कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अस्पताल जाँदा रोग सर्ने डर !

कोरोना संक्रमण बढेपछि अन्य स्वास्थ्य समस्याले अस्पताल जाने बिरामीको संख्या ह्वात्तै घटेको छ ।

अछाम, सुनसरी, बिर्तामोड — अछामको मंगलसेन नगरपालिका–५ की जमुना सुवेदीलाई ढाड दुख्ने समस्या भयो । अरू बेला सामान्य रुघाखोकी लाग्दा पनि अस्पताल पुग्ने उनले यस पटक कोरोना त्रासले जान सकेकी छैनन् ।

अस्पताल जाँदा रोग सर्ने डर !

‘जसोतसो घरेलु उपचार गरेर अलि निको भएको छ । बेस्सरी ढाड दुख्दा पनि अस्पताल जान डर लाग्यो,’ उनले भनिन्, ‘पहिले घरमै बसे बिराम झन् बढ्छ कि भन्ने लाग्थ्यो, अहिले अस्पताल जाँदा रोग साथमा आउँछ कि भन्ने डर लाग्छ ।’

मंगलसेन–७ की रूपा नगार्जीलाई पनि गत साता ज्वरो आयो । तर यो बेला अस्पताल गए क्वारेन्टाइनमा राख्ने पो हुन् कि भन्ने उनलाई चिन्ता लाग्यो । ‘ज्वरो आएर अस्पताल जाँदा उतै राख्छन् भन्ने सुनें । त्यसैले अस्पताल गइनँ,’ उनले भनिन्, ‘घरमै आराम गरें, स्वास्थ्यको ख्याल गरें अहिले त निको भइसक्यो ।’

लकडाउनमा जिल्ला अस्पतालमा आउने बिरामीको संख्या घटेको अस्पतालकी सिनियर अनमी सुशीला ढुंगानाले बताइन् । ‘लकडाउन खुकुलो भएको बेला सामान्य बिरामीसमेत अस्पताल आउन थालेका थिए । अहिले मंगलसेन नगरपालिका सिल गरिएको छ । फेरि अस्पताल आउने बिरामीको संख्या घटेको छ,’ उनले भनिन्, ‘गर्भवती, सुत्केरी र आपत्कालीन अवस्थाका बिरामीका लागि जहिल्यै अस्पताल र स्वास्थ्य चौकी खुल्ला नै छन् ।’

उनका अनुसार गर्भवती र सुत्केरीलाई गाउँमै स्वास्थ्यकर्मीले जाॅच गरिरहेका छन् । ‘गर्भावस्था र सुत्केरी अवस्थाका महिलाले नियमित रूपमा आइरन चक्की, क्याल्सियम खानुपर्छ । ती औषधिसमेत कतिपय अवस्थामा स्वास्थ्यकर्मीले घरमै पुर्‍याइदिएका छन्,’ उनले भनिन् । यस वर्ष भने स्वास्थ्य संस्थाका ओपीडी जाँच कक्षदेखि वार्ड सुनसान जस्तै छन् ।

अघिल्लो वर्षको यही समयमा दैनिक करिब २ सय जनासम्मले स्वास्थ्य परीक्षण गराउने गरेकामा अहिले दैनिक बढीमा २० देखि ३० जनाले मात्र सेवा लिइरहेका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मनोज विष्टले अघिल्लो वर्षको यही समयको तुलनामा ओपीडी सेवा लिने बिरामीहरूको संख्या ८० प्रतिशतभन्दा कम भएको बताए । जिल्ला अस्पताल रहेको सदरमुकाम आसपासका बिरामीहरूभन्दा हाल ग्रामीण भेगबाट उपचारका लागि आउनेहरूको संख्या घटेको हो । कोरोना संक्रमण सुरु भएयता पटकपटकको लकडाउनका कारण पनि गाउँबाट सदरमुकाम आउजाउ गर्न सवारीसाधन पनि नपाइने अवस्था भएकाले अस्पतालमा बिरामीहरू पुग्ने क्रम घटेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अस्पतालमा बिरामी ह्वात्तै घट्नुको कारणका रूपमा कतिपयले कोरोना संक्रमणको त्रास भएको बताएका छन् । तर, चिकित्सकले भने यो मात्र एउटा कारण हुनुलाई अस्वीकार गर्छन् । मानिस बिरामी भएमा आउनुपर्ने ठाउँ अस्पताल वा स्वास्थ्य चौकी नै भएकाले ती ठाउँमा पनि भाइरल ज्वरोका बिरामीहरू खासै नहुनुले केही हदसम्म निरोगी रहेको तथा सामान्य ज्वरोलाई पचाउने गरेको डा. विष्टको भनाइ छ ।

