५५ वर्षीयाको भरमा १५ जनाको परिवार

बेलमायाका आठ सन्तान कान सुन्दैनन्, २० वर्षदेखि पति पक्षाघातले थलिएका छन्, छाक काटी–काटी परिवार धानेको उनी बताउँछिन् ।
सन्जु पौडेल

सैनामैना, रुपन्देही — ब्लकको पर्खालमाथि टिनले छाएको लामो घर । सडक हुँदै आउजाउ गर्नेहरू एकछिन अडिएर हेर्ने गर्छन् । घरबाहिर उभिएका सबै इसारामा एकअर्कासित कुराकानी गरिरहेको देखेपछि बटुवाले पनि चासो दिने गरेका हुन् । कसैले केही जिज्ञासा राख्यो भने सबै ट्वाल्ल पर्छन् ।

५५ वर्षीयाको भरमा १५ जनाको परिवार

त्यसपछि उत्तर दिन ५५ वर्षीया बेलमाया बस्नेत टुप्लुक्क आउँछिन् । ‘मेरा ४ छोरा र ४ बुहारीले कान सुन्दैनन्,’ उनले भनिन्, ‘के कुरा हो मसित गर्नुस् ।’

सैनामैना नगरपालिका–३ की बेलमायाका दुःख यतिमै सीमित छैनन् । उनका श्रीमान् कर्णबहादुर २० वर्षदेखि पक्षाघात (प्यारालाइसिस) ले थलिएका छन् । ‘श्रीमान्को स्याहार पनि मैले नै गर्नुपर्छ,’ उनले भनिन्, ‘छोराबुहारीको लालनपालनको जिम्मा पनि मेरै हो ।’ जेनजेत हुर्काएका सन्तानले कान नसुन्ने हुँदा कुनै काम पाएका छैनन् । बागलुङको हुदिसिर काफलठुटादेखि बसाइँ आएका उनको परिवारमा १५ जना छन् ।

कान्छा छोरा विकासको दुर्घटनामा मृत्यु भएको ४ वर्ष भयो । उनी सुन्न र बोल्न सक्थे । वैदेशिक रोजगारीमा जान राहदानी बनाएर ठिक्क परेका थिए । ‘मोटरसाइकल एक्सिडेन्टमा परेर बित्यो,’ आमा बेलमायाले भनिन्, ‘एउटा त बोल्न सक्छ । उसैले सबैको भाव बुझेर केही गर्ला भन्ने लाग्थ्यो, त्यसैले पनि छाडेर गयो ।’

बेलमायाका श्रीमान् शिक्षक थिए । उच्च रक्तचापका कारण प्यारालाइसिस भयो । उपचारका लागि बुटवलसम्म ल्याएको उनले बताइन् । ‘एक वर्षसम्म माइतीमा बसेर उपचार गराउँदा ३ लाख रुपैयाँ सकियो,’ उनले भनिन्, ‘तर, सजिलो गरेर हिँड्न र बोल्न छाड्नु भो ।’ चिन्ता हुँदा एक्लै बसेर रुने कर्णबहादुरको त्यसपछि जागिर छुट्यो । श्रीमान् निको नभएपछि माइतीले बागलुङ छाडेर यतै आउन भनेपछि पहाडको जग्गा बेचबिखन गरेर छोराहरू लिएर आएको बेलमायाले बताइन् ।

दाजुभाइको सहयोगले गंगानगरमा सानो घर बनाएर परिवार बसिरहेको उनले बताइन् । ‘४ दाजुभाइमा ३/३ वर्षको अन्तर छ,’ उनले भनिन्, ‘जेठा छोरा चेतबहादुर ३१ वर्षका भए ।’ चेतबहादुर गारो लगाउने काम गरेर केही कमाइ गर्थे । ‘लकडाउन भएपछि काम रोकिएको छ,’ उनले भनिन्, ‘घरमै दिन काट्छन् ।’ जेठा छोरा जन्मिएको केही समयपछि शरीरमा बिबिरा आएका थिए । जाँच गराई औषधि खुवाइन् । तर छोरा बोलेनन् । ‘डाक्टरकहाँ लैजाँदा औषधिको असरले कान नसुन्ने भएको बताए,’ उनले भनिन्, ‘त्यसपछि जन्मिएका छोराहरू पनि नबोलेपछि सोधखोज गर्नै छाडेँ ।’

