२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

यसरी खुल्यो लागूऔषध तस्करीको पोल

रक्सौलबाट काठमाडौंसम्म एक ट्रिप लागूऔषध ल्याउँदा भरियालाई ७० हजार कमिसन
मातृका दाहाल

काठमाडौँ — ‘सर, दुर्घटना भएको मालवाहक गाडीबाट केही सामान झोलामा झिकेर दुई जना मानिस ट्रकमा काठमाडौंतर्फ जाँदै छन्,’ मंगलबार महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीलाई यस्तो सूचना आयो । अपरिचित व्यक्तिबाट झिसमिसेमै पाएको यस्तो सूचनाले प्रहरीलाई झस्कायो । फोन गर्ने व्यक्तिसँग प्रहरीले थप जानकारी लियो ।

यसरी खुल्यो लागूऔषध तस्करीको पोल

रक्सौलबाट वीरगन्ज हुँदै काठमाडौंका लागि हर्लिक्स बोकेर आएको ना३ख १११३ नम्बरको कन्टेनर (ट्रक) सोमबार राति धादिङको मच्छेडीखोला सडकखण्डबाट चिप्लिएर डिलमुनि धसिएको थियो । तत्काल ट्रक सडकमा निकाल्ने अवस्था थिएन । ट्रक चालक थिए– सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय डम्बरबहादुर प्रधान । ट्रक चिप्लिएपछि डम्बरबहादुरले भक्तपुर सल्लाघारी बस्ने बाह्रबिसेकै विष्णु प्रधानलाई सम्पर्क गरे र आफूसँग भएको कन्टेनर (ट्रक) लिएर आउन आग्रह गरे ।ना३ख ९८९ नम्बरको खाली ट्रक लिएर विष्णु राति नै मच्छेडीखोलामा पुगे ।

विष्णु र डम्बरबहादुर पहिलेदेखि चिनजानका साथी रहेछन् । ट्रक दुर्घटना भएपछि डम्बरबहादुरले अर्का एक व्यक्तिलाई त्यहींबाट कल गरे । ती व्यक्तिकै योजनाअनुसार सामान अर्को गाडीमा राखेर काठमाडौं भित्र्याउने योजना बनेको रहेछ । दुर्घटना भएदेखि भक्तपुरबाट ट्रक मच्छेडीखोला पुग्दाको बीचको कहानी प्रहरीलाई सूचना दिने ती व्यक्तिलाई पत्तै थिएन । जब दुर्घटना भएको ट्रकको क्याबिनबाट डम्बरबहादुरले चारवटा जेब्रा झोलामा सामान निकाले, त्यसलगत्तै मच्छेडीबाट अपराध महाशाखाका प्रहरीलाई सूचना पुगेको थियो ।

सूचना दिने व्यक्तिले दुर्घटना भएको र मच्छेडीबाट झोलामा सामान लिएर काठमाडौं लागेको गाडी नम्बर टिपाएका थिए । अपराध महाशाखाको टोली बिहानैबाट त्यस घटनाको अपरेसनमा जुटिसकेको थियो । मच्छेडीबाट छुटेको ९८९ नम्बरको ट्रकलाई पिछा गर्दै सादा पोसाकमा प्रहरी टोली सल्लाघारीसम्म पुग्यो । वीरगन्ज भन्सारबाट जाँचपास भएको ट्रकमा ल्याएको सामान धादिङबाट अर्को ट्रकमा राखेर सल्लाघारी पुर्‍याइएको थियो । त्यसबेलासम्म ट्रकमा के सामान छ भन्ने प्रहरीलाई थाहा थिएन ।

