१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ढोरपाटन बाढीपहिरो : थप ४ शव भेटिए, मृतक २१ पुगे, १७ अझै बेपत्ता

बागलुङ — गत साताको बुधबार राति ढोरपाटन नगरपालिका–९ स्थित भुजी खोलामा आएको बाढीपहिरोमा बेपत्तामध्ये थप ४ शव भेटिएका छन् । मंगलबार राति दुई महिलाको र बुधबार दिउँसो एक पुरुष र एक महिलाको शव भेटिएको हो । योसँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

ढोरपाटन बाढीपहिरो : थप ४ शव भेटिए, मृतक २१ पुगे, १७ अझै बेपत्ता

बडिगाड गाउँपालिका–६ को खालबजार नजिकै बडिगाड खोला किनारमा ३२ वर्षीया चनी विक र २८ वर्षीया कुमारी विकको शव भेटिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । गुल्मीको सत्यवती गाउँपालिका रुद्रवेणीमा ३५ वर्षीया महिला र बडिगाड ६ मा २२ वर्षीय युवकको पनि शव भेटिएको हो । यी दुई जनाको पहिचान खुल्न नसकेको भण्डारीले बताए ।

अहिलेसम्म पहिचान भएका १९ मृतकलाई आफन्तले बुझेर दाहसंस्कार पनि गरेका छन् । घटनामा अझै १७ जना बेपत्ता छन् । घटनास्थलदेखि झन्डै १ सय किमि दक्षिणसम्म प्रहरीले खोजी कार्य गरिरहेको छ । घटनामा ८० घर पूर्ण रूपमा र ५१ घर आंशिक क्षति भएका छन् । एक मोटरेबल पुल र ३ वटा झोलुंगे पुल पनि बगाएको छ ।

सुकुरदुङस्थित सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राविको भवन बगाएको तथा हेल्थपोस्ट राखिएको स्थानीयको घर भत्केको छ । यहाँका ३ वटा लघु जलविद्युत् ध्वस्त भएकाले वडा नं. ७, ८ र ९ का अधिकांश स्थानमा विद्युत् सेवा र टेलिफोनसमेत अवरुद्ध भएको वडाध्यक्ष हरिबहादुर घर्तीले बताए ।

प्रकाशित : भाद्र २४, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?