कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्व प्रधानन्यायाधीशको अनिरुद्रप्रसाद सिंहको निधन

रासस

काठमाडौँ — पूर्वप्रधानन्यायाधीशको अनिरुद्रप्रसाद सिंहको सय वर्षको उमेरमा निधन भएको छ ।

सप्तरीको राजगढ गाउँपालिका–२ बरदाही बननिया घर भई काठमाडौं बत्तीसपुतली बस्दै आएका सिंहको ओम अस्पतालमा मंगलबार राति उपचारको क्रममा निधन भएको थियो । उनको बुधबार पशुपति आर्यघाटमा दाहसस्ंकार गरिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रधान न्यायालयका प्रधानन्यायाधीश हरिप्रसाद प्रधानपछि सर्वोच्च अदालतका पहिलो प्रधानन्यायाधीश बनेका सिंह टंकप्रसाद आचार्यको मन्त्रिमण्डलमा पहिलोपटक कानून तथा संसदीय प्रबन्धमन्त्री पनि थिए ।

उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रथम प्रमुख आयुक्त र लोकसेवा आयोगका प्रथम अध्यक्षसमेत थिए । सरकारी सेवामा २००३ सालदेखि बडाहाकिमको पदबाट सेवा सुरु गर्दा सिंहको उमेर २७ वर्षको थियो भने प्रधानन्यायाधीश हुँदा ३७ वर्ष मात्र थियो । सिंह नेपालमा सबैभन्दा कम उमेरमा प्रधानन्यायाधीश हुने व्यक्ति पनि हुन् । उनी पछि राजपरिषद् र राजसभाको स्थायी समितिका सभापतिसमेत बनेका थिए ।

सिंहकै पालामा नेपाल कानून पत्रिकाको प्रकाशन सुरु भएको थियो । सर्वोच्च अदालतको हालको भवन पनि उनकै कार्यकालमा निर्माण भएको अधिवक्ता रामनारायण देवले बताए ।

राजा महेन्द्रले २०१९ असोज ६ गते दरबारभित्र खडा गरेको विशेष जाहेरी विभागको मुख्य पदाधिकारीमा पूर्वप्रधानन्यायाधीश सिंहलाई नै राखेका थिए । सिंहका श्रीमती र नेपाली सेनामा चिकित्सक रहेका एक मात्र छोराको निधनपछि बत्तीसपुतलीमा उनी सहयोगीसहित बस्दै आएका थिए ।

प्रकाशित : भाद्र ३१, २०७७ २३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?