कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

घर बैंकमा धितो, ससुरालीको २ लाख ऋण

श्रीमती र छोराको हत्यापछि आत्महत्या गरेको आशंका

काठमाडौँ — मध्यपुर थिमि नगरपालिका–९, निकोसेराका ३६ वर्षीय सुदीप अधिकारी २ वर्ष अघिसम्म जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्थे । निकोसेरामा आफ्नै घर । उनको ससुराली काठमाडौंको डाँछीमा । जागिरको आम्दानीले उनको घरपरिवार चलेकै थियो । बेला मौकामा ससुराली पनि आउजाउ हुन्थ्यो ।

घर बैंकमा धितो, ससुरालीको २ लाख ऋण

तर सुदीप समयमा कार्यालय नआउने, आउँदा मादक पदार्थ सेवन गरेर आउनेलगायत कारण देखाउँदै ओम्निकाले जागिरबाट बर्खास्त गर्‍यो । त्यसपछि उनको दैनिकी अव्यवस्थित बन्दै गयो । श्रीमती ३४ वर्षीया सम्झना अधिकारी गृहिणी । १५ वर्षीय छोरा सुशान्त थिमिस्थित गोल्ड स्टोन एकेडेमीबाट भर्खरै एसईई उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने तयारीमा थिए ।

कोभिड–१९ का कारण शैक्षिक संस्था बन्द भएकाले सुशान्त घरमै बस्थे । जागिरबाट हटेपछि अधिकारी दम्पतीले घरकै सटरमा ‘सुदीप किराना पसल’ चलाउन थाले । पसल चलाउन घर धितो राखेर कृषि विकास बैंकको मध्यपुर थिमिस्थित शाखाबाट ऋण लिएका थिए । सुदीपले ससुरालीबाट पनि २ लाख रुपैयाँ ऋण लिएका थिए । जेनतेन जीविका चलेकै थियो । पछिल्ला २ वर्षयता निकै तनावमा देखिएका सुदीपले जतिसुकै बेला मादक पदार्थ सेवन गर्न थाले ।

स्थानीयले प्रहरीलाई दिएको जानकारीअनुसार उनी दिउँसै मादक पदार्थ सेवन गरेर घर जान्थे । छिमेकीका अनुसार सुदीप दम्पतीबीच पटक–पटक झगडा पनि हुने गर्दथ्यो । सायद जागिरबाट बर्खास्त भएपछि उनी थप निराश भएको हुन सक्छ । त्यसको झोंक श्रीमतीमाथि पोखेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । सुदीप दम्पतीको दैनिकी यसरी नै बितिरहेको थियो । ओम्निकाले जागिरबाट हटाएपछि भने सुदीप स्थानीयसँग पनि त्यति घुलमिल हुँदैनथे ।

भदौ १५ गतेबाट हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध अर्थात् पितृ पक्षको समय । डाँछीस्थित ससुरालीबाट सुदीपलाई श्राद्धमा उपस्थित हुन निम्ता आयो । गत आइतबार बिहान छोरालाई लिएर गए । छोरालाई त्यस दिन उतै छाडेर फर्किए । भोलिपल्ट सोमबार गएर छोरालाई लिएर आए । त्यसको भोलिपल्ट दिउँसोसम्म सुदीपको परिवारको चहलपहल घर तथा निकोसेरा घर आसपास देखेका स्थानीयले बेलुकाबाट सुनसान देखे ।

सायद छिमेकीले पनि लकडाउनका कारण बाहिर ननिस्किएका होलान् भन्ठाने । छिमेकीले बताएअनुसार गत बुधबारबाट उनीहरूको सटर खुलेन । उनीहरूले त्यसलाई खासै चासो पनि दिएनन् । किराना पसलमा पनि सटर लगाइएको थियो । घर प्रवेश गर्ने ढोका पनि बन्द । सुदीपको परिवार शुक्रबारसम्म बाहिर निस्किएको थिएन । लकडाउनका कारण मानिसको आउजाउ पहिलेजस्तो नभएकाले यसमा कसैले पनि चासो दिएनन् ।

