नेकपाले बोलायो शुक्रबार सचिवालय बैठक, मन्त्रिपरिषद् पुनर्गठन लगायत एजेन्डा

काठमाडौँ — सत्तारुढ नेकपाले मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने सूचना आएको सचिवालयका एक सदस्यले बताए । 

नेकपाले बोलायो शुक्रबार सचिवालय बैठक, मन्त्रिपरिषद् पुनर्गठन लगायत एजेन्डा

बुधबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि सचिवालय बैठक तय भएको हो । ती सदस्यका अनुसार मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणका बाँकी काम छलफलका एजेन्डा रहेका छन् । भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको छ ।

पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको पार्टी कार्यालय रहेको पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । भदौ ९ मा सचिवालय बैठक नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दाहालको अध्यक्षतामा बसेको थियो । त्यसबाहेक सचिवालयका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए । पेरिसडाँडामा रहेको कार्यालयमा पनि दुई अध्यक्षका लागि कार्यकक्ष रहेका छन् ।

अध्यक्ष दाहाल बेलाबेला त्यहाँ पुगे पनि अर्का अध्यक्ष ओली भने पार्टी एकता घोषणा हुँदाको दिनबाहेक पेरिसडाँडा पुगेका थिएनन् ।

प्रकाशित : भाद्र ३१, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?