कक्षा १२ को परीक्षा अनलाइन वा घरपायक गर्न प्रस्ताव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षा १२ को परीक्षा अनलाइन वा घरपायक गर्न प्रस्ताव

सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन वा विद्यार्थीको घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनलाइन वा विद्यार्थी रहेकै स्थानबाट परीक्षा संचालन गर्न प्रस्ताव पठाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । शिक्षा मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेर स्वीकृत गराएपछि मात्र कार्यान्वयनमा आउनेछ । कुल एक सय पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा गर्ने बोर्डले जनाएको छ । विद्यार्थीले कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा ४० पूर्णाङ्क र २० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा गरिने बोर्डले जनाएको छ ।

‘फेस टु फेस’ विधिबाट परीक्षा लिन सम्भव नहुने देखिएकाले रोकिएको परीक्षा गर्न यस्तो प्रस्ताव गरिएको हो । यसको विकल्पमा परम्परागत विधिमा विद्यार्थीलाई घरपायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने प्रस्ताव पनि तयार पारिएको छ । यसको लागि बोर्डले विद्यार्थी रहेको स्थानको तथ्याङ्क संकलन गरिरहेको छ । ‘अनलाइनलाई प्रयोग गरेर परीक्षा लिन सकिन्छ भनिएको हो,’ शर्माले भने, ‘विद्यार्थीलाई अनलाइनबाट प्रश्न दिने र खुला विधिबाट उत्तर लेखेर पठाउने मोडल हुन्छ ।’ प्रस्ताव स्वीकृत भइसकेपछि मात्र परीक्षा संचालनसम्बन्धी विस्तृत ढाँचा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । प्रश्नपत्र अनलाइनबाट पठाएपनि उत्तर बुझाउन सूचना प्रविधिको अन्य साधन पनि प्रयोग गर्न सकिने भनिएको छ ।

वैशाख पहिलो साता संचालन हुने कक्षा १२ को परीक्षा लकडाउनका कारण स्थगित गरिएको थियो । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् । कक्षा १० र ११ को परीक्षा भने विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा सम्पन्न गरिएको थियो । कक्षा १२ विद्यालय तहको अन्तिम कक्षा भएकाले बोर्डले नै परीक्षा संचालन गर्नुपर्ने पदाधिकारीहरुले बताउँदै आएका छन् ।

शिक्षा ऐनले कक्षा १२ को परीक्षा बोर्डले परम्परागत विधिबाट सम्पन्न गर्ने व्यवस्था गरेकाले फरक तरिकाले परिक्षा गराउन मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ । मन्त्रिपरिषद्बाट निर्णय भएर नआएसम्म कुन विधिबाट परीक्षा संचालन हुन्छ भनेर एकीन गर्न नसकिने बोर्डका अधिकारीहरुले बताए ।

प्रकाशित : भाद्र ३१, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

शवबाट नमुना निकालेर पीसीआर परीक्षण गर्नुपर्दैन : स्वास्थ्य मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — शंकास्पद मृत्यु भएकाको नमुना निकालेर पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमूना निकाली पीसीआर परीक्षण नगर्ने र नगराउने निर्देशन दिएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहंसस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताए । उनले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी गराए ।

त्यसैगरी मन्त्रालयले सबै प्रयोगशालाले कोभिड १९ को परीक्षणका लागि लिएका नमूना नेगेटिभ नतिजा आएकाहरु १ महिना र पोजिटिभ आएकाहरु ३ महिनासम्म स्टोर गर्न निर्देशन दिएको छ । प्रवक्ता डा. गौतमले पीसीआर परीक्षण रिपोर्ट दिँदा सिटिभ्यालु समेत उल्लेख गरेर दिनुपर्ने प्रयोगशालालाई आग्रह गरेका छन् ।

सिटी भ्यालुले कति चक्रमा शंकास्पद नमूनाको भाइरसको अवशेष देखियो भन्ने जानकारी दिन्छ । मन्त्रालयले क्रिटिकल केयर विज्ञसहित टोली गठन गरी विभिन्न अस्पतालको सघन उपचार कक्षमा दिइएको सेवाका बारे पनि अनुगमन गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×