२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

समयमै मल आयात नगर्ने शैलुङ र होनिकोलाई कालोसूचीमा राख्‍न पत्रचार

राजु चौधरी

काठमाडौँ — कृषि सामग्री कम्पनीले शैलङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिलाई कालोसूचीमा राख्‍न पत्रचार गरेको छ । यी दुई कम्पनीले समयमै मल आयात नगरेपछि कृषी सामग्रीले सोमबार सार्वजनिक खरिद अनुगमन कार्याललाई कालोसूचीमा राखि आवश्यक कारबाही गर्न पत्रचार गरेको हो ।

समयमै मल आयात नगर्ने शैलुङ र होनिकोलाई कालोसूचीमा राख्‍न पत्रचार

‘सार्वजनिक खरिद ऐन अनुसार शैलुङ र होनिकोलाई कालोसूचीमा राख्‍न पत्रचार गरेका छौं,’ कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्‍चालक नेत्रबहादुर भण्डारीले भने ।

शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हु्न् । होनिको कम्पनीका ठेकेदार हुमनाथ कोइराला कांग्रेस निकट व्यवसायी हुन् । सस्तो रकम कबोल गरेर ठेक्का पारेका यी कम्पनीहरुले मल आयात नै गरेनन् ।

शैलुङ र होनिकोले २५/२५ हजार टन युरिया आयात गर्न ठेक्का पाएका थिए । सम्झैता अनुसार भदौ २० गतेसम्म मल नल्याएपछि कृषिले दुवै कम्पनीको ठेक्का रद्द गरि धरौटी रकम जफत गरिसकेको छ । ठेक्का रद्द गरिएको एकसाता पछि कालोसूचीमा राख्‍न पत्रचार गरेको हो ।

‘शैलुङ र होनिको दुवै सप्लायर्सले सम्झैता बमोजिमको कार्य समयमा नगरेकाले सार्वजनिक खरिद ऐन बमोजिम कालोसूचीमा राखि कारबाही गर्नुपर्ने भएकाले आवश्यक कागजात यसै पत्रसाथ सलग्‍न राखी पठाइएको व्यहोरा अनुरोध छ,’ कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

होनिकोले ७७ लाख ४७ हजार ५ सय अमेरिकी डलरमा २५ हजार मल आयातको सम्झौता गरेको थियो । एक डलर बराबर १ सय २० रुपैयाँ मान्दा यो रकम ९२ करोड ९७ लाख रुपैयाँ हो । होनिकोले त्यसको ५ प्रतिशत हुने ४ करोड ६४ लाख ८५ हजार रुपैयाँ धरौटी राखेको थियो ।

शैलुङले ८० लाख ६ हजार २ सय ५० अमेरिकी डलरमा २५ हजार टन आयात गर्ने सम्झौता गरेको थियो । उही विनिमय दरमा हिसाब निकाल्दा यो रकम ९६ करोड ७ लाख ५० हजार रुपैयाँ हो । शैलुङले ४ करोड ८० लाख रुपैयाँ धरौटी राखेको थियो । दुवैले ठेक्का पाएको रकम जोड्दा एक अर्ब ८९ करोड रुपैयाँ हुन्छ । दुवैको धरौटी रकम ९ करोड ४४ लाख रुपैयाँ हुन्छ । कृषिले ९ करोड ४४ लाख रुपैयाँ जफत गरेको हो । सार्वजनिक खरिद ऐन अनुसार, तोकिएको काम पुरा नगर्ने बोलपत्रदर्ता(सप्लायर्स)को धरौटी जफत गरेर मात्रै पुग्दैन । काम गर्न बाँकी रकम समेत असुल्नुपर्छ ।

प्रकाशित : भाद्र २९, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?