मध्यपहाडी लोकमार्गका पुल ८ वर्षदेखि अलपत्र

भीमबहादुर सिंह

जाजरकोट — मध्यपहाडी लोकमार्गअन्तर्गत भेरीनदीको पुल ८ वर्षदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समस्या भएको छ । ठेकेदारको लापरबाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो ।

मध्यपहाडी लोकमार्गका पुल ८ वर्षदेखि अलपत्र

पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको छ । ३ वर्षभित्र १ मिटरको पुल निर्माण सक्ने गरी वाईपी कन्स्ट्रक्सन, ललितपुरले मध्यपहाडी आयोजना कार्यालयसँग २०६९ सालमा सम्झौता गरेको थियो । १३ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माणाधीन पुलको अहिलेसम्म सबस्टक्चर (टावर जग) समेत पूरा भएको छैन । पुल निर्माण नहुँदा रुकुम र जाजरकोट सडक सञ्जालमा जोडिन सकेका छैनन् भने स्थानीयबासी झोलुंगे पुलबाट आवतजावत गर्न बाध्य छन् ।

पुल नबन्दा व्यापार–व्यवसाय, लोकमार्गको स्तरोन्नति, चौरजहारी नयाँ सहर निर्माण आयोजनालगायत काम अलपत्र परेको भेरी नगरपालिका–१३ का वडाध्यक्ष गोपालबहादुर बटालाले बताए । उनका अनुसार ठेकेदार राजुप्रसाद श्रेष्ठले वर्षौदेखिको ताकेता अटेर गरिरहेका छन् । ‘निर्माणस्थलमा निर्माण सामग्री खिया लागेका छन्,’ उनले भने, ‘विभिन्न निकायमार्फत पटकपटक ताकेता गर्दासमेत ठेकेदारले अटेर गरे ।’

पुल निर्माणका लागि ल्याएका स्क्साभेटर, टिपर, मिक्सचरलगायत मेसिन निर्माणस्थल वरिपरि अलपत्र अवस्थामा छन् । गत आर्थिक वर्षमा ठेकेदार निर्माण स्थलमै नआएको वडाध्यक्ष बटालाले बताए । उनका अनुसार पुल निर्माणमा खटिएका कर्मचारी र मजदुरले समेत २/३ वर्षदेखिको पारिश्रमिक पाएका छैनन् ।

सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि रिडिजाइन गर्दा निर्माणमा ढिलाइ भएको वाईपी कन्स्ट्रक्सनका सञ्चालक श्रेष्ठले बताए । ‘पुल निर्माण सुरु भएको २ वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रीज बनाउने डिजाइन बन्यो,’ उनले भने, ‘विभागले नै ढिलाइ गरेपछि मलाई पनि घाटा लागेको छ ।’

ठेकेदारले राजनीतिक पहुँचका आधारमा म्याद पटकपटक थप्दा पुल निर्माणमा समस्या भएको मध्यपहाडी लोकमार्ग, योजना कार्यालय दैलेखका इन्जिनियर लक्ष्मणबहादुर केसीले बताए । उनका अनुसार चौरजहारी साइडमा पिलर तथा फाउण्डेसनको काम पूरा भए पनि कुदुतर्फको काम अझै हुन सकेको छैन ।

‘पुलको सबस्टक्चरकै काम पूरा भएको छैन, सुपर स्टक्चरको काम झन कहिले होला ?,’ उनले भने, ‘भेरीको बहाबका कारण वर्षमा ३/४ महिना मात्र काम हुँदा पनि पुल निर्माणले गति लिन नसकेको हो ।’ आयोजनाले ठेकेदारलाई आगामी फागुनसम्मका लागि पुल निर्माण गर्न म्याद थप गरेको उनको भनाइ छ । लोकमार्गअन्र्तगतकै कुदुदेखि दैलेखको सुयाँडा, जाजरकोट खण्डको छेडागाडलगायत खोलामा पुल निर्माण अलपत्र परेको आयोजनाले जनाएको छ ।

अन्य सडकका ७ पुल अलपत्र

जाजरकोटका विभिन्न सडकखण्डमा ७ वटा पुल निर्माणको काम लामो समयदेखि अलपत्र छन् । चिन्चु–जाजरकोट सडकखण्डको पासागाडखोलामा ७ वर्षदेखि पुल निर्माणको काम अलपत्र परेको छ ।

गलत डिजाइनका कारण लामो समयदेखि पासागाडखोलाको पुल निर्माणको काम रोकिएको छ । सडक विभाग र आइएमइ/आरसी कन्सलटेन्सी, ललितपुरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । सदरमुकाम खलंगासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्लाभरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको स्थानीय कमल सिंहले बताए । ‘ठेक्का सम्झौता भएको ७ वर्ष बित्दा पनि जग खन्ने काम भएको छैन,’ उनले भने, ‘सरोकारवाला निकायले सक्रियता देखाएको भए २ वर्षमै पुल निर्माणको काम सकिन्थ्यो ।’

पुल नहुँदा वर्षेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । ३ करोड रुपैयाँ लागतको पुल निर्माणका लागि ७ वर्षअघि लुम्विनी/आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थियो । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा पुल निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

छिन्चु–जाजरकोट सडकखण्डको इभरखोलामा निर्माण पूरा नभएको पुल । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर

परामर्शदाता कम्पनी आईएमई/आरसी कन्सलटेन्सीलाई ७ लाख रुपैयाँमा पुल डिजाइनको जिम्मा दिइएको थियो । अख्तियारी नहुँदा कम्पनीलाई कारबाही गर्न नसकेको सडक डिभिजन कार्यालय, चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताए । ‘पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्को हुँदा पुल निर्माणमा समस्या भयो,’ उनले भने, ‘परामर्शदाता कम्पनीले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ, तर यहाँ २५ मिटरभन्दा बढी पुल बनाउने ठाउँ छैन ।’

