कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

किशोरीको काँधमा ५ बहिनीको जिम्मेवारी

‘बुबा बिरामी भएर उठ्न नसक्ने भएपछि मैले पाउनुसम्म दुःख पाएँ । गाउँमा मागेरै भए पनि बहिनीहरूको भोक मेटाइरहेकी छु । औषधि गर्ने पैसा भए बुबा पनि बाँच्थे कि !’
तृप्ति शाही

बैतडी — सदरमुकामको गोठालापानीबाट आधा घण्टाको सडक दूरीमा दशरथचन्द नगरपालिका–१० सत्पाली गाउँ पुगिन्छ । पाँच मिनेट ओरालो झरेपछि खोला छेउमा एककोठे जीर्ण घर छ । त्यही साँघुरो र अँध्यारो घरमा दुई वर्षदेखि बसिरहेका छन्, ६ जना बालिकाहरू ।

किशोरीको काँधमा ५ बहिनीको जिम्मेवारी

तीन वर्षअघि आमा मीनादेवी लावड बेपत्ता भइन् । आमा भागेको अर्को वर्ष बुबा राजुरामको मृत्यु भएपछि नीलम लावडसहित ६ बालिका बेसहारा भए । १३ वर्षमुनिका पाँच बहिनीको सहारा बन्दै आएकी जेठी नीलम अहिले १५ वर्षकी भइन् । नीलमले मागेरै भए पनि सबै बहिनीको पालनपोषण गरिरहेकी छन् । नीलमपछिकी बहिनी १३ वर्षीया नीतु छिन् । त्यसपछिका बहिनीहरू १२, १०, ९ र ४ वर्षका छन् । ‘एक वर्षकी बहिनीलाई आमाले छोडेर गइन्,’ नीलमले भनिन्, ‘बुबा बिरामी भएर उठ्न नसक्ने भएपछि मैले पाउनुसम्म दुःख पाएँ । गाउँमा मागेरै भए पनि बहिनीहरूको भोक मेटाइरहेकी छु । औषधि गर्ने पैसा भए बुबा पनि बाँच्थे कि !’

मागेरै ६ जनाको परिवार पाल्नुपरे पनि हिम्मतिली नीलमको साहस भने गज्जबको छ । उनले बिहान–साँझ गाउँघरमा मागेर र बिदाका दिन कसैको गोठालो गएर खानेकुरा जुटाउँछिन् । बाँकी समय स्कुल पढ्छिन् । गाउँकै विद्यालयमा ८ कक्षामा पढ्ने उनले कान्छी बहिनीबाहेक सबैलाई स्कुल भर्ना गरेकी छन् । उनका दुई बहिनी ५ कक्षा पढ्छन् भने दुई जना ३ कक्षामा छन् ।

उनीहरू आलोपालो गरेर चार वर्षीया बहिनीको हेरचाह गर्न एक जना घरमै बस्छन् । पालो लगाएर नीलम र नीतु गाउँलेको काम गर्दै साँझ–बिहानको खानेकुरा जुटाउँछन् ।

नियमित स्कुल जान नपाएका कारण सबैको पढाइ कमजोर छ । यद्यपि पढेर ठूलो मान्छे बन्ने सपना उनीहरूको छ । ‘अरूले दिएका झुत्रा कपडा टालटुल गरेर लगाइरहेका छौं । भनेको बेला कापीकलम किन्ने पैसा हुँदैन,’ नीतु भन्छिन्, ‘दिदीबहिनी पालैपालो स्कुल जाने गरेका छौं । पढ्यो भने कुनै दिन त सुख होला नि ।’

उनीहरूको दुःख र समस्या बुझेर स्कुलले पढाइ निःशुल्क गरेको छ । नगरपालिकाले पनि कहिलेकाहीं कापीकलम र खाद्यान्न सहयोग गर्दै आएको छ । ‘नगरपालिकाले दुई बोरा चामल सहयोग गरेका बेला दुई महिना ढुक्कले स्कुल गयौं,’ नीलमले भनिन्, ‘त्यो सकिएपछि फेरि खानकै चिन्ता हुन्छ ।’ आफूहरू कति दिन भोकै सुते पनि सानी बहिनीहरूले भोक लाग्यो भनेर रुँदा साह्रै पीडा हुने गरेको उनले बताइन् ।

नगरपालिकाले बेलाबेलामा आर्थिक र खाद्यान्न सहयोग गरे पनि त्यो पर्याप्त र दिगो नभएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास अधिकृत विनोदबहादुर चन्दले बताए । ‘कार्यालय र धेरै पटक मैले व्यक्तिगत रूपमा पनि सहयोग गरेको छु,’ चन्दले भने, ‘अरूकै सहयोगको भरमा मात्रै यत्रो परिवार कसरी चल्नु, कुनै संघसंस्थाले सबै बहिनीको शिक्षा र पालनपोषणको सहयोग गरे राम्रो हुने थियो ।’

केही समयअघि उनीहरूको समस्या थाहा पाएर प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी पनि भेट्न गएका थिए ।

बालिकाहरूलाई दिगो व्यवस्थापनका लागि पहल गरिरहेको उनले बताए । ‘अहिले विद्यालय पनि बन्द छन् । सञ्चालनमा आएपछि कतै सरकारी छात्रावासमा राखेर, त्यहीं पढ्ने गरी व्यवस्थापन गर्नॅपर्ला,’ प्रजिअ जोशीले भने । आइतबार बैतडीस्थित हनुमानध्वज गुल्मका गुल्मपति प्रवीन थापाले आफ्ना छोराको जन्मदिनमा उनीहरूलाई ओढ्ने–ओछ्याउने लुगा र खानेकुरा सहयोग गरेका थिए ।

प्रकाशित : भाद्र २३, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?