ट्रकबाट चालक विष्णु र डम्बरबहादुर ओर्लिएपछि प्रहरीले नियन्त्रणमा लिएर ट्रक खानतलासी गर्दा क्याबिनको सिटमुनि राखिएको अवस्थामा चिकित्सकको प्रेस्क्रिप्सन (चिकित्सकको अनुमति) मा मात्रै बिक्री गर्न पाइने फर्मास्युटिकल्स ड्रग्सका झोला फेला परे । सामान खानतलासी गर्ने क्रममा २ हजार ९ सय ५० डाइजेपाम, ३ हजार नाइट्रोभेट, २ हजार ९ सय ५० प्रोमाथाजिन, १ हजार ५ सय ब्रुपिनर्फिन र १ हजार ४ सय एम्पुल नोफिन फेला पर्‍यो । यी औषधि सिरिन्जबाट प्रयोग गरिन्छ ।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार बरामद औषधि ५ हजार डोजसम्मको भएको बताए । लागूऔषध दुर्व्यसनीले भारतबाट तस्करी गरेर ल्याउने र नेपालमा विभिन्न स्थानमा लगेर कुलतमा फसेका व्यक्तिलाई बिक्री गर्ने गरेका छन् । त्यसपछि प्रहरीले सामान्य सोधपुछ गर्दा पक्राउ परेका आरोपितले उक्त सामान सिन्धुपाल्चोकको भोटेकोसी–५ का ३२ वर्षीय शंकर खड्काको भएको बयान दिए । त्यहींबाट महाशाखाको टोली बूढानीलकण्ठ पुगेर खड्कालाई पक्राउ गर्‍यो । उनले सामान आफ्नो भएको स्विकारे । खड्का पनि ट्रक चालक नै हुन् । तीनै जनाले आफूहरू पनि दुर्व्यसनीमा लाग्दालाग्दै यस्तो धन्दामा सक्रिय हुन पुगेको स्वीकार गरेका छन् ।

महाशाखाले तीनै जनामाथि सूक्ष्म अनुसन्धान गर्दा नेपालमा फर्मास्युटिकल्स ड्रग्स सप्लाई गर्ने मुख्य गिरोह भारतको रक्सौलमा भएको खुल्यो । मंगलबार बरामद औषधि पनि रक्सौलस्थित ‘राहुल फार्मेसी’बाट ल्याइएको रहेछ । राहुल फार्मेसीको आवरणमा भारतीय गिरोहले नेपालमा तस्करीबाट औषधि पठाउने गरेको पाइएको छ ।

नेपालका कतिपय फार्मेसीमा पनि तस्करीबाट यसैगरी औषधि आएको आशंकामा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । एकातिर खुला नाका, अर्कातिर भन्सार जाँचमा हुने गरेका लापरबाही यसअघिका तस्करी नियन्त्रणका प्रमुख चुनौती त छँदै थिए, कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सुरक्षाकर्मी केन्द्रित भएका बेला तस्करीको मौका छोप्ने गरेको तथ्य पनि यसले उजागर गरिदिएको छ ।

पक्राउ परेका व्यक्तिलाई रक्सौलदेखि काठमाडौंसम्म यसरी सामान ल्याइदिएबापत प्रतिट्रिप ७० हजार रुपैयाँसम्म दिने गरेको पनि खुल्यो । प्रतिडोज बढीमा १ सय ५० रुपैयाँमा किनेर काठमाडौंलगायत विभिन्न जिल्लाका दुर्व्यसनीसम्म पुर्‍याउँदा गिरोहले १ हजार ५ सयदेखि व्यक्तिको हैसियत हेरेर ३ हजार रुपैयाँसम्म लिने गरेको खुल्यो । अझ भन्सार जाँचपास गाडीबाटै कसरी यतिधेरै गैरकानुनी रूपमा औषधि भित्रियो भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘योसहित ४ पटक भयो यसैगरी सामान ल्याएको, खै कताबाट कुरो फुत्कियो, अहिले फन्दामा पर्‍यौं,’ पक्राउ परेका एक अभियुक्तले प्रहरीसँग भनेका छन् । सल्लाघारीबाट पक्राउ परेका दुई जनाले पटकपटक सामान ल्याएको बयान दिए पनि अर्का आरोपित खड्काले इन्कार गरिरहेका छन् । त्यसको कारण तस्करीको नेटवर्क खुल्ने डरले सहजै कसुर अस्वीकार गरेको प्रहरी अधिकारी बताउँछन् ।

लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका विष्णु प्रधान डम्बरबहादुर प्रधान र शंकर खड्का तस्बिर : महानगरीय अपराध महाशाखा