६ वर्षअघि निर्माण कम्पनीले साइड हेर्ने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो । सडक विभागले उक्त डिजाइन रद्द गरी नयाँ डिजाइन ठेकेदार कम्पनीलाई दिएको छ । ‘नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दररेटअनुसार पुल निर्माण गर्न नसक्ने भन्दै ठेकेदारले काम अघि बढाएका छैनन्,’ डिभिजन प्रमुख भट्टले भने, ‘अब वर्षा सकिएलगत्तै काम अघि नबढाए ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ टेन्डर आव्हान गरिनेछ ।’ नयाँ डिजाइनअनुसार करिब ३ करोड रुपैयाँ लगानीमा २५ मिटरको पुल बन्ने उनले बताए ।

त्यस्तै छेडाबजार–खलंगा खण्डमा पनि ६ पुल निर्माणको काम अलपत्र परेको छ । ३६ किलोमिटर दूरीको छेडा–खलंगा खण्डमा विभिन्न पुल निर्माणका लागि रसुवा/सूर्य कन्स्ट्रक्सन जेभीले २२ करोड रुपैयाँमा ठेक्का लिएको थियो । पुल नबन्दा वर्षायाममा खोला बढेर गाडी चलाउन मुस्किल हुने यातायात व्यवसायी लोकेन्द्र चन्दले बताए ।

सूर्य कन्स्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले डिजाइन बिग्रिएका कारण पुल निर्माणको काममा ढिलाइ भएको बताए । उनका अनुसार छेडाचौर–खलंगा खण्डका सबै पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘सबै पुलको ढलान भइसकेको छ,’ उनले भने, ‘ग्याबिनलगायतको काम मात्र अब बाँकी छ, कोरोनाका कारण काममा केही ढिलाइ भयो ।’

सडक डिभिजन, सुर्खेतका प्रमुख विजयकुमार थापाले ३/४ महिनाभित्र सबै पुलको काम सकिने बताए । ३ वर्षअघि सम्झौता भएका सुर्खेत खण्डका ६ वटा पुलको काम सम्पन्न भइसकेको उनको भनाइ छ ।

त्यस्तै, ठेकेदारको लापरबाहीले मोर्कखोला पुलको निर्माण पनि ८ वर्षदेखि अलपत्र छ । जाजरकोट–जुम्ला रणनैतिक सडकअन्र्तगत पर्ने उक्त पुल निर्माणका लागि ठेकेदार कम्पनी सर्वउद्दार/फ्रेन्डस् जेभी काठमाडौंले ९० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । २०६९ सालमा १ करोड ४४ लाख रुपैयाँमा सम्झौता गरिएको पुलमा सबस्टक्चरबाहेक अन्य अलपत्र छन् । ठेकेदारलाई कालोसूचीमा राखी पुरानो ठेक्का रद्द गरिएको जिल्ला समन्वय समिति प्रमुख मनबहादुर रावलले बताए । उनका अनुसार नयाँ टेन्डरका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ ।

सडक बन्छन्, पुल बन्दैनन्

जिल्लाका झण्डै ४ दर्जन सडक बने पनि पुल नबन्दा यातायात सेवा प्रभावकारी बन्न सकेको छैन । भेरी करिडोर, जाजरकोट–जुम्ला जोड्ने ३ वटा विभिन्न सडक र अन्य ग्रामीण सडकमा दर्जनौं पुल निर्माण हुन बाँकी छन् ।

खलंगा–ब्याउलीढुंगा–जुम्ला सडकमा पर्ने ३ दर्जन खोलामा पुल बनाउनका लागि सर्भे डिजाइनको कामसमेत हुन सकेको छैन । सडक खनिए पनि पुल नबन्दा बाह्रैमहिना गाडी चल्न समस्या भएको कुशे गाउँपालिका–५ का दलबहादुर थापाले बताए । उनका अनुसार खलंगा –व्याउलीढुंगा–जुम्ला सडकको कोटखोला, रिसाङ, गारराङ्सी, खुर्पा, गारघट्ट, कफल्ले, नुभेरीलगायत खोलामा पुल बन्न बाँकी छ ।

चालु आर्थिक वर्षमा भेरी करिडोरमा ७ पुल निर्माण गर्न सडक विभागको पुल महाशाखाले टेण्डर आब्हान गरेको छ । विभागले यो वर्ष काम सुरु हुने गरी जाजरकोटको खलंगादेखि तल्लुबगरसम्मको खण्डमा ७ पुल र डोल्पा खण्डमा ४ वटा बेलीब्रीजको टेण्डर आब्हान गरेको हो । जाजरकोटको पिपे, झुमरा, नलगाड, तात्रगाड, तासुगाडलगायत र डोल्पाको खदाङ, त्रिपुराकोट, रुपगाडलगायत ४ खोलामा पुल निर्माण गर्न टेन्डर प्रक्रिया सुरु भएको सडक डिभिजन, चौरजहारीले जनाएको छ । डिभिजन प्रमुख नरेन्द्र भट्टले यसै वर्षबाट ती खोलामा पुल निर्माणको काम सुरु हुने बताए ।

जाजरकोटदेखि डोल्पासम्मको १ सय १६ किलोमिटर सडकको ट्रयाक खुले पनि विभिन्न नदी र खोलामा पुल नबन्दा डोल्पासम्मको यातायात नियमित बन्न सकेको छैन । सरकारले रुपैडियादेखि चीनको सिमाना धो भोटसम्मको ४ सय किमि सडकलाई भेरी करिडोर नामाकरण गरेको छ ।

प्रकाशित : भाद्र २४, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?