सुदूरपश्‍चिममा ‘ट्राभल हिस्ट्री’ नभएकामा संक्रमण

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशमा ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा कोरोना संक्रमण दर बढेको छ । पछिल्लो समय गृहिणी, वृद्धवृद्धा, बालबालिका, शिक्षक र व्यवसायीमा कोरोना पुष्टि भएको हो । 

सुदूरपश्‍चिममा ‘ट्राभल हिस्ट्री’ नभएकामा संक्रमण

प्रदेशकै ठूलो र बढी जनघनत्व भएको सहर धनगढीमा भदौयता ट्राभल हिस्टी नभएका १ सय ३१ जनामा संक्रमण देखिएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए । धनगढीमा संक्रमितको संख्या ३ सय २ जना पुगिसकेको छ । कैलालीका गोदावरी, टीकापुर, लम्कीचुहा नगरपालिकामा पनि स्थानीयमा संक्रमणको दर बढेको छ ।

कैलालीमा हालसम्म संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेको छ । जसमध्ये निको भइसकेकाको संख्या १ हजार ४ सय ३० जना छ । सक्रिय संक्रमितहरूको संख्या ४ सय ५० रहेको छ । कैलालीपछि डोटीमा संक्रमितको संख्या ९ सय ५५ पुगेको छ । अछाममा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा ६ सय ९५, बैतडीमा ३ सय ८१, बझाङमा ४ सय ३७, बाजुरामा ४ सय ५२, डडेलधुरामा ३ सय २१ र सबैभन्दा कम संक्रमण देखिएको दार्चुला जिल्लामा ५० जनालाई कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा ६८ हजार १ सय ३६ जनामा गरिएको पीसीआर परीक्षणमा ६ हजार १ सय १३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५ हजार २ सय ४१ जना निको भएका पनि छन । मृत्यु हुनेको संख्या ११ छ । सुदूरपश्चिममा पहिलो संक्रमित चैत १४ गते देखिएको थियो । उनी यूएईबाट आएका थिए । उनीबाट परिवारकै भाउजू नाता पर्नेमा कोरोना सरेको थियो । जेठसम्म सुदूरमा कोरोना संक्रमितको संख्या ६ जनामा मात्रै सीमित थियो ।

जेठमै भारतसँगको अन्तर्राष्ट्रिय नाका खुलेपछि त्यहाँबाट १ लाख ५० हजारभन्दा बढी नेपाली सुदूरपश्चिम भित्रिए । त्यसपछि एकै महिना असारमा सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजारले नाघ्यो । कोरोना संक्रमण स्थानीयस्तरमा देखिन सुरु भयो । धनगढी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उपाध्यायका अनुसार अग्रमोर्चामा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, क्वारेन्टाइन र नाकामा खटिएका कर्मचारी र जनप्रतिनिधिहरूबाट स्थानीयस्तरमा कोरोना संक्रमण फैलिन थालेको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले पनि भारत तथा अन्य देशबाट आएका संक्रमितहरू पछिल्लो पटक क्वारेन्टाइनमा नबसेर घर पसेकाले समुदायमा कोरोना प्रवेश गरिसकेको हुन सक्ने आशंका व्यक्त गरे । ‘अहिल्यै तथ्यमा समुदायमा सरिसकेको छैन,’ उनले भने, ‘विभिन्न नाकाबाट भारतदेखि आएकाहरू गाउँमा पसेकाले उनीहरूबाट समुदाय जोखिममा छ ।’

प्रकाशित : भाद्र २३, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?