घरधनीद्वारा डेरावालको हत्या : अनुसन्धान निष्पक्ष नभएको भन्दै पीडित परिवारद्वारा प्रहरी कार्यालय घेराउ

जनकराज सापकोटा

काठमाडौँ — भारतीय नागरिक शम्भु महतो २० वर्षयता विभिन्‍न इलम गरेर तीन छोरा र श्रीमतीसहितको परिवार पालिरहेका थिए । लकडाउनअघिसम्म बसको सहचालक रहेका उनी यातायात बन्द भएपछि फलफूल बेचेर गुजारा चलाइरहेका थिए ।

घरधनीद्वारा डेरावालको हत्या : अनुसन्धान निष्पक्ष नभएको भन्दै पीडित परिवारद्वारा प्रहरी कार्यालय घेराउ

करिब १४ महिनाअघि शम्भुले कीर्तिपुरको भाजंगलमा मासिक चार हजार तिर्ने गरी दुईवटा कोठा भाडामा लिएका थिए । लकडाउनमा पनि जेनतेन भाडा बुझाइरहेका थिए । तर घरधनी प्रेम महर्जनसँग उनको हार्दिक सम्बन्ध थिएन । उनै घरधनी प्रेमले शुक्रबार साढे १२ बजेतिर शम्भुमाथि अकस्मात् गजबारले प्रहार गरे । एकै छिनमा प्रहरी आएर शम्भुलाई कीर्तिपुर अस्पताल पुऱ्याए पनि उनको ज्यान रहेन ।

शम्भुका छोरा राहुलका अनुसार गत बिहीबार घरधनीसँग भनाभन भएपछि बाबुले तुरुन्तै अर्को डेरा खोजेका थिए । भान्छाको सामानबाहेक अरु सबै सारेर छोराहरु नयाँ कोठामा बस्न थालिसकेका थिए । पुरानो कोठामा आमा र बाबु मात्रै थिए । त्यसै क्रममा घरधनी प्रेमले शुक्रबार बाबुको टाउको र छातीमा गजवारले हानेको उनले बताए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘न भाडा तिर्न बाँकी थियो न अरु केही ठूलो विवाद थियो । तर मेरो बाबुको हत्या भयो ।’ अनुसन्धानमा संलग्न एक प्रहरीले पनि घरधनीले ज्यानै जाने गरी हान्नुपर्ने ठोस कारण केही नदेखिएको र पैसाको विषयमा पनि विवाद नरहेको बताए ।लकडाउनका बेला डेरा छोडेपछि घर खाली रहने भएकाले घरधनी तनावमा आएको हुन सक्ने बताइए पनि त्यसको पुुष्टि हुने आधार भने नभेटिएको उनले जनाए ।

घटना अनुसन्धानमा जुटेका एक प्रहरीका अनुसार जारमा रहेको पानी लैजाने कि त्यहीँ छाडने भन्ने विषयमा झगडा भएको देखिन्छ । घटनालगत्तै पक्राउ परेका प्रेमले पनि बयानमा पानीको निहुँमा झगडा भएपछि आफूले हिर्काएको स्वीकार गरेका छन् । पीडित परिवारले प्रेम, उनकी पत्नी, २ छोरा र २ छोरीविरुद्ध किटानी जाहेरी दिएको छ । प्रहरीले घरधनी प्रेमसहित उनका दुई छोरालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले पक्राउ परेका तीनै जनालाई अदालतबाट ७ दिनको म्याद लिएर थुनामा राखिएको बताए ।

शम्भुका जेठा छोरा १६ वर्षीय राहुलले घटनालगत्तै घरधनीकी श्रीमतीले आफूलाई मुद्दा मिलाउन पैसाको प्रलोभन देखाउँदै दबाब दिएको बताए । उनले भने, ‘कति पैसा चाहिन्छ ? केस क्लोज गरिदेऊ भनेर दबाब दिएका थिए । मैले मेरो बाबु फिर्ता ल्याइदेऊ भनेँ ।’

मृतकका परिवार र आफन्तले प्रहरीले अनुसन्धान कमजोर बनाएको, किटानी जाहेरी दिएका सबैलाई पक्राउ नगरेको र अनुसन्धानमा कमजोरी गरेको भन्दै शनिबार र आइतबार वृत्त अगाडि नाराबाजी गरेका थिए । प्रहरीका अनुसार अहिलेसम्म शवको पोस्टमार्टम सुरु गरिएको छैन । मृतकको परिवारका सदस्यले भने प्रहरीले शव बुझ्‍न दबाब दिइरहेको बताएका छन् ।

प्रकाशित : भाद्र २९, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?