दुर्गममा अनलाइन कक्षा पढाउनै सकस

अर्घाखाँची, रुकुम पूर्व — कोभिड–१९ का कारण स्कुल बन्द भएपछि उनी ३ महिनादेखि घरमै बसेर अनलाइन कक्षा लिइरहेकी छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ शान्ति माविमा कक्षा १० मा पढ्ने पल्पसा पाण्डेलाई इन्टरनेटको समस्या छैन ।

दुर्गममा अनलाइन कक्षा पढाउनै सकस

सदरमुकामदेखि करिब ८ किमि दूरीमा रहेको उनको गाउँ बाँगीमा इन्टरनेटले राम्रोसँग काम गर्छ । दैनिक ४ घण्टा शिक्षकले पढाउँछन् । त्यहीँ नै होमवर्क दिन्छन् । महिनाको एक दिन घरमै शिक्षक आएर पढाइबारे सोधखोज गर्छन् । ‘स्कुलमा गएजस्तो त घरमा बसेर हुँदैन तर पनि वैकल्पिक कक्षा ठीकै छ,’ पाण्डेले भनिन्, ‘स्कुल जाँदा पूरै ध्यान पढाइतिर हुन्थ्यो । अहिले घरमा बस्दा कामधन्दातिर पनि ध्यान दिनुपर्ने भएको छ ।’

मालारानीकै शान्ति माविमा कक्षा ९ मा सुरज पाण्डे प्रथम भए । एसईई विशिष्ट श्रेणीमा उत्तीर्ण हुने उनको धोको छ । एकातिर पढाइको चिन्ता, अर्कोतिर कोरोना संक्रमित भइने हो कि भन्ने त्रासले राम्रोसँग पढ्न नपाएको उनले बताए । ‘अनलाइन कक्षा भए पनि बेलाबेलामा नेटको स्पिड स्लो हुने, अवरुद्ध हुने हुँदा राम्ररी पढ्न पाइएको छैन,’ उनले भने ।

पाण्डेको जस्तै अनलाइन कक्षा पढ्ने मन शीतगंगा नगरपालिका–१० सामकोटका विमल अधिकारीको पनि छ । तर घरमा फोनले राम्रोसँग काम गर्दैन । अग्लो डाँडोमा गएर फोनमा कुरा गर्नुपर्छ । इन्टरनेटको सुविधा नै छैन । ‘स्कुल खुल्दा घरबाट जनजागृति माविसम्म ३ घण्टा पैदल हिँडेर जान्थें,’ उनले भने, ‘अहिले त स्कुल नगएकै ५ महिना भयो ।’

जंगलको बीचमा अधिकारीको घर छ । त्यहाँ पुग्न मोटरबाटो छैन । कक्षा ८ को परीक्षा दिएपछि स्कुल बन्द भयो । रिजल्ट आउँदा उनी पास भए । तर कक्षा ९ मा पाइला टेक्नै पाएका छैनन् । ‘सरले फोन गरेर पाठ पढ्नु, केही नबुझे फोन गरेर सोध्नु भन्नुहुन्छ,’ उनले भने, ‘कसरी सोध्नु ? फोनै लाग्दैन । फोनमा कुरा गर्न घरीघरी डाँडामा उक्लिनुपर्छ ।’

नयाँ कक्षा, नयाँ पाठ भएकाले घरमा बसेर पढाइ नभएको शीतगंगा–१० बहखोरकी कक्षा १० मा पढ्ने पार्वता भट्टराईले बताइन् ।

सात महिनापछि खुल्दै

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका विद्यालय असोज १ गतेबाट खुल्ने भएका छन् । गत चैत ११ गतेदेखि यहाँका सामुदायिक विद्यालय बन्द छन् । पछिल्लो कार्यपालिका बैठकले असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै विद्यालय खुल्ने भएका हुन् ।

फाइल तस्बिर : सिस्ने गाउँपालिका–१, भट्टेचौरको एक विद्यालय र विद्यार्थीहरु

वैकल्पिक शिक्षाको सम्भावना नभएपछि विद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् । ‘यताको भौगोलिक अवस्था विकट छ, फोनसमेत नलाग्ने ठाउँमा अरू विकल्पबाट पठनपाठन सम्भव नहुने भएपछि विद्यालय खोल्ने तयारी भएको हो,’ उनले भनिन् ।

कोरोनाको संक्रमण तीव्र फैलिए त्यसबारेमा पुनःविचार गर्ने नत्र असोज १ गतेदेखि निरन्तर पठनपाठन हुने उपाध्यक्ष शाहीले जानकारी दिइन् । त्यसको तयारीका लागि १० बाल विकाससहित ६४ विद्यालयलाई पत्राचार गरिसकिएको छ ।

नजिकका शिक्षकहरूलाई एक साता र टाढाकालाई दुई साता क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणपछि मात्रै विद्यालयमा खटाइनेछ । स्थानीय शिक्षकले विद्यालय खोल्नका लागि तयारी गरिसकेका छन् । विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणका काम यसअघि नै भइसकेको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?