लामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्‍चालन हुने, ५० प्रतिशत भाडा वृद्धि- समाचार - कान्तिपुर समाचार

लामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्‍चालन हुने, ५० प्रतिशत भाडा वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहका आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने छ ।

आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने छ ।

लामो दुरीको यातायात सञ्‍चालनका लागि सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने निर्णय गरेको छ । सर्तअनुसार ५० प्रतिशतमात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ पङ्तीको सिटमा १ जनामात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ । संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनले आवश्यक निर्णय गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति दिएको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित १ र २ रुपैयाँको सिक्का निकाल्न स्वीकृति दिने निर्णय गरेको बताएका हुन् ।

यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्ना गर्न दिने निर्णय पनि गरेको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×