कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘कोरोनालाई हल्का नलिऔं’

संक्रमणमुक्त चिकित्सक भन्छन्– ‘यो भाइरस केही होइन भन्नेहरु एकपल्ट आइसोलेसनका बिरामीहरुको हालत हेर्नुहोला’
‘२१ दिनको संघर्षपछि भदौ १९ मा डिस्चार्ज भएको हुँ । अहिले घरमै आराम गरिरहेको छु । कोरोनालाई सामान्य नठान्नूस् । म भाग्यवश बाँचेर आएँ । यस्तो अवसर सबैलाई नमिल्न सक्छ ।’

बर्दिया, बुटवल — ‘कोरोना केही होइन । सामान्य रुघाखोकीजस्तै हो । औषधि पनि खानु पर्दैन । त्यसै ठीक हुन्छ ।’ १४ दिन आइसोलेसन बसाइपछि घर फर्किएका अधिकांशले सामाजिक सञ्जालमा पोस्ट गर्ने यस्ता सन्देशले सर्वसाधारणमा भ्रम सिर्जना गरेको संक्रमणमुक्त भएका चिकित्सकहरूले बताएका छन् । यस्तो सन्देशले कोरोनाविरुद्ध अपनाउनुपर्ने सतर्कतामा पनि कमी आएको उनीहरूको बुझाइ छ ।

‘कोरोनालाई हल्का नलिऔं’

‘अफवाह फैलाइएजस्तो कोरोना कमजोर भाइरस होइन, यसले ज्यानै पनि लिन सक्छ,’ उपचारमा खटिने क्रममा संक्रमित भएका भेरी अस्पतालका कोरोना स्रोत व्यक्ति फिजिसियन डा. संकेत रिसालले भने, ‘भाइरसको आक्रमण मैले झेलें । यो चानचुने होइन रहेछ ।’ कोरोना संक्रमितहरूको उपचारमा खटिएका उनलाई दुई साताअघि एक्कासि उच्च ज्वरोले च्याप्यो । सहनै नसक्ने गरी टाउको दुख्यो । ज्वरो नियन्त्रण नभएपछि पीसीआर परीक्षण गराए । ल्याबले कोरोना संक्रमण पुष्टि गर्‍यो । तीन दिनसम्म ज्वरोले छोडेन । जिब्रोमा बिबिरा आए । शरीर दुखेर काँठियो । श्वास लिन समस्या भयो । दुई साताको पीडापछि उनी संक्रमणमुक्त भई फेरि संक्रमितहरूको उपचारमा खटिएका छन् ।

अस्पतालकै आइसोलेसनमा १४ दिन बसेका उनी गत शनिबार कोरोना जित्न सफल भएका हुन् । ‘मान्छेहरू अझै पनि कोरोना भाइरसको संक्रमणलाई मजाकका रूपमा लिइरहेका छन् । यो सामान्य हुँदै होइन । सबै गम्भीर बनेमात्रै कोरोनासँग लड्न सकिन्छ,’ डा. रिसालले भने, ‘आइसोलेसनबाट फर्किएपछि कोरोनाविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ । यसले आममानिसलाई गलत सन्देश दिइरहेको छ ।’ खासगरी लक्षण नदेखिएका संक्रमितबाट गलत सन्देश प्रवाह भइरहेको उनको बुझाइ छ ।

कोरोना भाइरस कम लोड हुँदा केही व्यक्तिमा त्यसको लक्षण नदेखिन सक्छ तर लक्षण देखिएका संक्रमितको अवस्था जटिल हुन सक्छ । भेरी अस्पतालमा उपचार भइरहेका तीन संक्रमितको अवस्था गम्भीर छ । डा. संकेतसँगै भेरी अस्पतालमै कार्यरत उनकी श्रीमती डा. उर्मिला रिसाललाई पनि कोरोना संक्रमण देखिएको थियो । ‘रोगलाई पनि हामीले मजाकमा लिन थालेपछि अवस्था गम्भीर बन्दै गएको हो,’ उनले भने ।

कोरोना संक्रमितहरूको उपचारमा खटिँदै आएका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा मेडिकल विभाग प्रमुख फिजिसियन डा. राजन पाण्डे पनि संक्रमित भए । १४ दिनको आइसोलेसन बसाइपछि शनिबार उनी निको भएर उपचारमा खटिएका छन् । उनका अनुसार कोरोना भाइरसबारे समुदायमा गलत सन्देश प्रवाह हुँदा सर्वसाधारणले सतर्कता अपनाउन छोडेका हुन् । ‘विश्वका विकसित मुलुकहरू कोरोनाको महामारीले आक्रान्त बनेका छन् तर हामीकहाँ सबैजसो आफैं डाक्टर भएर कोरोनाबारे आफ्नो धारणा राखिरहेका छन्,’ उनले कान्तिपुरसँग भने । ‘स्वास्थ्य मन्त्रालयले घोषणा गर्ने काम हामीले गरिरहेका छौं । यसले कोरोनाको महामारीलाई थप मलजल पुगिरहेको छ,’ उनले भने ।

