बहराइनका  राजकुमार हिमाल आरोहण गर्न नेपाल आइपुगे

राजकुमारसहितको १८ जनाको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने
सुरज कुँवर

काठमाडौँ — खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट त्यहाँको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ ।

बहराइनका  राजकुमार हिमाल आरोहण गर्न नेपाल आइपुगे

बहराइनस्थित नेपाली दूतावासका अनुसार, यो टोली बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे विशेष विमानबाट नेपालका लागि प्रस्थान गरेको थियो ।

तस्बिर : इलिट जोशी/कान्तिपुर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

यो आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किने छ ।

तस्बिर : इलिट जोशी/कान्तिपुर

शेर्पाका अनुसार, यो टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन । त्यसपछि यी १८ जना काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् । त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्नेछन् ।

दूतावासका अनुसार, यो टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन् । पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीका अनुसार, यो टोलीले करिब २ महिना नेपाल बिताउने छ ।

तस्बिर : इलिट जोशी/कान्तिपुर

दुइटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन यामममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य रहेको छ । सीईओ रेग्मीले यो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा आरोहण गर्न लागेको बताए ।

तस्बिर : इलिट जोशी/कान्तिपुर

सीईओ रेग्मीले कोभिड–१९ का कारण सुस्ताएको नेपालको पर्यटन बजारलाई यो हिमाल आरोहण अभियानले मध्यपूर्वलगायत संसारभर प्रचारमा सहयोग पुर्‍याउने बताए ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ३१, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?