बीपीमा शल्यक्रिया गराउने घटे

लकडाउन सुरु भएसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गराउनेको संख्यामा उल्लेख्य कमी आएको छ । प्रतिष्ठानमा गत चैतदेखि भदौ तेस्रो सातासम्म ३ हजार ५ सयको हाराहारीमा मात्र शल्यक्रिया भएका छन् । उक्त संख्या अघिल्लो वर्षको यसै अवधिको तथ्यांक हेर्दा २३ प्रतिशत मात्रै हुन आउँछ । अघिल्लो वर्ष यस अवधिमा १४ हजार ८ सय ५ वटा शल्यक्रिया भएका थिए ।

प्रतिष्ठानको तथ्यांक विभागका अनुसार विभिन्न खाले रोगको उपचार र आकस्मिक उपचारका क्रममा हुने शल्यक्रिया मासिक रूपमा सरदर २५ सयको हाराहारीमा हुने गरेको थियो । तर, लकडाउन र निषेधाज्ञा अवधिभर मासिक सरदर ४ सयदेखि ९ सय वटा मात्र शल्यक्रिया भएका छन् । प्रतिष्ठानमा शल्यक्रिया गर्न आउने बिरामीमध्ये जटिल (मेजर) शल्यक्रिया गर्नेहरूको संख्या करिब ६५ प्रतिशत छ । आर्थिक वर्ष ०७६/७७ मा २२ हजार ३ सय ७ वटा ठूला, मझौला र साना शल्यक्रिया भएका थिए ।

प्रतिष्ठानले यसबीचमा उपचार सेवा भने रोकेको छैन । तैपनि शल्यक्रिया गर्नै पर्ने बिरामी कोरोना संक्रमण हुने डरका कारण अस्पतालसम्म नआउँदा शल्यक्रियाको संख्या घटेको प्रतिष्ठानका स्त्री तथा प्रसूति रोग विषेशज्ञसमेत रहेका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए । ‘शल्यक्रिया गरेर स्वस्थ हुन सक्ने बिरामीहरू घरमै छटपटाएर बस्न बाध्य छन् भन्ने संकेत यो तथ्यांकले दिन्छ । कोरोना संक्रमणको त्रासले बिरामीहरू अस्पतालसम्म आउन सक्ने वातावरण नहुँदा कतिपयको मृत्युसमेत भएको हुन सक्छ,’ उनले भने ।

प्रतिष्ठान प्रदेश १ र २ का बिरामीका लागि रिफरल सेन्टर भएको छ । बिरामी आइहाले पनि अटिल अवस्था भएपछि मात्रै उपचारका लागि आइरहेका प्रतिष्ठानले जनाएको छ । ‘एक–दुई महिनापछि शल्यक्रिया गर्नुपर्ने विभिन्न शारीरिक रोग भएका बिरामीहरू गत चैतदेखि नआउनु भनेको रोग पालेर झन् जटिल बनाउनु हो,’ प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले भने । उनका अनुसार चैतअघिसम्म मासिक रूपमा सरदर डेढ सय जना मुटुरोगी क्याथल्याब गर्न आउने गरेका थिए । तीमध्ये ५ प्रतिशत भारतीय नागरिक हुन्थे । प्रतिष्ठानका इमर्जेन्सी विशेषज्ञ चिकित्सक प्रा.डा. ज्ञानेन्द्र मल्लका अनुसार कोरोनाको त्रासकै कारण उपचारका लागि प्रतिष्ठान नआउनेको संख्या बढेको छ ।

