१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कालापानी लगायत अतिक्रमित भूमि पाठ्यपुस्तकमा

सुदीप कैनी

काठमाडौँ — भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सीमा क्षेत्रका बारेमा विद्यालय तहमा नै पठनपाठन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखिका विद्यार्थीलाई सीमा सम्बन्धी जानकारी दिन स्वअध्ययन पुस्तिका तयार पारेको हो ।

कालापानी लगायत अतिक्रमित भूमि पाठ्यपुस्तकमा

केन्द्रका महानिर्देशक केशव दाहालले स्वअध्ययन सामग्रीलाई पाठ्यक्रमसँग जोडेर पनि पठनपाठन गराउन सकिने बताए । नेपालको भू-भाग र सिमाना सम्बन्धी जानकारी दिने उद्देश्यले पुस्तक तयार पारिएको केन्द्रले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुस्तक सार्वजनिक गरे । नेपालको निर्माण र एकीकरण, सिमाना जोडिएका छिमेकी मुलुकहरूसँगको सम्बन्ध, सिमाना र सिमाना सम्बन्धी विवाद रहेका स्थानहरू र विवाद समाधानका उपायहरूका सम्बन्धमा विद्यार्थीलाई जानकारी दिन पुस्तक तयार पारिएको उनले बताए । ‘सिमानाको संरक्षण र व्यवस्थापन गर्ने, राष्ट्रको भौगोलिक अखण्डतालाई अक्षुण राख्‍ने सम्बन्धमा आवश्यक ज्ञान, सिप र धारणाको विकास गर्न सहयोग गर्ने अपेक्षाले पुस्तक तयार पारिएको हो,’ उनले भने ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले पुस्तकमा कालापानीसहितको नक्सा प्रकाशन र पुस्तक लेखन गर्न गत असार १९ गते स्वीकृति दिएको थियो । विभिन्न मन्त्रालय र विज्ञहरुको संलग्नतामा पुस्तक तयार पारिएको केन्द्रले जनाएको छ । विद्यार्थी र आम सर्वसाधरणलाई पनि सीमा सम्बन्धी जानकारी गराउन पुस्तक आवश्यक रहेका मन्त्री पोखरेलले औंल्याए ।

नोभेम्बर २०१९ मा भारतले कालापानी सहितको नक्सा सार्वजनिक गरेपछि नेपालमा असन्तुष्टि बढेको थियो । सरकारले ती क्षेत्र समेटिएको नक्सा प्रकाशित गरिसकेको छ । नेपालको पश्चिमोत्तर सीमाक्षेत्रका लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमण र यससँग सम्बन्धित ऐतिहासिक तथा अन्तर्राष्ट्रिय मान्यता अनुरूपका तथ्य तथ्यांक र प्रमाणहरूका आधार पुस्तिकामा राखिएको दाहालले जनाए । ‘भारतबाट गरिँदै आएको अतिक्रमण रोकिनु पर्ने र भारतीय पक्षबाट लामो समयसम्म त्यहाँ रहेका भारतीय सेना फिर्ता हुनु पर्ने विषयलाई विशेष जोड दिइएको छ,’ उनले भने ।

पुस्तिकालाई सामाजिक अध्ययन, इतिहास, भूगोल लगायतका विषयको अध्ययन, अध्यापन र सहजीकरणका सिलसिलामा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरिने उनले जनाए ।

पुस्तिकामा प्राचीन, मध्यकालीन लगायत ई.सं. १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र संकुचनको ऐतिहासिक सन्दर्भ, अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गम स्थलको पहिचान, सीमा विवाद हुने कारण र समाधानका उपायहरूको जानकारी पनि राखिएको छ ।

सीमा निर्धारण, छिमेकी मुलुकहरू चीन र भारतसागको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयासहरू, नेपाल र भारत बिचको सीमा विवाद रहेका विशेष गरि पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससाग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाणहरू समेटिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता क्षेत्रको अतिक्रमण सम्बन्धी जानकारी, नेपालको अद्यावधिक नक्शा निर्माण अभ्यास र नक्शाको परिचय र प्रयोग सम्बन्धी विषयवस्तु, पुस्तिकाको प्रयोग र कक्षाभित्र र बाहिर गरिने क्रियाकलापहरू सम्बन्धी शिक्षकका लागि निर्देशन र सुगौली सन्धि लगायत नेपालको सीमा सम्बन्धी विभिन्न सन्धि सम्झौताहरूको सूची समावेश गरिएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्रहरू नेपालको हो भनी प्रमाणित गर्ने तथ्यहरू प्राथमिकताका साथ पुस्तिकामा उल्लेख छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?