भाइ जब मासु लिएर पुगे

सुदीपका भाइ सुनील सशस्त्र प्रहरीका सहायक हवल्दार हुन् । कार्यालयमा बिदाको मेसो मिलाएर कहिलेकाहीँ दाजुको घरमा जान्थे । शुक्रबार साँझ सुनील दाजुको घर पुगे । केही दिनअघि देवर सुनीललाई भाउजू सम्झनाले ‘मासु खान मन लागेको छ’ भनेर फोन गरेकी रहिछन् । त्यसपछि सुनील खसीको मासु लिएर श्रीमतीसहित पुगेका थिए । पसलमा सटर लगाएको । घरमा प्रवेश गर्ने मूलढोका पनि बन्द । सुनीलले ‘भाउजू भाउजू...’ भनेर केही पटक बोलाए । कुनै आवाज आएन । त्यसपछि भतिजो सुशान्तलाई पनि बोलाए । कसैको पनि आवाज आएन । ‘दाइ...’ भन्दै सुनीलले सुदीपलाई बोलाए । कोही पनि बाहिर ननिस्किएपछि बन्द रहेको ढोका घँचेटेर भित्र पसे ।

यो कुरा शुक्रबार साँझ करिब ५ बजेतिरको हो । तर सुनील भित्र के प्रवेश मात्रै गरेका थिए, दुर्गन्ध आयो । पहिलो तला उक्लिए । रक्ताम्य अवस्था देखेपछि आत्तिँदै सुनीलले स्थानीय प्रहरी, महानगरीय अपराध महाशाखालगायत युनिटलाई खबर गरे । आफू कार्यरत सशस्त्र प्रहरीको युनिटमा पनि उनले यसबारे खबर गरे । महाशाखाका एसएसपी दीपक थापाका अनुसार शुक्रबार ५ बजेर १५ मिनेटमा सुनीलले यसबारे जानकारी दिए । तत्कालै महाशाखा र भक्तपुर प्रहरीको टोली सुदीपको घर पुग्यो । घर घेरा हालेर प्रहरी भित्र प्रवेश गर्‍यो । पहिलो तलाको एउटा कोठामा सुशान्त घोप्टिएको अवस्थामा मृत भेटिए 

दोस्रो तलामा सम्झनाको शव । दुवै शवमा पहेंलो वस्त्रले ढाकिएको थियो । किचेनमा सुदीप ढलेको अवस्थामा रक्ताम्य भेटिए । सेतो कुकुर पनि मृत भेटियो । आमा–छोराको शव दुर्गन्धित र कुहिएको अवस्थामा थियो । सुन्निएको अवस्थामा भएकाले घटनाबारे शुक्रबार प्रहरीले केही पत्तो लगाउन सकेन । प्राविधिक अनुसन्धान भने जारी राखेको थियो ।

टाउकामा चोट, धारिलो हतियार

सुदीप अधिकारी दम्पती र छोरा सुशान्त अनि कुकुर मृत अवस्थामा भेटिएपछि प्रहरी घटनाको अनुसन्धानमा जुटिसकेको थियो । हत्याको आशंका गर्दै उपत्यकाका सबै नाकामा निगरानी गरेर अनुसन्धानमा जुटेको प्रहरीलाई पोस्टमार्टम रिपोर्ट महत्त्वपूर्ण प्रमाण थियो । अधिकारी परिवारका तीनै जनासहित मरेको कुकुर पनि लिएर गएको चिकित्सकको टोलीले अस्पतालमा पुर्‍याएर घटना जाँचबुझ गर्न थाल्यो । सुशान्तको टाउकामा ४ ठाउँमा धारिलो हतियारले प्रहार गरेको र त्यसपछि घाँटी रेटिएको देखियो । सुशान्तको शव उनकै कोठामा गर्धनको छाला मात्र चुँडिन लागेको अवस्थामा देखियो । सम्झनाको टाउकामा ३ पटक धारिलो हतियार प्रहार गरिएको रहेछ ।

घटनास्थलबाट प्रहरीले दाउ (खुकुरी जस्तै धारिलो घरेलु हतियार) पनि फेला पारेको थियो । दुवै जना घोप्टो परेको अवस्थामा थिए । ‘राम–नाम’ लेखिएको पिताम्बरले छोपिएको अवस्थामा शव भेटिएको थियो । सुदीपको शव भेटिएको माथिल्लो तलाको किचन र बाथरुममा बान्ता गरेको प्रमाण भेटिएको थियो । कपडा रगतले लतपतिएको थियो । त्यही नजिकै ‘सेल्फस ट्याब्लेट’ (विष) को खोल पनि भेटिएको थियो । ती ट्याब्लेटका खोल बारीमा पनि भेटिएको थियो । ट्याब्लेटको केही मात्रा कचौरामा घोलिएको अवस्थामा फेला परेको थियो । किचनमा खाना खाएर माझ्न बाँकी भाँडाकुँडा असरल्ल थिए ।

प्रारम्भिक जाँचबुझ र सुरुवाती अनुसन्धानमा सम्झना र सुशान्तको हत्या गरी सुदीपले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले शंका गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २८, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?