३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोनाका नाममा सरकारले पैसामात्रै उठाउने काम गर्‍यो : देउवा

भ्रष्टहरुले बाँडीचुडी खाने, गरिब निमुखा जनता सँधै पीडित हुने अवस्था आयो : पौडेल

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले देश कोरोनाको महामारीमा फँसेको बेला सरकारले भने पैसा उठाउनेमात्रै काम गरेको बताएका छन् । 'यो सरकारले भ्रष्टाचार गर्ने र पैसा उठाउनेबाहेक कुनै काम गरेन,' पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको बीपी जयन्तीको भर्चुअल गोष्ठीमा सभापति देउवाले भने ।

कोरोनाका नाममा सरकारले पैसामात्रै उठाउने काम गर्‍यो : देउवा

कोरोना संक्रमण निकै धेरै फैलिएको भए पनि सरकारले अस्पताल लगायतका तयारी नगरेको देउवाले बताए ।

गोष्ठीमा उनले बीपी कोइराला सानो देशका ठूलो नेता भएको पनि बताए । 'उहाँ समावेशी हुनुहुन्थ्यो । त्यसैबेला पार्टीमा दलितलाई महामन्त्री बनाउनु भएको थियो । उहाँको मन्त्रिमण्डलमा महिला र जनजातिहरु थिए,' देउवाले भने ।

गोष्ठीमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकारले भ्रष्टाचार रोक्न नसकेको बताएका थिए । 'भ्रष्टचारीहरुले बाँडीचुडी खाने तर निमुखा र गरिब जनताले केही नपाउने अवस्था आएको छ,' नेता पौडेलले भने, 'भर्खरै पूर्व-पश्चिम रेलको ठेक्काका नाममा ३५ अर्ब भ्रष्टाचार गर्न लागिएको थियो । हाम्रो विरोधले त्यो रोकियो ।'

नेता पौडेलले प्रतिपक्षीको भूमिका र राष्ट्रप्रतिको उत्तरदायीत्व बहन गरेर त्यो जिम्मेवारी लिनसकेको खण्डमा कांग्रेस जनताको भरोषाको केन्द्र बन्न सक्ने पनि बताए । उनले कांग्रेस बीपीकै बाटोमा हिँडेको र संविधानसभाले बनाएको संविधानले अबलम्बन गरेका सिद्धान्तहरु बीपीकै विचारअनुरुप भएको पनि बताए । 'यो कम्युनिष्ट संविधान पनि होइन, पञ्चायतकोजस्तो संविधान पनि होइन । जनआन्दोलन र जनताको संघर्षपछि जनचाहनाअनुसार बनेको संविधान हो । हामीले यसको स्वामित्व लिएर अघि बढ्नुपर्छ,' पौडेलले भने, 'यसलाई लोकतान्त्रिक संविधान बनाउन कम्युनिष्टका नेताहरुसँग हामीले लडेका छौं ।'

गोष्ठीमा उपसभापति बिमलेन्द्र निधीले पनि धर्मनिरपेक्षता र संघीयताको नीति कांग्रेस र बीपीको विचारअनुसार भएको बताए । अर्का उपसभापति विजय गच्छदारले धर्मनिरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता भन्नु पर्ने मत राखेकोमा निधीले भने यी दुवै एउटै कुरा भएकाले धर्म निरपेक्षता र संघीयताबाट कांग्रेस पछि हट्न नसक्ने बताए । 'हामीले समय अनुसार बीपीको विचारलाई नै लिएर अघि बढेका हौं । बिउ त्यही लिएपछि बोट अर्कै हुने कुरा हुँदैन,' निधीले भने, 'बीपीको विचार डाइनामिक थियो । उहाँले समय र परिस्थितिअनुसार आफ्नो विचारमा परिवर्तन र परिमार्जन गर्नु भएको छ । कुनैबेला कतै बोलेको वा लेखेको एउटा लेख वा भाषण लिएर बीपीको विचार यही थियो भन्न सकिदैन ।' निधीले पृथ्वीनारायण शाह नेपालको राष्ट्रनिर्माता भएको र बीपी कोइराला आधुनिक र लोकतान्त्रिक नेपालको निर्माता भएको पनि बताए ।

महाधिवेशनको चिन्ता

गोष्ठीमा कांग्रेस नेताहरुले महाधिवेशनको सुनिचितता बारे पनि प्रश्न उठाएका थिए । बरिष्ठ नेता पौडेलले हिजो अवस्था सामान्य हुँदा महाधिवेशनको कार्यतालिकालाई बेवास्ता गरिएकाले आज असहज परिस्थितिमा अन्यौल सृजना भएको बताएका थिए । 'मैले कार्यतालिका नै बनाएर दिएको हुँ । तर त्यसलाई वास्ता गरिएन, आज अधिवेशनकै सुनिश्चितता भएन,' उनले भने । पौडेलले समयमै महाधिवेशन गर्न नसकिए पार्टीमाथि वैधानिक प्रश्न उठ्ने पनि बताए ।

यसको जवाफमा सभापति देउवलाले आफू विधानअनुसार चल्ने र पार्टीको महाधिवेशन विधानत: नै हुने बताए ।

पार्टीका अर्का नेता कृष्णप्रसाद सिटौलाले भने क्रियाशिल सदस्यता वितरणकै काममा महामारीले बाधा उत्पन्न गरेको भन्दै फागुनमा महाधिवेशन नहुने अवस्था देखिएको बताए । उनले महाधिवेशन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे ।

प्रकाशित : भाद्र २४, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?