१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संक्रमितको फोहोर व्यवस्थापनमा छैन सतर्कता

होम आइसोलेसनबाट निस्किएको फोहोरबाट संक्रमणको जोखिम रहने भए पनि मापदण्डविपरीत संकलन, ओसारपसार, भण्डारण, उपचार र विसर्जन गर्ने गरिएको छ । घरमै बसेका संक्रमितका परिवारलाई पनि यसबारे सचेत गराइएको छैन ।
सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने ७४ वर्षीय वृद्धलाई भदौ १७ मा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण देखिएसँगै उनी होम आइसोलेसनमा छन् । आइसोलेसनमा बस्दा अन्य सबै सुरक्षा मापदण्ड पालना गरे पनि घरबाट निस्कने फोहोर भने पहिले जसरी नै नियमित रूपमा नगरपालिकाबाट आउने फोहोर संकलकलाई दिइरहेका छन् ।

संक्रमितको फोहोर व्यवस्थापनमा छैन सतर्कता

‘पहिला जसरी फोहोर दिन्थ्यौं, अहिले पनि त्यसरी नै दिइरहेका छौं,’ उनले भने, ‘छुट्टै बस्नू, अरूसँग घुलमिल नहुनूजस्ता कुरा बताए पनि फोहोर व्यवस्थापनका बारेमा केही भनेका छैनन् ।’ उनीजस्तै देशभर हाल ७ हजार १ सय ९० जना होम आइसोलेसनमा छन् । यो संख्या वाग्मती प्रदेशमा २ हजार ३ सय ३४ र काठमाडौं उपत्यकामा १ हजार ८ सय ६४ छ । उनीहरूमध्ये अधिकांशले ती वृद्धले जसरी नै फोहोर व्यवस्थापन गरिरहेका छन् ।

यसरी फोहोर व्यवस्थापन गर्दा सफाइ कर्मचारी तथा समुदायमा समेत कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारले समेत संक्रमितले प्रयोग गरेपछि निस्किएको फोहोर छुट्टै व्यवस्थापन गर्नुपर्ने गरी मापदण्ड नै बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार १९ मा ‘कोभिड–१९ महामारीको आपत्कालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन (अन्तरिम निर्देशन)’ जारी गरेको थियो । उक्त निर्देशिकामा घरायसी फोहोरलाई समेत नगरपालिकाका संकलकमार्फत पठाउनुभन्दा पहिले कम्तिमा ७२ घण्टासम्म सुरक्षित रूपमा राख्नुपर्दछ । यो समयसम्म भण्डारण गर्नाले फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरूलाई सम्भावित जोखिम धेरै मात्रामा घटाउन सकिने उल्लेख छ ।

निर्देशिकामा घरमा वा क्वारेन्टाइन केन्द्रहरूमा फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिहरूले पन्जा, मास्क र सुरक्षित कपडा (जस्तैः प्लास्टिकको एप्रोन) प्रयोग गर्नुपर्ने भनिएको छ । तर, सफाइ कर्मचारी पनि सुरक्षा सामग्रीबिनै फोहोर उठाइरहेका छन् । स्थानीय तह र निजी कम्पनी दुवैले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर दिएको दाबी गरे पनि फोहोर उठाउने कर्मचारीले प्रयोग गरेको देखिँदैन । फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्य (ध्रुव) ले कर्मचारीहरूलाई पीपीई दिए पनि लगाउन र काम गर्न असजिलो, गर्मी हुने तथा विभिन्न बहाना बनाएर प्रयोग नगरेको बताए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरस पातलो कागज, टिस्यु पेपरमा ३ घण्टासम्म रहन सक्छ ।

त्यस्तै, तामामा ४ घण्टा, कपडा, मोटो कागज, कार्डबोर्ड र काठमा २४ घण्टा, सिसामा ४८ घण्टा, स्टेनलेस स्टिल, प्लास्टिक र नोटमा ७२ घण्टा, मेडिकल तथा सर्जिकल मास्कको बाहिरी सतहमा ७ दिनसम्म भाइरस बाँच्न सक्छ । त्यहीअनुसार फोहोर व्यवस्थापन संघले पहिला हरेक २ तथा ३ दिनमा फोहोर उठाउने गरे पनि हाल सातामा एकचोटि मात्रै फोहोर उठाउने गरेको आचार्यले बताए ।

