कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रहरीमा नयाँ आचारसंहिता : अनुमति नलिई विदेशीलाई भेट्न बन्देज, विपरित लिंगीलाई धाप मार्न नपाइने

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले संगठनमा कार्यरत सबै दर्जाका लागि लागू हुने गरी पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ । संगठनभित्र अनुशासनहीन गतिविधि नियन्त्रण र मर्यादित एवं व्यवसायिक आचरण कायम गराउन भन्दै‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’ल्याइएको हो । 

प्रहरीमा नयाँ आचारसंहिता : अनुमति नलिई विदेशीलाई भेट्न बन्देज, विपरित लिंगीलाई धाप मार्न नपाइने

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (एआइजी) प्रद्युम्न कार्की अध्यक्ष रहेको तथा एसएसपी मुकुन्द आचार्य, एसपीहरु भूपेन्द्र खत्री, शिवकुमार श्रेष्ठ र राजन अधिकारी तथा डीएसपीद्वय गोविन्द थापा क्षेत्री र निर्मल बूढाथोकी सदस्य रहेको समितिले कार्यदेशको मस्यौदा बनाएको थियो । त्यही मस्यौदा प्रहरी महानिरीक्षकले कार्यादेशको रुपमा जारी गरेका हुन् । प्रहरी नियमावली २०७१ को नियम १ सय ९६ मा प्रहरी महानिरीक्षकले आवश्यक ठानेमा आन्तरिक कार्यविधि वा आचारसंहिता लागू गर्न सक्ने व्यवस्था छ ।

हालै जारी गरिएको कार्यादेशअनुसार सबै दर्जाका प्रहरीले आफ्ना विपरित लिंगीका प्रहरीलाई गलत मनसायले छुने, स्पर्श गर्ने, धाप मार्नेलगायतका गतिविधि गर्न पाउने छैनन् । अनुमति बिना विदेशीसँग भेटघाट गर्न पाइने छैन । अनुमति बिना विदेशी कूटनीतिक नियोग, कूटनीतिज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाहीको भागिदार हुनु पर्ने व्यवस्था गरिएको छ । यस्तै अनुमति बिना सञ्चारमाध्यममा लेख रचना तथा विचार प्रकट गर्न पनि पाइने छैन । राजनीतिक आस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा असर पुग्ने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित विपरित हुनेलगायत संगठनले निषेध गरेका धारणा तथा अभिमतमा प्रतिक्रिया, लाइकजस्ता कृयाकलाप गर्न पाइने छैन ।

जाति/भाषा, लिंग, सम्प्रदाय, धर्म, शारिरिक बनावट विशेषका आधारमा कसैलाई होच्याउन वा मानमर्दन गर्न पाइने छैन । सेवाग्राहीसँग आग्रह/पूर्वाग्रह राखेर व्यवहार वा कार्यसम्पादन गर्न पाइने छैन । शिष्ट, सभ्य र विनम्र भएर सेवाग्राहीसँग व्यवहार गर्नुपर्ने छ । सेवाका क्रममा महिला/बालबालिका तथा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई पहिलो प्राथमिकतामा राख्नु पर्नेछ । प्रहरीले आफ्नो पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न वा मन्तव्य दिन वा टिकाटिप्पणी गर्न पाइने छैन । यस्तै, सञ्चार माध्यममा सूचना चुहाउन, सम्प्रेषण गर्न वा व्यक्तिगत लोकप्रियताका लागि सञ्चार माध्यमको प्रयोग गर्न पनि कार्यादेशले निषेध गरेको छ ।

यसअघि प्रहरीमा सेवा समूह र कार्यालयपिच्छेका आचारसंहिता लागू भएका थिए । पछिल्लोपटक आएको यो कार्यदेश/आचार संहिताले साधारण, स्वास्थ्य, इन्जिनियरिङलगायत सबै समूहलाई प्रतिनिधित्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?