होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाइएको निषेधाज्ञा हट्यो, सवारीमा जोर/बिजोर कायमै - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाइएको निषेधाज्ञा हट्यो, सवारीमा जोर/बिजोर कायमै 

उपत्यकामा पसल खोल्न पाइने, उपत्यका प्रवेश गर्न र बाहिर जान खुला
मातृका दाहाल

काठमाडौँ — उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए ।

दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर/बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर/बिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहने छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नभन्जेल खुला गरिएको छ । मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको उनले बताए ।

यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बारअनुसार खोल्ने पाउने गरी गरिएको आदेश बिहीबारदेखि लागू हुने छैन । उपत्यकामा सबैखाले पसल सबै बार खोल्न पाइने छ । यो पनि अर्को आदेश नहुँदासम्म स्वास्थ्यसम्बन्धि सावधानी अपनाएर खोल्न दिइएको हो ।

उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् । काठमाडौं जिल्ला प्रशासनले निषेध गरिएकाहरुका गतिविधिबारे सूचना प्रकाशित गरेको छ ।

सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ । चाडपर्व नजिकिएसँगै निषेधाज्ञामा लचकता अपनाइएको प्रशासनले स्रोतले बताएको छ ।


प्रकाशित : भाद्र ३१, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्

डिजेल र मटितेलको मूल्य १ रुपैयाँ घट्यो

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

‘राति १२ बजेदेखि डिजेल र मटितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता उपाध्यायले भने, ‘नयाँ मूल्यअनसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ ।’

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।



प्रकाशित : भाद्र ३१, २०७७ १९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×