स्थानीय तहसँग सहकार्य गरेर होम आइसोलेसनमा बस्ने संक्रमितको पहिचान गरी त्यस्तो परिवारलाई ३ दिनपछि मात्र फोहोर निकाल्न आग्रह गर्ने भनिए पनि वडाले संक्रमितको पहिचान गर्न नमानेको उनले आरोप लगाए । ‘अहिले कुहिने फोहोरलाई घरमै व्यवस्थापन र नकुहिने फोहोर ३ दिनपछि मात्र निकाल्नका लागि माइकिङ, रेडियो तथा सामाजिक सञ्जालबाट आग्रह गरिरहेका छौं,’ उनले भने, ‘त्यो मान्नुभएको छ/छैन, हामीलाई पनि थाहा छैन ।’

संक्रमित फोहोरको व्यवस्थापन कसरी गर्ने ?

फोहोरमैला व्यवस्थापनसम्बन्धी सरकारको पछिल्लो निर्देशिकाले समेत सम्पूर्ण कोभिड–१९ संक्रमितसँग सम्बन्धित फोहोरमैलालाई संक्रमित फोहोरमैलाका रूपमा लिनुपर्ने भनेको छ । यसकारण सम्पूर्ण फोहोरमैलालाई (सामान्य अवस्थामा साधारण फोहोरको रूपमा लिइने फोहोरलाई पनि) रातो रङको बिनहरूमा संक्रमित फोहोरको रूपमा राष्ट्रिय निर्देशिकाअनुसार संकलन, ओसारपसार, भण्डारण, उपचार र विसर्जन गर्न भनिएको छ ।

निर्देशिकामा फोहोरको वर्गीकरणसमेत गरिएको छ । प्रशासनिक क्षेत्र र कुनै स्थान विशेषका फोहोरलाई असंक्रमित फोहोर र कोभिड–१९ बिरामीको स्याहारसुसारका क्रममा उत्पादन हुने सम्पूर्ण फोहोरलाई संक्रमित फोहोर मानिएको छ । संक्रमित फोहोरलाई स्पष्ट रूपमा ‘लेबल’ गरी ‘बायो हजार्ड ब्याग’ सहितका नफुट्ने, छिद्र नभएका भाँडाहरू (बिर्को भएका बिन, वाल्टिन) मा सुरक्षित तरिकाले संकलन गर्नुपर्दछ । त्यस्तै, अस्पतालहरूभन्दा बाहेकका स्थानहरू जस्तै, क्वारेन्टाइन केन्द्र, होल्डिङ क्षेत्र, आगमन बिन्दुमा प्रयोग गरिएका व्यक्तिगत सुरक्षा उपकरणहरूलाई छुट्टै साँघुरो घाँटी भएको बायो हजार्ड झोलामा संकलन गरी मुख बाँधेर संकलन मितिसमेत लेखेर राख्नुपर्दछ ।

यस्तो फोहोर संकलन गर्दा थप उपचारको आवश्यकता नभए पनि झोलालाई ०.५ प्रतिशत क्लोरिनको झोलले पुछेर राख्दा सम्भावित संक्रमणको जोखिम कम हुन्छ । फोहोरमैला विशेषज्ञ तथा हेल्थ इनभारोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका कार्यकारी निर्देशक महेश नकर्मीले पनि होम आइसोलेसनमा बस्ने संक्रमितको परिवारलाई फोहोर व्यवस्थापनबारे जानकारी दिने र रातो रङको झोला दिनुपर्ने बताए । ‘छुट्टै रङको झोला दिएपछि फोहोर संकलकलाई पनि थाहा हुने र उनीहरूले पनि सुरक्षा अपनाएर संकलन गर्न सक्नेछन्,’ उनले भने ।

सरकारी निर्देशिकालाई कार्यार्न्वयन गराउन होम आइसोलेसनमा बस्ने संक्रमित र फोहोर संकलक दुवैलाई तालिम दिनुपर्ने उनले सुझाए । केन्द्र सरकारले निर्देशिका जारी गर्ने र स्थानीय सरकारले कार्यान्वयन गराउनुपर्ने भएकाले दुवै सरकारबीच समन्वय राम्रो भएको खण्डमा मात्र निर्देशिका कार्यान्वयन हुने उनको भनाइ छ । त्यस्तै, फोहोर संकलन गर्ने कम्पनीले पनि स्थानीय सरकारसँग समन्वय गरेर सामान्य फोहोर र होम आइसोलेसनबाट निस्कने फोहोरलाई छुट्टाछुट्टै संकलन गर्नुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २३, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?