हिरासतमा मृत्यु प्रकरण : एसपीसहित ६ जना विरुद्ध जाहेरी दर्ता

शिव पुरी

रौतहट — गरुडा ८ जिगडियाका बिजय महराको हिरासतमा मृत्यु भएको घटनामा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुख (एसपी) सहित ६ जना विरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएका छन् । 

हिरासतमा मृत्यु प्रकरण : एसपीसहित ६ जना विरुद्ध जाहेरी दर्ता

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजयका बाबु पनिलालले यातना र ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गर्न तत्कालीन एसपी रविराज खड्का, गरुडाका तत्कालीन डिएसपि ज्ञानकुमार महतो, जिल्ला प्रहरीका ईन्स्पेक्टर नविनकुमार सिंह, सई वीरेन्द्र यादव, हवल्दारद्वय हिरोज मिया धुनिया र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता सुवासकुमार भट्टराईले पीडितको जाहेरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइसकेको बताए । जिगडियाका निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या घटनामा पक्राउ परेका विजयलाई ईलाका प्रहरी गरुडामा जिल्लाबाट खटेको ईन्स्पेक्टर सिंहको टोलीले हत्या कबुल गराउने निहुँमा यातना दिँदा मृत्यु भएको थियो ।

हिरासतमा प्रहरीले दिएको यातनाबाट गम्भीर बिरामी परेका बिजयको भदौ १० गते उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको थियो । उनको शव पोस्टमार्टमका लागि लगिएकोमा अहिलेसम्म जिल्ला फर्काइएको छैन ।

त्यसपछि निरन्जन, बिजय हत्याकाण्ड संघर्ष समिति गठन गरेर पीडित र स्थानीयले प्रहरीविरुद्ध आन्दोलन गरिरहेका छन् । बिजयको मृत्यु हुँदा डिएसपी महतो ईलाका प्रहरी गरुडाका प्रमुख थिए । वीरेन्द्र यादव पनि त्यही कार्यरत छन् । त्यस्तै प्रहरी निरीक्षक सिंह, हवल्दारद्वय मिया र सिंह निरन्जनको हत्याको घटनापछि अनुसन्धानका लागि गरुडा आएका थिए । ईन्सपेक्टर सिंह र हवल्दारद्वय निलम्बनमा परिसकेका छन् ।

घटनापछि प्रहरीविरुद्ध जुलुस हुन थालेपछि प्रदेश २ प्रहरी कार्यालय जनकपुरले डिएसपी महतोलाई तानेर उनको ठाउँमा डिएसपी नरेन्द्र कुँवरलाई पठाएको थियो । त्यस्तै घटनापछि प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर एसपी सिद्धिबिक्रम शाहलाई पठाइसकेको छ ।

एसपी रबिराज खड्का ।

प्रकाशित : भाद्र २४, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?