१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘सम्झनामा प्रणव दा’

काठमाडौँ — नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले हालै दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई ‘नेपालका अद्वितीय हितैषी’ भन्दै नेपालमा गणतन्त्र स्थापना र शान्ति स्थापनामा मुखर्जीको ठूलो नैतिक समर्थन रहेको स्मरण गरेका छन् ।

‘सम्झनामा प्रणव दा’

मुखर्जीप्रति श्रद्धाञ्जली अर्पण गर्न र नेपालसँगको सम्पर्क स्मरण गर्न आयोजित भर्चुअल समारोहमा पूर्वराष्ट्रपति यादवले ‘मुखर्जी छिमेकी राष्ट्र भारतका उच्च कदका सपुत’ रहेको बताए । आफूले कोलकातामा अध्ययन गरेको स्मरण गर्दै यादवले अनौपचारिक कुराकानीका क्रममा पूर्वराष्ट्रपति मुखर्जीसँग बंगालीमै संवाद हुने गरेको स्मरण गरे ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वर्गीय मुखर्जीलाई नेपालको हरेक लोकतान्त्रिक आन्दोलनका सहयोगी भन्दै उहाँको नेपालका हरेक नेतासँग भावनात्मक सम्बन्ध रहेको बताए । अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि नेपाल र नेपालीका हितैषी भारतीय राजनेताका रूपमा मुखर्जीलाई चिनाएका थिए ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला, प्रदीप गिरी र विमलेन्द्र निधिले ‘नेपालमा लोकतन्त्र र शान्ति स्थापनाको पक्षमा मुखर्जीले दिएको साथ–सहयोग स्मरणीय रहेको’ बताएका थिए । नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि भएको १२ बुँदे सम्झौतामा मुखर्जीले गरेको सहयोगबारेमा उहाँ आफैंले धेरै पटक बोल्नुभएको भन्दै स्मरण गरेका थिए ।

पूर्वपरराष्ट्रमन्त्री एवं समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई ‘स्पष्टवक्ता र दूरदृष्टि भएका राजनेता’ का रूपमा स्मरण गरे । ‘उहाँ नेपाल–भारत द्विदेशीय सम्बन्धलाई अत्यन्त महत्त्वका साथ हेर्ने एक राजनेता हुनुहुन्थ्यो,’ यादवले भने ।

पूर्वराजदूत विजयकान्त कर्णले संयोजन गरेका भर्चुअल श्रद्धाञ्जली समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकी छोरी शर्मिष्ठा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र साउथ एसिया फाउन्डेसनका राहुल बर्माले मुखर्जीको निधनप्रति नेपाल र नेपालीले देखाएको समवेदना भावप्रति कृतज्ञता जनाएका थिए ।

प्रकाशित : भाद्र ३०, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?