चितुवाको छाला र हड्डीसहित पक्राउ परेकालाई अनुसन्धान नगरी छाडियो

वसन्तप्रताप सिंह

बझाङ — चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका व्यक्तीलाई अनुसन्धान पूरा नगरी जमानतमा छोडिएको छ ।

चितुवाको छाला र हड्डीसहित पक्राउ परेकालाई अनुसन्धान नगरी छाडियो

चितुवाको छाला र हड्डीसहित पक्राउ परेका बुङगल नगरपालिका-६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरालाई बुङगल-६ का वडा अध्यक्ष धनबहादुर सिंहको जिम्मामा छोडिएको हो ।

पक्राउ परेका मानिसहरुको अनुसन्धान पुरा नभएको भएपनि हड्डी र छालाको विधि विज्ञान परीक्षणका लागि काठमाडौं पठाउनु पर्ने र लकडाउनका कारण तत्काल त्यो सम्भव नभएकाले आवश्यक पर्दा हाजिर हुने गरी वडा अध्यक्षको जिम्मा लगाइ छाडिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘उहाँहरु अनुसन्धानकै क्रममा हुनुहुन्छ,’ सहायक वन अधिकृत मनोज ढकालले भने,‘कोरोनाका कारण तत्काल बरामद बस्तुको परीक्षण सम्भव नभएकाले सरकारी वकिल कार्यालयको राय अनुसार हामीले जमानतमा छोडेका हौं ।’

अधिकृत ढकालका अनुसार पक्राउ परेकाहरुले चितुवा आफैंले मारेको र अर्का एक जना मानिस पनि संलग्न रहेको स्विकार गरेका छन् ।

चितुवाको छाला र हड्डी बोकेर धनगढीतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले बागथलाबाट नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट २ थान चितुवाको छाला र ९ किलो हड्डी बरामद भएको थियो ।

चितुवाको छाला सहित पक्राउ परेकाहरुलाई डिभिजन वन कार्यालयमा सार्वजनिक गरिँदै । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिए लगतै सदरमुकाम आएका वडाध्यक्ष सिंहले उनीहरुलाई छुटाउनका लागि प्रहरी, सरकारी वकिल र डिभिजन वन कार्यालयका अधिकारीहरुसँग लविङ सुरु गरेका थिए । स्रोतका अनुसार उनले सदरमुकामस्थित एक होटलमा प्रहरी इन्सपेक्टरसँग एक जना कानुन व्यवसायीसहित राखेर उनीहरुलाई छुटाउन कुरामा मोलमोलाइ समेत गरेका थिए ।


अनुसन्धानको क्रममा रहेका र अपराध स्विकार गरिसकेका व्यक्तीलाई छोड्न नमिल्ने कानुनी प्रावधान रहेको भए पनि सरकारी वकिलको कार्यालयले परीक्षणको प्रतिवेदन नआउँदासम्म हाजिरी जमानीमा छोड्ने राय दिएको र वडा अध्यक्षले नै जमानतमा बस्न तयार भएकाले अभियुक्तलाई छोडिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण बहादुर खातीले बताए ।

‘उनीहरु फरार भए पनि हामी वडा अध्यक्षलाई पक्राउ गर्छौं,’ खातीले भने,‘कोरोनाका कारण अहिलेको परिस्थिती असामान्य भएकोले पनि उनीहरुलाई हाजिरी जमानीमा छोडिएको हो ।’

राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन अनुसार ध्वाँसे चितुवा मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजायको प्रावधान छ ।

चितुवाको हकमा २० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँ सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । बरामद भएको छाला र हड्डी कुन चितुवाको हो भनेर प्रयोगशालामा परीक्षण गरे पछि मात्रै थाहा हुने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?