बागलुङबाट बिहेवारी गरी ल्याएकी जेठी बुहारी हरिकलामा लुगा सिलाउने सीप छ । तर उनी पनि कान सुन्दिनन् । त्यसले गर्दा कसरी लुगा सिलाउने डिजाइन बताउन सक्दिनन् । त्यसैले उनीमाथि भरोसा नहुँदा काम पाउँदिनन् । घरका सदस्यको लुगा सिलाउन भने अन्त जानुपर्दैन । जेठा छोराबुहारीबाट दुई सन्तान छन् । उनीहरू बोल्छन् । मेलापात र मजदुरी गरेरै परिवार पालिरहेकी बेलमायालाई सघाउन जेठा छोरा सँगसँगै जाने गर्थे । तर अहिले उपाय हरायो । ‘उमेर पनि बूढो हुँदै गयो,’ उनले भनिन्, ‘थाकें, कति सकुँ, एक्लै सबैतिर ।’ परिवार यहाँ आएपछि भैरहवास्थित बहिरा विद्यालयबाट आएका शिक्षकले पढाइदिने भनेपछि ३ छोरालाई लगेर गइन् । दुई छोराले एसएलसी उत्तीर्ण गरे । जेठा १७ वर्षका भइसकेकाले पढ्न गएनन् । ७ कक्षा पढ्दापढ्दै माइला छोराले पढाइ छाडे र कामको खोजी गर्दै काठमाडौं गए ।

एसएलसी पूरा गरेपछि साइँला र काइँला छोरा पनि काठमाडौं गए । उनीहरूले १२ कक्षासम्म पढ्ने मौका पाए । पढाइ पूरा गरेपछि काम खोज्दा नपाएर भौतारिएको दुःखेसो पोखे । ‘बल्लतल्ल घरबाट टाढा गएर पढियो,’ साइँला छोरा दानबहादुरले भने, ‘कान नसुन्ने भएकाले काम पाइएन ।’ आफूहरूलाई मिल्दोजुल्दो काम नहुने र कतै अवसर पाइहालेमा केही समयमै बहाना बनाएर साहुले निकालिदिने गरेको उनले सुनाए । पढ्दापढ्दै एउटै क्याम्पसकी साथी सरुसँग प्रेम बस्यो । त्यसपछि उनीहरूले विवाह गरे । अहिले एक छोरा जन्मिएका छन् । तर बाबुआमा दुवै कामविहीन छन् ।

माइला छोरा शेरबहादुर र बुहारी अनु काठमाडौंमै रोकिएका छन् । बन्दाबन्दीअघि कामको खोजीमा राजधानी पसेका उनीहरू घर आउने पैसासमेत नभएर रोकिएको भन्दै फोनमा बिलौना गर्ने गरेको बेलमायाले बताइन् । ‘पहिले झोला फ्याक्ट्रीमा काम गर्थे,’ उनले भनिन्, ‘कोरोनाले सबै बन्द भएपछि काम नपाएर आत्तिएका छन् ।’ उनीहरूको साथमा एक नातिनी रहेको उनले बताइन् । साइँला दानबहादुरले गाडीको ग्यारेजमा केही समय काम सिकेको बताए । ‘सिक्दै गर्दा बन्दाबन्दी भएपछि न काम पूरा भयो, न त जागिर पाइयो,’ उनले भने, ‘कान नसुने पनि गाडी चलाउने रहर छ । गाडीको ऐना हेरेर सडकमा गुडाउँछु ।’

