा छन् । यसमध्ये अन्वेषक वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा समेत समेटिएको पनौती, त्रिवेणीघाटको सूर्यको मूर्ति मात्रै घर फर्किएको सम्पदाविद् रवीन्द्र पुरीको जानकारीमा छ । त्रिवेणीघाटको सानो क्षेत्रमा रहेका ५ वटा पुरातात्त्विक महत्त्वका मूर्तिहरू सन् ८० कै दशकमा हराएका थिए, जसबारे अहिलेसम्म खोजपत्तो छैन ।

बेलायतमा रहेका भनिएका नेपाली मूर्ति–सम्पदाहरू फर्काइएको वा यसबारे कुनै प्रकारको पहल अघि बढेकोबारे पुरातत्त्व विभागलाई जानकारी नरहेको विभागका प्रवक्ता कुँवरले बताए । ‘बेलायतबाट यसरी ठूलो संख्यामा र पछिल्ला वर्षमा कुनै नेपाली मूर्ति/सम्पदा फिर्ता भएको रेकर्ड हामीसँग छैन,’ प्रवक्ता कुँवरले भने, ‘बेलायत वा अमेरिकामा रहेका नेपाली दूतावास अथवा अरू निकायले पनि हाम्रा पुरातात्त्विक सम्पदाको त्यहाँको अवस्थितिबारे केही जानकारी गराएका छैनन् ।’

प्रकाशित : आश्विन १, २०७७ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×