प्रतिष्ठानका ग्यास्ट्रो इन्टेरोलोजी– हेपाटोलोजी विभागका प्रमुख प्रा.डा. विक्रम प्रधानले सातामा ४ देखि ६ जनाको ईआरसीपी प्रविधिबाट उपचार भइरहेको बताए ।

आँखा अस्पतालहरू आर्थिक संकटमा

कोभिड–१९ का कारण नेपाल–भारत सीमा नाका ठप्प हुँदा झापाका आँखा अस्पतालहरू आर्थिक संकटमा परेका छन् । सधैं भारतीय बिरामीले भरिभराउ हुने यस्ता अस्पतालहरू अहिले सुनसान भएका हुन् । कोभिडका कारण आँखाको उपचार गराउन भारतीय विरामीहरू ६ महिनायता नेपाल प्रवेश गर्न पाएका छैनन् । बिर्तामोड नगरपालिका ३ सैनिकमोडस्थित समुदायस्तरबाट सञ्चालित मेची आँखा अस्पतालमा दैनिक करिब एक हजार जनाले ओपीडीमा सेवा लिन्थे । १ सय ५० बढीले दैनिक आँखाको शल्यक्रिया गराउँथे । तर कोभिडका कारण अहिले ओपीडीमा दैनिक ७० देखि बढीमा २ सय जनाले र शल्यक्रिया दैनिक १/२ जनाले मात्र गराउने गरेको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए ।

मेची आँखा अस्पतालमा दैनिक ६० प्रतिशतभन्दा बढी भारतीय बिरामीले आँखाको उपचार गराउँथे । ‘कोरोनाले चैतयता भारतीय बिरामी त ठप्पै छ । नेपालका बिरामी पनि खासै छैनन्,’ रौनियारले भने । अस्पतालले जिल्लाभित्रै ५ स्थानमा शाखा उपचार केन्द्रसमेत सञ्चालन गरिरहेको छ । ती उपचार केन्द्रमा समेत बिरामीको चाप ७० प्रतिशतले घटेको उनको भनाइ छ । अस्पतालमा १४ जना डाक्टरसहित २ सय २० जना स्वास्थ्यकर्मी/कर्मचारी कार्यरत छन् । बिरामीको चाप घटेकाले जेठदेखि सबै कर्मचारीको तलब २५ प्रतिशतले कटौती गर्नुपरेको उनले बताए ।

‘अहिलेसम्म त धानेका छौं । यही अवस्था अझै केही महिना र≈यो भने खर्च धान्न गाह्रो छ,’ रौनियारले भने । अस्पतालमा अहिले आउने बिरामी पनि अधिकांश स्वास्थ्य बिमा गरेकाहरू रहेको उनले बताए । स्वास्थ्य बिमाको सेवा सैनिकमोडस्थित अस्पतालमा मात्र छ । रौनियारले अन्यत्रका शाखा उपचार केन्द्रबाट समेत बिमाका बिरामीलाई उपचार गर्ने अनुमति प्रदान गर्नुपर्ने माग राखे ।

भारतीय बिरामी नआउँदा सैनिकमोडमै रहेको दृष्टि आई केयरमा पनि बिरामीको चाप ८० प्रतिशतले घटेको छ । ‘चैतअघि दैनिक ओपीडी सेवामा ३ सय ५० बढीले सेवा लिन्थे । शल्यक्रिया दैनिक ७० जना जतिको गर्नुपर्थ्यो’ अस्पतालका डाक्टर शेषकान्त अर्यालले भने, ‘ओपीडीमा सेवा लिएकामध्ये २ सय ५० भन्दा बढी त भारतीय नै हुन्थे ।’

भारतीय बिरामी नआउँदा अस्पताललाई सबै हिसाबले धक्का पुगेको अध्यक्ष राम उप्रेतीको भनाइ छ । अस्पतालमा दैनिक ४ डाक्टरसहित ७३ जना स्वास्थ्यकर्मीले सेवा दिन्थे । अचेल ३ जना डाक्टरसहित दैनिक ३७ जनालाई मात्र काममा खटाउन सकिएको उनले बताए ।

प्रकाशित : भाद्र ३०, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?