उनले कोरोना भाइरसबारे गलत सन्देश प्रवाह गर्नेलाई कारबाहीको माग गरे । ‘कोरोना भाइरसबारे अफवाह फैलाउनेलाई कानुनी कारबाही गर्नैपर्छ,’ उनले भने । भेरी अस्पतालका ८ चिकित्सकसहित २५ स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन् । ‘कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला गलत प्रचारप्रसार गर्नेलाई कारबाही गर्नुपर्छ,’ डा. पाण्डेले भने, ‘लापरबाहीका कारण एक जनाको पनि मृत्यु भयो भने उसको परिवारमा के गुज्रिन्छ, ख्याल गरेका छौं ?’ उनले कोरोना भाइरस केही होइन भन्नेहरूलाई आइसोलेसनमा रहेका बिरामीको अवस्था हेर्न आग्रह गरे ।

त्यस्तै शिक्षण अस्पताल नेपालगन्जका चार चिकित्सकसहित ५८ स्वास्थ्यकर्मीमा संक्रमण देखिसकिएको छ । उक्त अस्पतालमा एक सय शय्याको कोरोना विशेष अस्पताल बनाइएको छ । अस्पतालमा कार्यरत रहेका बेला कोरोनाबाट संक्रमित बालरोग विशेषज्ञ डा. रोमा बोरले पछिल्लो समय भाइरसबारे अनेक हल्ला फिँजिएको बताइन् । ‘मलाई ५ दिनअघि नै कोरोनाको लक्षण देखिन थालेको थियो, पीसीआर परीक्षणपछि पुष्टि भयो,’ उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार नै कोरोनाको उपचार हुनुपर्छ तर यो रोग नै होइन भन्ने हल्लाले गलत म्यासेज दिइरहेको छ ।’

‘पलपल मृत्युसँग जुधेर बाँचें’

डा. उमाशंकर चौधरी - स्वास्थ्य महाशाखा प्रमुख, सामाजिक विकास मन्त्रालय

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखा प्रमुख भएकाले म कोरोनाको नियमित अनुगमनमा खटिँदै आएको थिएँ । साउन ३० गते मलाई पनि संक्रमण देखियो ।

ब्लडप्रेसरका बिरामी भए पनि सुरुमा कुनै लक्षण थिएन । सामान्य निगरानी आफैं गर्न सक्ने भएकाले होम आइसोलेसनमा बसेँ । घरका ८ जनालाई पनि संक्रमण देखियो । घरमै निगरानीमा बसिरहेका बेला श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना अस्पतालको आईसीयूमै भर्ना भएँ । २१ दिनको संघर्षपछि भदौ १९ मा डिस्चार्ज भएको हुँ । अहिले घरमै आराम गरिरहेको छु । कोरोनालाई सामान्य नठान्नूस् । म भाग्यवश बाँचेर आएँ । यस्तो अवसर सबैलाई नमिल्न सक्छ ।

होम आइसोलेसनमा बसेकै बेला संक्रमणको ५ दिनपछि गल्दै गएँ । रुघाखोकी र ज्वरो बढ्दै गयो । सातौं दिन त अक्सिजनको लेभल निकै तल गयो । सेचुरेसनको मात्रा ९३ बाट तल झर्दै गयो । मलाई श्वास फेर्न अप्ठ्यारो भयो । अवस्था जटिल भएपछि बुटवल धागो कारखानास्थित कोरोना अस्थायी अस्पतालको आईसीयूमा राखेर अक्सिजन दिइयो । निमोनिया पनि देखियो । त्यति मात्र उपचारले अवस्था सुधार भएन । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले अन्तिम उपायका रूपमा रेमडेसिभिर औषधि प्रयोग गरेर हेर्नुपर्ने बताउनु भयो । जुन भाइरल एन्टिबाइटिक औषधि हो ।

त्यसअघि अस्पतालका अरू बिरामीलाई यस्तो औषधि प्रयोग गरिएको थिएन । मैले उक्त औषधि प्रयोगपछि केही बाँचेका र केही मरेका बिरामीको अवस्था थाहा पाएँ । आसपासमा बिरामी मरिरहेका थिए । आफ्नो पनि ठेगान रहेन । अरू उपाय नदेखिएको र बाँच्न सक्ने त्यही उपाय भएकाले मैले साइड इफेक्ट भए पनि हुन्छ चलाउनुस् भनें । त्यसको थामिनसक्नु असरले म झन् शिथिल हुँदै गएँ । तैपनि, डाक्टर साबको औषधि चक्र सम्झेर निराश भइनँ । बाँच्ने र निको हुने आशा पालिराखें ।

रेमडेसिभिर औषधिले हुने कलेजो संक्रमण बाहेकका सबै असर ममा देखिएको थियो । यद्यपि म निराश भइनँ । उच्च आत्मबल बनाइराखेँ । प्रयोग सफल भयो । औषधि प्रयोगको तेस्रो दिनदेखि केही सुधार देखिन थाल्यो । धिमा गतिमा सुधार भयो । गलेर बोल्न नसक्ने अवस्थाबाट खुलेर बोल्न सक्ने भएँ । सबैसँग हाँसेर बोल्न थालेँ । खाना रुच्न थाल्यो । तर कोरोना संक्रमण र रेमडेसिभिर औषधि प्रयोग सजिलो रहेनछ । मैले पलपल मृत्युसँग जुध्नुपर्‍यो । व्यवस्थित अस्पताल, सफल चिकित्सकीय टोली नभएको भए सायद मैले नयाँ जीवन पाउने थिइनँ ।

(कुराकानीमा आधारित)

प्रकाशित : भाद्र २३, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?