उनीसित अहिले स्कुटरको चालक अनुमतिपत्र छ । कहीं मौका पाएमा गाडी ग्यारेजमा काम गरेर गाडी चलाउन सिक्ने उनले बताए । उनकी श्रीमती अनु हँसिली स्वभावकी छन् । काठमाडौंको भक्तपुरकी उनले दानबहादुरको परिवारमा आएपछि आगोमा पकाउन सिकेको सुनाइन् । ‘माइतीमा ग्यास चुलो थियो,’ उनले भनिन्, ‘आगो बाल्न नआएर हाँसो लाग्थ्यो ।’ अहिले पनि खासै काम गर्न नजान्ने अनुले बताइन् । सधैंभरि आज कसरी, भोलि कसरी होला भनेर गुजारा नचल्ने भन्दै उनले आफूहरूलाई सुहाउँदो सीप सिकाइदिए मिहिनेत गरेर अघि बढ्ने बताइन् ।

काइँला छोरा तेजेन्द्र अन्य दाजुभाइभन्दा फरक छन् । १२ कक्षा पढेपछि वेटरको तालिम लिएका उनले केही समय बुटवलको एउटा क्याफेमा काम गरे । क्याफेका सञ्चालक परिवर्तन भएपछि उनको जागिरसमेत गयो । २१ वर्षीय उनले गत वर्ष काठमाडौंबाटै प्रेम विवाह गरे । श्रीमती सोना पनि २१ वर्षकै पुगिन् । १२ नै पढेकी छन् । शृंगार गरेर बस्न रुचाउने उनी पनि सिलाइकटाइबाटै अघि बढ्न चाहन्छिन् ।

बेलमायाका छोराले स्थानीय सरकारबाट गाईभैंसी र बाख्रापालनका लागि सहयोगको अपेक्षा गरेका छन् । पाँच लाख रुपैयाँ ऋण गरेर बेलमायाले एक महिनाअघि घरपछाडिको जग्गामा गोठ बनाइदिएकी छन् । ३ वटा भैंसी र ३ वटै बाख्रा छन् । बाख्रा माइतीबाट ल्याएको र भैंसी ऋण गरी किनेको उनले बताइन् । भैंसी पालेर दूध बेच्न सके पनि बिस्तारै जीवनस्तर सुधार्न सकिन्छ कि भन्ने आशा रहेको भन्दै उनले आफू नमर्दै छोराबुहारीलाई गरिखान सक्ने बनाइदिने इच्छा रहेको बताइन् ।

मासिक ३० हजार रुपैयाँ बढी खर्च लाग्ने उनको परिवारका ८ जना काम गर्न सक्ने उमेरका भए पनि कान नसुन्ने भएकाले घरमै बस्ने, दुःख र व्यथाका गुन्टा थुपार्ने काम भएको बेलमायाको भनाइ छ । आफूहरू बहिरा भएकामा बाहिरी मान्छेले यिनीहरू त यस्ता भन्नेबाहेकको पीडा भने नरहेको छोराबुहारीले बताए । हातखुट्टा दरा छन् । केही गर्न सक्छौं भन्ने आत्मविश्वास पनि रहेको छोराहरूले बताए । पढाइअनुसारको सामान्य मानिससरह काम गर्न नसक्दा सबै मौका र अवसर गुमाएको प्रति भने उनीहरूलाई गुनासो छ । छाक काटीकाटी खान बाध्य यो परिवारमा मीठो तरकारी खान विशेष दिन नै पर्खनुपर्ने बाध्यता छ ।

बेलमायाको परिवारका बारेमा आफूहरूलाई जानकारी भएको र अब नगरपालिकामा बजेटसमेत अपांग व्यक्तिका लागि कार्यक्रम भनी छुट्याइने सैनामैना–३ का वडाध्यक्ष रत्नबहादुर पौडेल खत्रीले बताए । ८ मध्ये केहीले कार्डका आधारमा मासिक १ हजार ६ सय रुपैयाँ भत्ता पाउने गरेको भन्दै उनले यसअघि काठमाडौंमा इलमका लागि गएका उनीहरूलाई कोरोना कहरले घर आउने बनाएपछि अब यहीं बसेर केही गर्ने मनसाय बनाएको र नगरपालिका सघाउन तयार रहेको बताए । यस्तो समस्या जेनेटिक भएको नाक, कान, घाँटी विशेषज्ञ डा. प्रकाश बस्नेतले बताए ।

प्रकाशित : भाद्र ३१, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?