राहुल फार्मेसीसँग आबद्ध को–को यसरी तस्करीमा संलग्न छन् भन्ने प्रहरीले खुलाएको छैन । तर प्रहरी हिरासतमा रहेका डम्बरबहादुरले ‘जति ट्रक लिन आए पनि हामी तयार छौं’ भनेर राहुल फार्मेसीका एक व्यक्तिले आफूलाई भनेको बयान दिएका छन् । ‘हामीलाई काठमाडौंबाट रक्सौलको फर्मेसीको लोकेसन दिएर पठाइन्थ्यो, त्यहीअनुसार जान्थ्यौं, सधैं अरूले दिएको लोकेसनमा जाँदा अप्ठेरो पर्न सक्ने भएर हामी आफैंले तपाईंको नम्बर दिनुस् भनेर कति पटक आग्रह गर्‍यौं,’ डम्बरबहादुरले प्रहरीसँग भनेका छन्, ‘तर तिमीहरूलाई किन नम्बर चाहियो, माल (सामान) भए पुगेन भन्दै उल्टै थर्काउँथे ।’

महाशाखा प्रमुख एसएसपी दीपक थापाले कोभिड महामारीको मौका छोपी गिरोहले तस्करीको धन्दा चलाइरहेको हुन सक्ने बताए । पक्राउ परेका आरोपितलाई महानगरीय प्रहरी परिसर भक्तपुरले अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

फन्दामा अफिम कारोबारी

प्रहरीको ध्यान संक्रमण रोकथाम र नियन्त्रणमा भएको मौका छोपेर अफिम कारोबार गर्ने गिरोह पनि यसबीच पक्राउ परेका छन् । यस्तो गिरोहका चारवटा समूह भिन्नाभिन्दै स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, रुकुमपूर्व र पश्चिम तथा जाजरकोटबाट करिब ३५ केजी अफिम बरामद गरेको छ । बरामद अफिम हेरोइन बनाउनका लागि ओसारपसार गरिएको थियो ।

संक्रमणको सामना र अनुसन्धान सँगै

कोरोना संक्रमणका कारण देशभरका युनिटमा रहेका प्रहरी कर्मचारी जोखिममा छन् । तैपनि अपराध अनुसन्धान र मुद्दा दर्ताको ग्राफमा भने खासै असर परेको छैन । संक्रमणको जोखिम सामना गर्दै अपराधी पक्राउ गर्न प्रहरीले देखाएको सक्रियता साउन महिनाको तथ्यांकले नै देखाउँछ ।

०७६ चैत ११ गतेबाट लकडाउन घोषणा भएपछि प्रहरीका कतिपय कामकारबाही प्रभावित बने । भर्ना र वृत्ति विकासका गतिविधि अत्यावश्यकबाहेकमा रोकिएको छ । तर अपराधी पक्राउ गर्न र मुद्दा दर्ताको चापमा भने कमी आएको छैन । लकडाउनपछिको चार महिना (असार) सम्म संक्रमणको त्रास अहिले जस्तो थिएन । मुद्दाको चाप पनि त्यति थिएन । तर साउन र भदौमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसका बाबजुत अनुसन्धान र मुद्दा दर्ताको चाप पनि बढ्दै गएको छ ।

०७६ चैत ११ देखि ०७७ वैशाख ११ सम्म एक महिनामा १ हजार ५ सय १२ वटा मुद्दा दर्ता भएका थिए । पछिल्लो पटक ०७७ साउन १ देखि भदौ १ सम्म भने ३ हजार ६ सय ४२ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको तथ्यांकअनुसार साउनमा केन्द्रीय अनुसन्धान ब्युरोले २, उपत्यकाका तीन जिल्लामा ६ सय ३५, प्रदेश १ मा ५ सय ८२, प्रदेश २ मा ६ सय ३, वाग्मती प्रदेशमा ४ सय २, गण्डकीमा ३ सय ९३, प्रदेश ५ मा ५ सय ७७, कर्णाली प्रदेशमा १ सय ८० र सुदूरपश्चिम प्रदेशमा ३ सय ४८ वटा मुद्दा दर्ता भएका छन् । यो संख्यालाई आधार मान्ने हो भने हरेक दिन १ सय २२ वटा मुद्दा प्रहरीमा दर्ता हुन्छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत प्रहरी सक्रियताकै कारण अपराधका मुद्दा दर्ताको चाप बढेको बताउँछन् । ‘हामी कोरोनाको सामना गर्दै नियमित कामकारबाही र जिम्मेवारीलाई पनि निर्वाह गरिरहेका छौं,’ उनले भने, ‘जोखिमकै बेला हो फौजले जस्तोसुकै अवस्थामा पनि कामकारबाही गर्न सक्छ भनेर देखाउने, यसलाई आत्मसात् गरेर अघि बढिरहेका छौं ।’

प्रकाशित : भाद्र २९, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?