कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पहिरोपीडितलाई चौरमा टेन्ट

थप ३ शव फेला, १७ अझै बेपत्ता, पानी पर्न थालेपछि खोजी प्रभावित
अनिश तिवारी

सिन्धुपाल्चोक — गाउँमा पहिरो जाँदा रघु श्रेष्ठ काम परेर बाह्रबिसे बजारमा थिए । खबर सुनेर आत्तिँदै फर्किए, घटनास्थल देखेर बेहोस भए । घरसँगै उनका बाबु, आमा र बहिनी सदाका लागि बिदा भइसकेका थिए ।

पहिरोपीडितलाई चौरमा टेन्ट

परिवारै गुमाएको पीडाले नागपुजेका २५ वर्षीय श्रेष्ठ आइतबार रातभरि निदाउन सकेनन् । ‘आमा, बुवा र बहिनी गुमाएँ, न घर रह्यो न एक इन्च जमिन,’ उनले भने, ‘यस्तो विपत्तिको कल्पना पनि थिएन ।’

बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरखर्क र नागपुजे पहिरोपीडितलाई करिब एक किलोमिटर टाढा चौरमा टेन्ट गाडेर बसाइएको छ । उनीहरू त्यहाँ पनि असुरक्षित महसुस गरिरहेका छन् ।

पहिरोमा आमा, बुबा, दुई भतिजा हराएपछि भीरखर्कको नेवार टोलका ३३ वर्षीय दिलबहादुर नेवार टोलाइरहेका छन् । ‘पहिरोले सर्वस्व खोस्यो । यो गाउँ पनि लैजान्छ जस्तै लाग्छ, वर्षात्सँगै पहिरो बढिरहेकै देख्छु, पानी पर्दा मुटुमा ढ्यांग्रो ठोक्छ,’ उनले भने । पहिरोले परिवारै गुमाए पनि गाउँलेको अनुहार हेरेर मन थामिरहेको उनले बताए ।

भूकम्प र परकम्पनले धाँजा फाटेको माथिल्लो भूभागलाई अविरल वर्षाले थिलथिलो बनाएपछि शनिबार राति साढे ३ बजे खसेको पहिरोले बस्तीका २२ घर बगाएको थियो । डीएसपी प्रकाश सापकोटाका अनुसार पहिरोमा बेपत्ता ३१ मध्ये हालसम्म १४ जनाको शव फेला परेको छ । आइतबार ११ जनाको शव भेटिएको थियो । सोमबार घटनास्थलमा, सुनकोसी र भोटेकोसी नदी किनारमा एक/एक जनाको शव भेटिएको हो । १७ जना अझै बेपत्ता छन् । घाइते भेटिएका पाँच जनालाई उपचारार्थ राजधानी पठाइएको छ ।

सेना, सशस्त्र, नेपाल प्रहरीसँगै मृतकका आफन्तहरू पहिरोमा कोदालो, साबेल, गलको भरमा बेपत्ताको खोजी गरिरहेका थिए । सोमबार अपराह्नदेखि वर्षा भएकाले पहिरो झन् बग्न थाल्दा खोजी रोकिएको छ । वर्षा थामिएपछि खोजी जारी रहने डीएसपी सापकोटाले बताए । पहिरोमा आफन्त र घरसम्पत्ति गुमाएकाहरू अझै बगाउने त्रासमा छन् । पहिरोमा आमा, भाइ र बुहारीसहित हराएपछि नागपुजे तल्लो टोलका ३१ वर्षीय कृष्ण श्रेष्ठ अझै पनि बिहानको उज्यालो देख्न नपाइने डर लागिरहेको बताउँछन् । ‘आखिर जिन्दगी के रहेछ र, गाउँको भर भएन । यहाँ पहिरो नखस्ला भन्ने केही भर छैन, अझै उस्तै डर लागिरहेको छ,’ उनले भने ।

बाह्रबिसे–७ का वडासदस्य वीरबहादुर थापाका अनुसार भीरखर्क र नागपुजेका विस्थापित ८० परिवारलाई स्थानीय बच्छलादेवी माविभन्दा केही पर जलदेवी चौरमा टेन्ट गाडेर बास बस्ने व्यवस्था गरिएको छ । आफन्त र छिमेकीका घरमा बसिरहेका २० परिवारका लागि पनि टेन्ट हाल्ने काम भइरहेको छ । तत्काल नगर र विभिन्न संस्थाबाट उपलब्ध गराएको राहत सामग्रीबाट गाँस र बासको व्यवस्थापनका लागि स्थानीय खटिएका छन् ।

बाह्रबिसे नगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै भीरखर्क पयु खोलामा आएको बाढीले पहिरो निम्तिँदा ३० घर क्षति भएको र ६० घर उच्च जोखिममा परेको उल्लेख गरेको छ । बस्ती छेउमा अन्य १० घर पनि जोखिममा छन् । पहिरोले प्रभावित एक सय ६२ परिवार छन् । उनीहरूका लागि व्यवस्थापनको पहल भइरहेको र मृतकका परिवारलाई एक लाख दरले दिने निर्णय गरेको उपमेयर सुशीला पाख्रिनले बताइन् । ‘तत्कालका लागि बसोबासको व्यवस्थापनमा लागेका छौं । अरू राहत दिने विषय छलफल गरेर निर्णय गर्छौं,’ उनले भनिन् ।

प्रकाशित : भाद्र ३०, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?